रसुवाको कहालीलाग्दो दृश्य देखेर भावुक बने रोका : ‘सरकार कहाँ छ ?’

रसुवाको कहालीलाग्दो दृश्य देखेर भावुक बने रोका : ‘सरकार कहाँ छ ?’

 

“बाटो जोखिमपूर्ण थियो, यात्रा कठिन थियो। तर बाढीले थलिएका परिवारसम्म राहत पुर्‍याउने उद्देश्यले यात्रा रोकिएन।”

राम बहादुर बिश्वकर्मा 
प्युठान,भाद्र १० गते रसुवाका विभिन्न स्थानमा बाढीले ठुलो क्षति पुर्‍याएको खबरले प्यूठानमा पनि धेरैको मन विचलित बनाइरहेको थियो। बाढीले घर-बस्ती बगाएको,परिवार विस्थापित भएको र कतिपयले आफ्ना आफन्तसमेत गुमाएको खबरले विपत्तिमा परेका नागरिकका लागि केही गर्नुपर्छ भन्ने भावना बढिरहेको थियो।
यही पीडामा सकेको मल्हम लगाउने उद्देश्यसहित नेकपा एमालेका युवा नेता तथा माण्डवी गाउँपालिकाका संस्थापक अध्यक्ष श्रीधर रोकाको नेतृत्वमा एउटा टोली राहत सामग्री बोकेर रसुवातर्फ प्रस्थान गर्‍यो।
भाद्र १० गते प्युठानबाट सुरु भएको यात्रा सामान्य यात्रा थिएन। ठाउँ–ठाउँमा बिग्रिएको सडक,पहिरो र बाढीको जोखिमबीच टोली अगाडि बढिरहेको थियो। बाटोको अवस्था हेर्दा जुनसुकै बेला यात्रा रोकिन सक्ने अवस्था थियो। तर गन्तव्यमा पुगेर बाढीपीडित परिवारलाई केही सहयोग गर्ने उद्देश्यले जोखिमपूर्ण बाटो पनि पार गरियो।
यात्राको कठिनाइ आफ्नो ठाउँमा थियो। तर रसुवा पुगेपछि देखिएको दृश्य त्यसको तुलनामा झनै पीडादायी थियो।बाढीले बस्तीको स्वरूप नै बदलिदिएको थियो। कतै घरको नामोनिसान थिएन,कतै सडक र भौतिक संरचना बगाएको थियो। हिजोसम्म मानिसको चहलपहल हुने ठाउँ सुनसान र उजाड देखिन्थ्यो। बाढीले छोडेको विनाशको दृश्यले त्यहाँ पुगेका टोलीका सदस्यलाई भावुक बनायो।
घटना र विपत्तिबारे समाचारमा पढ्नु र त्यही ठाउँमा पुगेर त्यसको प्रभाव आफ्नै आँखाले देख्नु फरक कुरा रहेछ। बाढीले मानिसका घर मात्र होइन,वर्षौँदेखि जोडिएको जिवन,मेहनत र भविष्यका योजनासमेत तहसनहस बनाएको दृश्यले टोलीलाई स्तब्ध बनायो।
रोकाले घटनास्थलको अवस्था सम्झिँदै भने,“बस्ती कहाँ छ भन्ने पत्तै छैन। मानिसका शव गन्हाइरहेका छन्। स्थानीयले के गर्न सक्छन् र? सकेजति गरेकै छन्।”
उनका अनुसार विपत्तिको वास्तविक पीडा सामाजिक सञ्जालमा देखिने तस्बिर वा समाचारमा आउने विवरणभन्दा निकै गहिरो छ। घटनास्थलमा पुग्दा मात्रै नागरिकले भोगेको पीडा र विपत्तिको वास्तविक प्रभाव अनुभुति गर्न सकिने उनको भनाई छ।
“केन्द्र सरकार सामाजिक सञ्जालमा डेमो प्रचारमा मात्र सीमित भएको जस्तो देखिन्छ। वास्तविक पीडितसम्म पुग्न महाप्रलय बनेको छ। मानिस बगाएको ठाउँ आज उजाड मरुभूमिजस्तो देखिन्छ,” उनी भन्छन्।
प्राकृतिक विपत्तिले नागरिकको जीवन तहसनहस बनाइरहेका बेला राज्यको उपस्थिति,राहतको पहुँच र त्यसको प्रभावकारितामाथि पनि प्रश्न उठेको रोकाको भनाई छ।
“यस्तो बेलामा सरकार कहाँ छ? नागरिकलाई परेको यस्तो दर्दनाक पीडामा मल्हम लगाउनु सरकारको काम हो,” रोका भावुक हुँदै भन्छन्।

५० परिवारका लागि राहत

राहत लिएर रसुवा पुगेको टोलीले बाढी प्रभावित परिवारका लागि करिब एक लाख रुपैयाँ बराबरका सामग्री उपलब्ध गराएको छ। विपत्तिपछि तत्काल आवश्यक पर्ने स्वास्थ्य सामग्रीदेखि दैनिक उपभोग्य वस्तुसम्म राहत प्याकेजमा समेटिएको थियो।
राहत सामग्रीमा जीवनजल,ग्लोभ्स,सेनिटाइजर,मास्क,सिटामोल,खानेपानी,चाउचाउ,बिस्कुट,नुहाउने साबुन,कपडा धुने साबुन,ब्रस,कोलगेट, स्याम्पुलगायतका सामग्री छन्।
यी सामग्रीलाई ५० परिवारलाई पुग्ने गरी छुट्टाछुट्टै सेट बनाएर वितरणका लागि तयार गरिएको थियो। विपत्तिको अवस्थामा तत्काल आवश्यक पर्ने सामान्य सामग्रीसमेत पीडित परिवारका लागि महत्वपूर्ण हुने भएकाले दैनिक प्रयोगमा आउने वस्तुलाई प्राथमिकता दिइएको थियो।
टोलीले उक्त राहत सामग्री रसुवाको उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल र उपाध्यक्ष चमेली गुरुङलाई हस्तान्तरण गरेको छ।
राहतको मुल्य करिब एक लाख रुपैयाँ थियो। तर विपत्तिको घडीमा यसको अर्थ केवल रकममा सीमित हुँदैन। घर-परिवार गुमाएर पीडामा रहेका नागरिकलाई टाढाको प्यठानबाट कसैले सम्झिएर सहयोग बोकेर आएको अनुभूति आफैंमा ठूलो मानवीय सहारा बन्न सक्छ।
राहतसँगै बोकेको थियो साथको सन्देश
विपत्तिको समयमा सबै पीडा एउटा राहत प्याकेटले मेटाउन सकिँदैन। हराएको घर तत्काल फर्काउन सकिँदैन,बगेको सम्पत्ति एकैछिनमा पुनः प्राप्त हुँदैन। तर संकटका बेला कोही आफ्नो दुःखमा साथ दिन आइपुगेको अनुभूतिले पीडितलाई केही हदसम्म साहस दिन सक्छ।
रसुवाको बाढीग्रस्त क्षेत्रमा पुगेको प्यूठानको टोलीले राहत सामग्रीसँगै त्यही सन्देश बोकेको थियो विपत्तिमा परेका नागरिक एक्ला छैनन्।
जोखिमपूर्ण बाटो छिचोल्दै बाढीले उजाड बनाएको बस्तीमा पुगेको त्यो यात्रा राहत सामग्री हस्तान्तरण गरेर मात्र सकिएन। बरु त्यसले विपत्तिको वास्तविकता नजिकबाट देख्ने अवसर दियो र राज्य तथा समाजको भूमिकामाथि गम्भीर प्रश्न पनि छोड्यो।बाढीले भत्काएका संरचना पुनः बनाउन सकिन्छ। सडक खुलाउन सकिन्छ। घर पनि विस्तारै ठडिन सक्छन्। तर आफ्ना मान्छे,घर र जीवनको आधार गुमाएका नागरिकको मनमा हराएको भरोसा फर्काउन निरन्तर साथ,सहयोग र राज्यको प्रभावकारी उपस्थिति आवश्यक हुन्छ।
प्युठानबाट रसुवासम्म पुगेको यो यात्रा त्यही मानवीय भावनाको एउटा प्रयास थियो पीडामा रहेका नागरिकलाई सम्झिने,सक्ने सहयोग गर्ने र विपत्तिमा उनीहरू एक्ला छैनन् भन्ने अनुभूति दिलाउने प्रयास।
तर अन्ततः यो यात्राले एउटा गम्भीर प्रश्न भने छोडेर फर्किएको छ विपत्तिको वास्तविक पीडा भोगिरहेका नागरिकसम्म राज्यको राहत कहिले र कति प्रभावकारी रूपमा पुग्छ?