संकटमा सहारा बन्दै प्युठान उद्योग वाणिज्य संघ,बाढीपीडितलाई ४ लाख बढी सहयोग

संकटमा सहारा बन्दै प्युठान उद्योग वाणिज्य संघ,बाढीपीडितलाई ४ लाख बढी सहयोग

राम बहादुर बिश्वकर्मा
प्युठान,विपदको कठिन घडीमा बाढीपीडितको सहयोगका लागि प्युठान उद्योग वाणिज्य संघले मानवीय सेवाको उदाहरण प्रस्तुत गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघको परिपत्रअनुसार संघले बाढीपीडित सहायता कोषमा जम्मा हुने गरी रु ४ लाख ३ हजार ९ सय ३३ आर्थिक सहयोग उपलब्ध गराएको हो।
प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यका अनुसार संघका पदाधिकारी,कार्यसमिति सदस्य,सल्लाहकार, उपसमिति संयोजक,आजीवन तथा साधारण सदस्य,प्यूठान जिल्लाका उद्योगी-व्यवसायी तथा संघअन्तर्गतका बजार क्षेत्रबाट सहयोग जुटाएर उक्त रकम संकलन गरिएको हो।
अध्यक्ष आचार्यले विपद्को समयमा उद्योगी व्यवसायी समुदायले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पीडितको दुःखमा साथ दिएको बताउनुभयो। उहाँले सहयोग रकम सानो-ठुलो भन्दा पनि विपदमा परेका नागरिकलाई राहत र भरोसा दिन सक्ने मानवीय भावना महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।

तस्बिर : प्रमुख जिल्ला अधिकारी मार्फत राहत  कोषमा रकम गरिएको भौचर हस्तान्तरण हस्तान्तरण गर्दै संघको पदाधिकारी सहितको टिम 


“विपदको यस कठिन घडीमा सहयोगका लागि हातेमालो गर्नुहुने संघका सम्पूर्ण पदाधिकारी,कार्यसमिति,सल्लाहकार,उपसमिति संयोजक,आजीवन तथा साधारण सदस्यहरू,जिल्लाका उद्योगी व्यवसायी तथा बजार क्षेत्रका सबै सहयोगदाताप्रति आभार व्यक्त गर्दछौं,” अध्यक्ष आचार्यले भन्नुभयो।
उहाँका अनुसार संकलित सहयोग रकम नेपालउद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालय,टेकु,काठमाडौंमा बाढीपीडित सहायता कोषमा जम्मा हुने गरी पठाइएको छ। सहयोग रकम पठाइएको बैंक भौचरसहितको पत्रसमेत महासंघको केन्द्रीय कार्यालयमा पठाइएको छ।
यस कार्यको जानकारीका लागि जिल्ला प्रशासन कार्यालय,प्युठान र नेपाल उद्योग वाणिज्य महासंघ,लुम्बिनी प्रदेशलाई समेत बोधार्थ दिइएको संघले जनाएको छ।
विपद कुनै एक व्यक्ति वा समुदायको मात्र समस्या नभई समग्र समाजको साझा चुनौती भएकाले संकटका बेला सबै क्षेत्र एकजुट हुनुपर्ने अध्यक्ष आचार्यको भनाई छ। प्युठान उद्योग वाणिज्य संघले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय तथा सामाजिक सेवाका कार्यमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
बाढीपीडितका लागि संकलित यो सहयोगले राहतको आवश्यकता परेका परिवारलाई केही भए पनि राहत पुग्ने अपेक्षा गरिएको छ।