राम बहादुर बिश्वकर्मा
प्युठान,कुनै समय हातमा कापी-कलम बोकेर विद्यालय जाने तेजेन्द्र बुढा मगरका लागि आज त्यही विद्यालयको पुस्तकालयमा केही पुस्तक थप्ने दिन बनेको छ। विद्यार्थी जिवनमा आफुले अक्षर चिनेको र भविष्यका सपना बुनेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, नौबहिनी गाउँपालिका-५,डाम्री,प्युठानलाई उनले आफ्नो जन्मदिनको अवसरमा ज्ञानको उपहार दिने भएका छन्।
जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी त्यसलाई सामाजिक जिम्मेवारीसँग जोड्ने सोचसहित पत्रकार तेजेन्द्रले विद्यालयको पुस्तकालयका लागि रु. १० हजार बराबरका विभिन्न उपयोगी पुस्तक हस्तान्तरण गर्ने घोषणा गरेका हुन्।
आफुले पढेको विद्यालयमा फर्केर केही दिनुपर्छ भन्ने भावनाबाट सुरु भएको यो पहल उनको नजरमा ठुलो सहयोगभन्दा पनि आफ्नो शैक्षिक यात्राको सुरुवाती थलोप्रतिको एउटा सम्झना हो।
जिवनको यात्रामा मानिस धेरै टाढा पुग्न सक्छ। नयाँ परिचय बनाउन सक्छ। नयाँ क्षेत्रमा काम गर्न सक्छ। तर आफूले पहिलोपटक अक्षर चिनेको ठाउँसँगको सम्बन्ध भने समयसँगै मेटिँदैन। तेजेन्द्रका लागि डाम्रीको विद्यालय त्यस्तै सम्झनाको थलो हो।
त्यहाँ बिताएका विद्यार्थी जिवनका दिन,शिक्षकका सिकाइ,साथीभाइसँगका क्षण र भविष्यका सपनासँग जोडिएको विद्यालयमा जन्मदिनको अवसर पारेर पुस्तक उपहार दिने निर्णय उनको व्यक्तिगत खुसीभन्दा पनि पुरानो सम्बन्ध र जिम्मेवारीलाई सम्झिने प्रयास हो।“जन्मदिनमा आफैंलाई उपहार दिनुभन्दा आफुले अक्षर चिनेको विद्यालयको पुस्तकालयमा एउटा उपयोगी पुस्तक थप्न सक्नु मेरा लागि अझ ठूलो खुसी हो,” उनको भनाई छ।
पुस्तकालयका लागि नेपाली साहित्य,बाल तथा किशोर साहित्य,विज्ञान तथा प्रविधि, इतिहास,भूगोल तथा समाज,जिवनोपयोगी तथा प्रेरणादायी सामग्री,स्थानीय इतिहास,संस्कृति तथा पहिचान,अंग्रेजी भाषाका पुस्तक,शब्दकोश तथा सन्दर्भ सामग्रीलगायत विभिन्न विधाका पुस्तक छनोट गरिनेछ।
उनको उद्देश्य पुस्तकको संख्या बढाउनु मात्र होइन,विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरको संसारसँग परिचित गराउनु पनि हो। एउटा पुस्तकले एउटा विद्यार्थीलाई नयाँ कुरा सिकाउन सक्छ। नयाँ कुरा सिकेपछि प्रश्न जन्मिन सक्छ। प्रश्नले खोजी गराउन सक्छ। खोजीले ज्ञानको दायरा फराकिलो बनाउन सक्छ।र कहिलेकाहीँ त्यही ज्ञानले जीवनको दिशा बदल्न सक्छ।
जन्मदिन धेरैका लागि आफुलाई सम्झिने दिन हो। तेजेन्द्रका लागि भने यसपटक आफुलाई जन्म दिने आमाबुबा,आफुलाई शिक्षा दिने विद्यालय र आफु हुर्किएको समाजलाई सम्झिने दिन बनेको छ। उनले आफ्नो जन्मदिनलाई ज्ञान र शिक्षासँग जोड्नुको कारण पनि यही हो व्यक्तिगत खुसीलाई सामाजिक उपयोगमा रूपान्तरण गर्ने सानो प्रयास।
रु १० हजारको सहयोग आर्थिक हिसाबले ठुलो नहुन सक्छ। तर पुस्तकालयमा पुग्ने ती पुस्तकले लामो समयसम्म धेरै विद्यार्थीलाई ज्ञान दिन सक्छन्। आज एउटा पुस्तक थपिन्छ,भोलि त्यही पुस्तक धेरै विद्यार्थीले पढ्न सक्छन्। त्यसैले यसको मुल्य रकमभन्दा ठुलो छ।
तेजेन्द्रको यो पहल उनको पत्रकारितासहितको कर्मयात्राको एउटा पाटो पनि हो।अनलाइन,रेडियो,पत्रपत्रिका, टेलिभिजन तथा डिजिटल मिडियाका विभिन्न माध्यमसँग जोडिँदै उनले सञ्चार क्षेत्रमा आफ्नो यात्रा अघि बढाइरहेका छन्। गीत-संगीत तथा संस्थागत जिम्मेवारीलाई पनि आफ्नो कर्मसँग जोड्दै आएका छन्।
यो यात्रा सधैं सहज भने रहेन। संघर्ष आए,चुनौती आए र अपेक्षाअनुसार परिणाम नआएका क्षण पनि आए। तर उनले असफलतालाई रोकावटका रूपमा भन्दा सिकाइका रूपमा लिएका छन्। आजसम्मका असफलता अनेकौं भए पनि ती असफलताबाट प्राप्त अभ्यासलाई उनले आफ्नो यात्राको बलियो आधार मानेका छन्।
कर्मले डोर्याएको बाटोमा निरन्तर हिँडिरहने,आफ्नो परिश्रमलाई थप उचाइमा पुर्याउने र परिवार तथा समाजको हितमा आफ्नो पाइला नरोक्ने उनको संकल्प छ।
जन्मदिनको खुसीसँगै तेजेन्द्रले आफुलाई जन्म दिने बुबा र आमाप्रति गहिरो कृतज्ञता व्यक्त गरेका छन्। सुन्दर धर्तीको खुला मञ्चमा जिवन जिउने अवसर नै आमाबुबाले दिएको सबैभन्दा ठूलो उपहार भएको उनको बुझाइ छ।
जन्म दिएर जिवनको बाटो देखाउने आमाबुबाप्रतिको माया र सम्मानलाई शब्दमा मात्र सीमित गर्न नसकिने उनको भनाई छ। जिवनमा आइपर्ने कठोर परिस्थितिसँग भिड्ने साहस पनि यही सम्बन्धबाट प्राप्त भएको उनी महसुस गर्छन्। जति कठिन परिस्थिति आए पनि आफुले पाएको खुसीको सीमा घट्न नदिने र परिवार तथा समाजको भलोका लागि निरन्तर अघि बढ्ने उनको प्रतिबद्धता छ।
पत्रकार तेजेन्द्रले यस वर्ष आफ्नो जन्मदिनमा त्यही दोस्रो बाटो रोजेका छन्। आफ्नो जन्मदिनलाई एउटा पुस्तकसँग जोडेर,आफ्नो विगतलाई विद्यालयसँग जोडेर र आफ्नो खुसीलाई भोलिको पुस्तासँग जोडेर।
एउटा पुस्तकबाट सुरु भएको यो सानो सुरुवातले कुनै विद्यार्थीको सोच बदल्न, ज्ञानको दायरा फराकिलो बनाउन र भविष्यको बाटो पहिल्याउन योगदान पुर्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्