राम बहादुर बिश्वकर्मा
प्युठान,चाडपर्वको मौसम सुरु हुनासाथ गाउँघरमा मादलको धुन सुनिन थाल्छ। कतै तीजका गीतसँगै, कतै देउसी-भैलोसँगै त कतै सांस्कृतिक कार्यक्रममा। तर ती धुन निस्कने मादल कहाँ बन्छ?
मादलको तालमा गाउँघर रमाइरहँदा प्युठान नगरपालिका-१०,मरन्ठाना हाडिगैराका ४७ वर्षीय नम बहादुर सुनार भने त्यही धुन जन्माउने मादल बनाउन व्यस्त हुन्छन्। चाडपर्व नजिकिएसँगै उनको कार्यशालामा कामको चाप बढेको छ। बिहानदेखि साँझसम्म काठ, छाला र औजारसँगै बिताउने उनलाई ग्राहकको माग पूरा गर्न भ्याइनभ्याई छ।
कहिले काठलाई आकार दिइरहेका हुन्छन्,कहिले छालालाई तन्काइरहेका हुन्छन्। तयार हुँदै गरेको मादलको स्वर मिलाउन उनी उत्तिकै ध्यान दिन्छन्।एउटा मादल तयार हुन्छ,फेरि अर्कोको काम सुरु हुन्छ।
तीज,तिहारलगायतका चाडपर्वमा मादलको माग बढ्ने भएकाले यही समय उनका लागि मुख्य सिजन हो। आधुनिक बाजाको प्रयोग गाउँघरदेखि सहरसम्म बढिरहेको भए पनि नेपाली मौलिक बाजा मादलप्रतिको आकर्षण भने अझै नघटेको उनको अनुभव छ।
मादल बनाउन ब्यस्त प्युठान नगरपालिका - १० मरन्ठाना हाडिगैराका नम बहादुर सुनार
‘मादलको माग अझै छ,’उनी भन्छन्,‘चाडपर्व आएपछि झनै धेरै बनाउनुपर्छ।’
नम बहादुरका लागि मादल बनाउने काम केवल व्यवसाय मात्र होइन। यसको सुरुवात बाल्यकालको एउटा रहरबाट भएको हो। सानैदेखि उनलाई मादल बजाउन रुचि थियो। आफूले बजाउने मादल आफैं बनाउन सकियोस् भन्ने चाहनाले उनलाई यो सिप सिक्ने बाटोमा डोर्यायो।
मादल बनाउन सिक्ने क्रममा उनी माण्डवी गाउँपालिका-स्थित नयाँगाउँमा मादल बनाउन जान्ने व्यक्तिसँग पुगे। त्यहीँबाट उनले मादल बनाउने सीप सिक्न थाले।
‘सानैदेखि मादल बजाउँथेँ।आफुले बजाउने मादल आफैं बनाउन सकूँ भन्ने रहर लाग्यो,’उनी सम्झिन्छन्,‘नयाँगाउँमा मादल बनाउन जान्ने मान्छेसँग गएर सिकेँ। विस्तारै बनाउन सिक्दै गएँ।’
सुरुमा आफ्नै आवश्यकता पुरा गर्ने उद्देश्यले सिकेको सिप पछि उनको जीवनको पेसा बन्न पुग्यो। निरन्तर अभ्यास र अनुभवसँगै उनी मादल निर्माणमा दक्ष हुँदै गए। काठ छनोट गर्ने,त्यसलाई आकार दिने,छाला तयार गर्ने,तन्काउने र अन्ततः मादलबाट सुरिलो आवाज निकाल्ने अवस्थासम्म पुर्याउने सिप उनले काम गर्दै सिके।
बाल्यकालमा मादल बजाउने एउटा रहरबाट सुरु भएको उनको यात्रा अहिले आम्दानीसँगै नेपाली मौलिक बाजाको संरक्षणसँग जोडिएको छ।
समयसँगै संगीत सुन्ने र बजाउने शैली पनि फेरिएको छ। गाउँघरदेखि सहरसम्म आधुनिक बाजाको प्रयोग बढेको छ। तर नमबहादुरको अनुभवमा मादलको माग भने हराएको छैन। बरु मादल बनाउन जान्ने मानिसको संख्या घट्दै गएको छ।
‘मादल बनाउने मानिस कम हुँदै गएका छन्। सिक्ने पुस्ता पनि कम छ। त्यसैले अहिले मादल बनाउन जान्ने मानिसको माग छ,’ उनी भन्छन्।
नयाँ पुस्ता पढाइ, रोजगारी र अन्य आधुनिक पेसातर्फ आकर्षित हुँदै जाँदा परम्परागत सीप सिक्ने क्रम घटेको उनको बुझाइ छ। मादलको माग कायम रहे पनि यसलाई बनाउने सीप भएका मानिस कम हुँदै जाँदा भविष्यमा यो सीप नै संकटमा पर्न सक्ने चिन्ता उनलाई छ।
वर्षभरि मादलको माग आउने भए पनि चाडपर्वको मौसम नमबहादुरका लागि विशेष व्यस्त समय हो। तीज,तिहारलगायतका पर्व नजिकिएपछि नयाँ मादल बनाउन आउने ग्राहकको संख्या बढ्छ। पुराना मादल मर्मत गर्न आउनेहरू पनि हुन्छन्।
त्यसैले बिहानदेखि साँझसम्म उनी कार्यशालामै व्यस्त हुन्छन्। ‘सिजनमा खाना खानसमेत फुर्सद हुँदैन,’ उनी भन्छन्, ‘मागअनुसार समयमै मादल बनाएर दिनुपर्छ।’
यही सिजनमा मादल निर्माण तथा बिक्रीबाट दुई लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन्। उनका लागि यो आम्दानी परिवारको आर्थिक आवश्यकता पुरा गर्ने आधारसँगै आफुले जानेको सिपको आर्थिक मुल्य पनि हो।
मादल बाहिरबाट हेर्दा सामान्य देखिन्छ। तर एउटा राम्रो मादल तयार पार्न निकै मेहनत र अनुभव चाहिन्छ।मादल बनाउन खमारीको काठ,उत्तिसको काठ,गोरुको छाला,बाख्राको छाला,किटलगायतका सामग्री आवश्यक पर्ने नम बहादुर बताउँछन्।
काठको छनोटदेखि त्यसलाई आवश्यक आकारमा ल्याउने,छाला तयार पार्ने,तन्काउने र आवाज मिलाउनेसम्मका काम आफैंमा छुट्टाछुट्टै सिप हुन्। मादलको स्वर राम्रो बनाउन अनुभवको लो भुमिका हुन्छ। बाहिरबाट हेर्दा एउटै जस्तो देखिए पनि मादलको बनोट,काठ र छालाको गुणस्तर तथा त्यसलाई मिलाउने तरिकाले आवाजमा फरक पार्ने उनी बताउँछन्।
आवश्यक कच्चा पदार्थ स्थानीयस्तरमै सहज रूपमा उपलब्ध नहुँदा भने समस्या हुने गरेको छ। गुणस्तरीय सामग्रीका लागि काठमाडौं पुगेर खरिद गर्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्। यसले लागत र समय दुवै बढाउने गरेको उनको अनुभव छ।
मादल बनाउने काममा नम बहादुर एक्लै छैनन्। परिवारका सदस्यले पनि समय अनुसार उनलाई सहयोग गर्दै आएका छन्। उनका एक छोरा सिभिल इन्जिनियर उत्तीर्ण छन् भने दुई छोरी कक्षा ११ मा अध्ययनरत छन्। पढाइका कारण उनीहरू नियमित रूपमा मादल बनाउने काममा बस्दैनन्। तर बिदामा घर आएका बेला बुबाको काममा सहयोग गर्छन्।
आफुले सिकेको सिपको महत्व आफ्ना सन्तानले पनि बुझुन् भन्ने नम बहादुरको चाहना छ। तर नयाँ पुस्ताले यही पेसालाई निरन्तरता दिन्छ भन्ने निश्चित छैन। उनी आफैं पनि सन्तानले यही काम गर्नुपर्छ भन्ने पक्षमा छैनन्। उनको चाहना आफुले सिकेको सिपको महत्व नयाँ पुस्ताले बुझोस् र सम्भव भएसम्म यसलाई जोगाउने प्रयास होस् भन्ने हो।
मादल बनाउने र बजाउने कामलाई कुनै निश्चित जातिसँग जोडेर हेर्ने परम्परागत धारणा पनि नम बहादुरलाई स्वीकार्य छैन। आफूले मादल बजाउन सिकेको अनुभव र मादल निर्माणसँग जोडिएको आफ्नो यात्राले पनि त्यस्तो धारणा गलत भएको उनको बुझाइ छ।
‘मादल बनाउने र बजाउने काम दलित जातिले मात्रै गर्छन् भन्ने भ्रम छ। सीपलाई जातसँग जोड्नु हुँदैन,’उनी भन्छन्।
मादल नेपाली समाजको मौलिक बाजा भएकाले यसको निर्माण र संरक्षणमा सबै समुदायको सहभागिता आवश्यक रहेको उनी बताउँछन्। ‘मादल सबैले बनाउन र बजाउन सक्छन्। यसको संरक्षण गर्न सबैको साथ चाहिन्छ,’ उनी भन्छन्।
मादलको माग हुँदाहुँदै पनि व्यवसायलाई व्यवस्थित रूपमा अगाडि बढाउन विभिन्न चुनौती छन्। स्थानीय सरकारबाट हालसम्म कुनै अनुदान प्राप्त नभएको नमबहादुरको गुनासो छ। व्यवसायलाई आधुनिक र व्यावसायिक बनाउन थप सीप तथा प्रविधिसम्बन्धी तालिम आवश्यक रहेको उनी बताउँछन्।
‘स्थानीय सरकारले अनुदानसँगै आवश्यक तालिम र प्रविधिको व्यवस्था गरिदिए यो पेसालाई अझ व्यवस्थित गर्न सकिन्थ्यो,’उनी भन्छन्।
उनको अपेक्षा केवल व्यक्तिगत व्यवसाय विस्तारको मात्र होइन। परम्परागत सिपको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणका लागि पनि स्थानीय तहले भुमिका खेल्नुपर्ने उनको भनाइ छ।
मादलको माग आज पनि छ। चाडपर्व आउँदा यसको माग झनै बढ्छ। तर मादल बनाउन जान्ने मानिसको संख्या भने घट्दै गएको छ। बजारमा माग भएर मात्र कुनै सीप जोगिँदैन। त्यसका लागि सीप सिक्ने पुस्ता,आवश्यक सामग्री,उचित बजार र प्रोत्साहन पनि चाहिन्छ।
नयाँ पुस्ताले परम्परागत पेसालाई आम्दानीको सम्भावनासँग जोडेर हेर्न सक्ने वातावरण बनेमा यस्ता सीप जोगाउन सकिने नम बहादुरको विश्वास छ।
उनका लागि मादल केवल बिक्री गर्ने सामान होइन। यसको पछाडि नेपाली समाजको संस्कृति, चाडपर्व,गीत,नाच र पुस्तौँदेखिको सामाजिक जीवन जोडिएको छ।
साँझ पर्न थालेपछि नम बहादुरको कार्यशालामा दिनभरको चहलपहल केही कम हुन्छ। तर अधुरा मादलहरू उनलाई भोलिको काम सम्झाइरहेका हुन्छन्।
फेरि बिहान हुनेछ। औजार चल्नेछन्। काठले आकार पाउनेछ। छाला तन्किनेछ। अनि मादलबाट एउटा नयाँ धुन जन्मिनेछ।
त्यो मादल कुनै घरमा पुग्नेछ। कुनै चाडपर्वमा बज्नेछ। कुनै सांस्कृतिक कार्यक्रममा घन्किनेछ। कसैलाई नाच्न प्रेरित गर्नेछ, कसैलाई पुराना दिन सम्झाउनेछ।
त्यो धुन सुन्नेहरूले सायद त्यसको पछाडिको श्रम सम्झने छैनन्। तर नमबहादुरका हातले तयार पारेको त्यो मादलसँगै एउटा कुरा पनि यात्रा गरिरहेको हुनेछ-नेपाली मौलिक सिप र संस्कृतिको निरन्तरता।
बाल्यकालमा आफूले बजाउने मादल बनाउन सिक्ने रहरबाट सुरु भएको नमबहादुरको यात्रा आज एउटा जिम्मेवारीमा आइपुगेको छ। उनी मादल बनाइरहेका छन्,माग पुरा गरिरहेका छन्,परिवारको जीविकोपार्जन गरिरहेका छन्।
तर त्यसभन्दा माथि,उनी हराउँदै जान थालेको एउटा मौलिक सिप र नेपाली संगीतको एउटा पुरानो धुनलाई आफ्ना हातले जोगाइरहेका छन्।
चाडपर्वमा गाउँघरमा मादल बजिरहँदा त्यसको तालमा नम बहादुरको श्रम पनि मिसिएको हुन्छ। र जबसम्म उनका हात चलिरहन्छन्,त्यो मौलिक धुन पनि बजिरहनेछ।
प्रतिक्रिया राख्नुहोस्