राम बहादुर बिश्वकर्मा
प्युठान,भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्यूठान नगरपालिकाले विपद् प्रभावितको उद्धार तथा राहतका लागि १६ लाख ७० हजार ३०४ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नगर कार्यपालिकाको आकस्मिक बैठकले जनप्रतिनिधिको सेवा-सुविधा तथा नगरपालिकाअन्तर्गतका राष्ट्रसेवक कर्मचारी,शिक्षक र कर्मचारीको दुई दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
नगरपालिकाले विपदमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै,घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवार तथा जिल्लावासीप्रति सहानुभूति व्यक्त गरेको छ।
बाढीपछि प्युठान नगरपालिका-७ का सन्तोष पौडेल र वडा नम्बर-१० का पिताम्बर श्रेष्ठ सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको नगरपालिकाले जनाएको छ।उनीहरूको खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताइएको छ।
नगरपालिकाले सम्पर्कविहीन व्यक्तिबारे कुनै जानकारी प्राप्त भएमा तत्काल नगरपालिका तथा सम्बन्धित परिवारजनलाई खबर गर्न आग्रह गरेको छ।
विपद्को जोखिममा सतर्क रहन आग्रह
वर्षायामका कारण प्यूठानका विभिन्न नदी तथा खोलानालामा बाढी आउन सक्ने सम्भावना रहेकाले नगरपालिकाले उच्च जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न,जोखिमको अवस्था देखिएमा सुरक्षित स्थानतर्फ जान र आफ्नो तथा परिवारको सुरक्षालाई प्राथमिकता दिन नगरपालिकाले अपिल गरेको छ।
नगरपालिकाले विपद्को समयमा उद्धार,राहत तथा पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी निकाय,सुरक्षा निकाय,नागरिक समाज,उद्योगी,व्यवसायी,व्यापारी र आम नगरवासीबीच आवश्यक समन्वय र सहकार्यको अपेक्षा गरेको छ।
नगरपालिकाले विपद प्रभावितको पीडामा साथ दिन सबै पक्षलाई आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ।
प्रतिक्रिया राख्नुहोस्