राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा बालबालिकालाई लक्षित गरी सञ्चालन हुँदै आएको स्वर्ण विन्दु प्रासन कार्यक्रमलाई अब अझ फराकिलो बनाउने तयारी भएको छ। स्वास्थ्य केन्द्रमा मात्र केन्द्रित कार्यक्रमलाई जिल्लाका स्थानीय तहसँग जोडेर बालबालिकाकै बस्तीमा पुर्याउने तयारी गरिएको हो।
प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रममा स्वर्ण विन्दु प्रासन कार्यक्रमको आगामी स्वरूप र विस्तारबारे छलफल भएको हो। कार्यक्रममा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय सरकारसँग सहकार्य गर्नुपर्ने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।
स्वास्थ्य केन्द्रबाट सञ्चालन हुँदै आएको कार्यक्रमप्रति अभिभावकको चासो बढ्दै गए पनि भौगोलिक दूरीका कारण सबै बालबालिकालाई कार्यक्रममा समेट्न सहज छैन। यही अवस्थालाई ध्यानमा राख्दै स्थानीय तहसँग सहकार्य गरी सेवा गाउँस्तरमै पुर्याउने अवधारणा अघि सारिएको हो।
अब पालिकाको साझेदारीमा कार्यक्रम
कार्यक्रम विस्तारका लागि जिल्लाका स्थानीय तहलाई साझेदार बनाउने तयारी गरिएको छ। केही पालिकाले आफ्नै क्षेत्रभित्र बालबालिकालाई स्वर्ण विन्दु प्रासन खुवाउने गरी तयारी गरिरहेका छन्।
बाँकी स्थानीय तहसँग पनि समन्वय गरेर कार्यक्रम सञ्चालन गर्ने योजना रहेको प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका अध्यक्ष रमेश विश्वकर्माले बताउनुभएको छ।
उहाँका अनुसार कार्यक्रमको मुख्य उद्देश्य कुनै निश्चित क्षेत्रका बालबालिकामा मात्र सीमित नराखी जिल्लाभरका लक्षित बालबालिकालाई यसको पहुँचमा ल्याउनु हो।
स्वास्थ्य सेवा नागरिकको नजिक पुर्याउने अवधारणाअनुसार स्वर्ण विन्दु प्रासनलाई पनि स्थानीयस्तरमा विस्तार गर्ने तयारी गरिएको हो। पालिकास्तरमा कार्यक्रम सञ्चालन हुँदा अभिभावकलाई स्वास्थ्य केन्द्रसम्म धाउनुपर्ने बाध्यता कम हुने र बढी बालबालिकालाई कार्यक्रममा समेट्न सकिने अपेक्षा गरिएको छ।
विशेषगरी ग्रामीण क्षेत्रका परिवारका लागि स्थानीयस्तरमा कार्यक्रम सञ्चालन हुनु पहुँचका हिसाबले महत्वपूर्ण हुने देखिन्छ।
एउटा कार्यक्रम,धेरै निकायको सहकार्य
कार्यक्रम सफल बनाउन आयुर्वेद स्वास्थ्य केन्द्रको मात्र प्रयास पर्याप्त हुँदैन।स्थानीय तह, स्वास्थ्य शाखा, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्य आवश्यक पर्नेछ।
स्थानीय तहले कार्यक्रम सञ्चालनका लागि आवश्यक व्यवस्थापन र समन्वयमा सहयोग गर्न सके आयुर्वेद स्वास्थ्य केन्द्रले प्राविधिक पक्षमा सहजीकरण गर्न सक्नेछ। यसरी संस्थागत सहकार्यमा कार्यक्रम अघि बढाउन सके यसको निरन्तरता र प्रभावकारिता बढ्ने अपेक्षा गरिएको छ।
समीक्षा बैठकबाट विस्तारको बाटो
आर्थिक वर्षको समीक्षा गर्दै आगामी वर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने क्रममा स्वर्ण विन्दु प्रासनलाई स्थानीय तहसँग जोड्ने विषय उठेको हो।
प्युठान आयुर्वेद स्वास्थ्य केन्द्र अस्पताल विकास समितिका अध्यक्ष रमेश विश्वकर्माले “सबै बालबालिकाको पहुँचसम्म स्वर्ण विन्दु प्रासन पुर्याउने” लक्ष्यसहित स्थानीय तहसँग सहकार्य अघि बढाइने बताउनुभएको छ।अब पालिकासँगको समन्वयलाई व्यवहारमा उतार्दै स्पष्ट कार्ययोजना बनाउने र कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्ने चुनौती स्वास्थ्य केन्द्र सामु छ।
प्रतिक्रिया राख्नुहोस्