प्युठान,रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत,उद्धार तथा पुनर्स्थापनाका लागि प्युठानको गौमुखी गाउँपालिकाले २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
गाउँ कार्यपालिकाको बैठकले संस्थागत रूपमा २ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
त्यसैगरी गाउँपालिकामा कार्यरत सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीको एक दिन बराबरको सेवा सुविधा तथा पारिश्रमिक रकमसमेत उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट,धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै गाउँपालिकाले दुःख व्यक्त गरेको छ।
गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना गरेको छ।
विपद्का बेला राहत,उद्धार तथा पुनर्स्थापनामा सहयोग गर्नु सबैको साझा दायित्व भएको भन्दै गाउँपालिकाले देश-विदेशमा रहेका नेपालीलाई समेत सहयोग र ऐक्यबद्धताका लागि आग्रह गरेको छ।
प्रतिक्रिया राख्नुहोस्