प्युठान,रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत,उपचार तथा पुनर्स्थापनाका लागि झिमरुक गाउँपालिकाले १० लाख रुपैयाँ नगद सहयोग गर्ने भएको छ। गाउँपालिकाका जनप्रतिनिधि,शिक्षक तथा कर्मचारीको तर्फबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको हो।
प्राकृतिक विपद्का कारण ठुलो जनधनको क्षति भएको खबरले झिमरुक गाउँपालिका स्तब्ध बनेको भन्दै गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले विपदको कठिन घडीमा पीडित नागरिकको उद्धार तथा राहतका लागि तत्काल आर्थिक सहयोग आवश्यक रहेको बताएका छन्।
गाउँपालिकाले आफ्नो तर्फबाट रु १० लाख नगद सहयोग गर्ने निर्णय गर्दै विपदमा मानवीय सहयोगको हात बढाएको हो। स्थानीय तहका जनप्रतिनिधि,शिक्षक र कर्मचारीबाट संकलित रकम विपद् प्रभावित नागरिकको तत्काल उद्धार, राहत,उपचार र पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले उद्धार कोषमा जम्मा गरिनेछ।
२०८३ भदौ १० गते बिहान ८ः४० बजे रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढीले रसुवागढी,टिमुरे,वेत्रावती,त्रिशुली,मैलुङ र स्याफ्रुबेंसी बजार तथा आसपासका बस्तीमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण रसुवा,नुवाकोट,गोरखा र धादिङका विभिन्न बस्ती तथा बजार प्रभावित भएका छन्।
बाढीले घरबस्तीमा क्षति पुर्याउनुका साथै सरकारी कार्यालय,विद्यालय,बैंक तथा वित्तीय संस्था,पुल,सडक र जलविद्युत् आयोजनालगायतका महत्वपूर्ण पूर्वाधारमा समेत क्षति पुगेको छ। विपदका कारण ज्यान गुमाउने नागरिकप्रति गाउँपालिकाले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित नागरिकको उद्धार र उपचारलाई प्रभावकारी बनाउन आग्रहसमेत गरेको छ।
सबैलाई आर्थिक सहयोगमा जुट्न अपिल
झिमरुक गाउँपालिकाले आफ्नो तर्फबाट १० लाख रुपैयाँ नगद सहयोगको प्रतिबद्धता जनाउँदै विपद्को समयमा सक्षम व्यक्ति, निजी क्षेत्र,संघसंस्था,सामाजिक संस्था तथा देशविदेशमा रहेका नेपालीलाई समेत आर्थिक सहयोगका लागि अघि आउन अपिल गरेको छ।
विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन आर्थिक स्रोतको आवश्यकता पर्ने भएकाले सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्न गाउँपालिकाले आग्रह गरेको हो।
गाउँपालिकाले भोटेकोशी-त्रिशुली क्षेत्रमा थप बाढीको जोखिम रहेको र तल्लो तटीय क्षेत्रमा रहेका बस्तीसमेत प्रभावित हुनसक्ने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। स्थानीय प्रशासनले जारी गरेका सूचना तथा निर्देशनको पूर्ण पालना गर्नसमेत अनुरोध गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्