१४ वर्षको उमेरमा घर छाड्दा मानबहादुरसँग भविष्यका ठुला सपना थिएनन्,परिवारको जिम्मेवारी थियो। कलिलो उमेरमै भारतको बाटो हुँदै मजदुरीको यात्रामा निस्किएका उहाँले जीवनका दुई दशकभन्दा बढी समय पसिना र संघर्षमा बिताउनुभयो। आज त्यही संघर्षशील जीवन स्वास्थ्य समस्याले थला परेको छ। शरीरमा देखिएको घाउ निको नहुँदा ३५ वर्षीय मानबहादुर अहिले उपचार र जीवनको आशा बोकेर गाउँ फर्किनुभएको छ।
तस्बिर : महाविर राना(उपाध्यक्ष गौमुखी गाउँपालिका)
राम बहादुर विश्वकर्मा प्युठान,गौमुखी गाउँपालिका-३,भाँक्रेका मान बहादुर बुढाले जुन उमेरमा काँधमा विद्यालयको झोला बोकेर भविष्यको सपना देख्नुपर्ने थियो, त्यही उमेरमा मजदुरीको भारी बोक्नुपर्यो। १४ वर्षकै उमेरमा घर छाडेर भारत पुगेका उनले जीवनका महत्वपूर्ण वर्षहरू अरूको काम गर्दै र परिवारको जिम्मेवारी पूरा गर्दै बिताए। वर्षौं भारतका विभिन्न ठाउँमा मजदुरी गर्दै उनले पसिना बगाए। अरूका लागि श्रम गरे,परिवारका लागि कमाए र कठिन परिस्थितिका बीच आफ्नो जीवन अघि बढाए। तर अहिले समयले उनलाई अर्को कठिन परीक्षामा उभ्याएको छ। वर्षौं पसिना बगाएको शरीरमै देखिएको घाउ लामो समयदेखि निको हुन नसक्दा उनको जीवन थप कष्टकर बनेको छ। करिब दुई वर्षदेखि शरीरमा देखिएको घाउ निको हुन छाडेपछि मानबहादुरले उपचारका लागि विभिन्न ठाउँमा प्रयास गरे। घाउ निको हुने अपेक्षामा उपचार गराए पनि समस्या निरन्तर रहिरह्यो। उपचारकै क्रममा उनी कास्कीको पोखरा पुगे। त्यहाँ रहेका आफन्तको साथमा बसेर उपचार गराउने उद्देश्यले पोखरा पुगेका मानबहादुरले केही समय उपचार र हेरचाह पाए। तर स्वास्थ्यमा अपेक्षित सुधार आउन सकेन। बरु घाउ पुनःबल्झिँदै गएपछि करिब आठ दिनअघि ‘अब गाउँमै जान्छु’ भन्दै उनी आफ्नै घर फर्किए। लामो समयपछि गाउँको घर फर्किए पनि स्वास्थ्यको चिन्ता भने झन् गहिरिएको छ। अहिले मान बहादुरको स्वास्थ्य अवस्था नाजुक रहेको बताइएको छ। उनको स्वास्थ्य समस्या के हो,घाउ लामो समयसम्म किन निको हुन सकेन र अब उपचारको उचित बाटो के हुन सक्छ भन्ने विषयमा गौमुखी गाउँपालिका पनि गम्भीर बनेको छ। गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाका अनुसार मान बहादुरको स्वास्थ्य समस्याको वास्तविक अवस्था पहिचान गरी उपचारको उचित प्रक्रिया अघि बढाउन चिकित्सकसँग समन्वय भइरहेको छ। स्वास्थ्य अवस्था,घाउको प्रकृति तथा उपचार सम्बन्धी विषयमा डाक्टर सुवास जि.सि.सँग आवश्यक परामर्श र समन्वय गरिएको उहाँले बताउनुभयो। मानबहादुरको अवस्था गम्भीर रहेकाले उपचारका लागि आवश्यक सहयोग जुटाउन स्थानीयस्तरमा सामाजिक व्यक्तित्वहरू पनि सक्रिय भएका छन्। उनको अवस्थाबारे जानकारी लिने,चिकित्सकीय परामर्श गर्ने तथा सम्भव भएसम्म उपचारका लागि आवश्यक सहयोग जुटाउने प्रयास भइरहेको छ।
डाक्टर जि.सि. भन्छन् - नियमित औषधि सेवन र स्वास्थ्यकर्मीको निगरानी आवश्यक
मान बहादुरको उपचारमा समन्वय गरिरहेका डाक्टर सुवास जि.सि.का अनुसार उपलब्ध स्वास्थ्य विवरण,ट्रान्सक्रिप्सन कार्ड तथा उपचारसम्बन्धी जानकारी अध्ययन गर्दा उनको स्वास्थ्य समस्या पहिचान भइसकेको छ।नियमित औषधि सेवनमा कमी हुँदा घाउ पुनःबल्झिएको देखिएको उहाँले बताउनुभयो। “उहाँको स्वास्थ्य सम्बन्धी विवरण र प्रेसकृप्सन कार्डसमेत अध्ययन गरेका छौँ। समस्या पहिचान भइसकेको छ। नियमित औषधि सेवनमा कमी हुँदा घाउ पुनःबल्झिएको देखिन्छ।अब नजिकको स्वास्थ्य संस्थाको निगरानीमा औषधि नियमित सेवन गराउँदै उपचारलाई निरन्तरता दिन आवश्यक छ,”डाक्टर जि.सि.ले भन्नुभयो। उहाँका अनुसार उपचारमा निरन्तरता,औषधिको नियमित सेवन र स्वास्थ्यकर्मीको निगरानी महत्वपूर्ण हुन्छ। घाउको अवस्था तथा समग्र स्वास्थ्यमा आउने परिवर्तनअनुसार आवश्यक फलोअप गर्दै उपचार अघि बढाउनुपर्ने उहाँको सुझाव छ। १४ वर्षको उमेरमा भारत पुगेका मान बहादुरले आफ्नो जवानी अरूको काम गर्दै बिताए। जिवनभर श्रम गरे,परिवारका लागि पसिना बगाए। तर आज आफ्नै शरीरले साथ नदिँदा उपचारका लागि अरूको सहयोग आवश्यक परेको छ। कहिल्यै अरूको सहारा बन्न श्रम गरेका मानबहादुर अहिले आफैं सहाराको खोजीमा छन्। उनको उपचारमा अघि बढ्ने प्रत्येक सहयोगी हातले आर्थिक सहयोग मात्र गर्ने छैन,एउटा संघर्षशील जीवनमा बाँच्ने आशासमेत थप्नेछ।
प्रतिक्रिया राख्नुहोस्