बाग्दुलाको "रिभर साइट स्वीट हाउस"अब आफ्नै भवनबाट भौंकामा

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानको बाग्दुला बजारमा लामो समयदेखि सञ्चालन हुँदै आएको रिभर साइट स्वीट हाउस अहिले आफ्नै भवनबाट सञ्चालनमा आएको छ। प्युठान नगरपालिका-४,भौकामा करिब २० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको आफ्नै भवनबाट स्वीट हाउसले सेवा सुरु गरेको हो।
रिभर साइट स्वीट हाउसका सञ्चालक धनेश्वर भण्डारीका लागि यो व्यवसाय केवल एउटा व्यापारिक यात्रा होइन,दुई दशक लामो परदेशको अनुभवलाई आफ्नै माटोमा प्रयोग गर्ने प्रयास पनि हो।
२० वर्षसम्म भारतमा यस्तै स्वीट पसलमा काम गरेका भण्डारीले त्यहाँ मिठाई बनाउने सिपसँगै व्यवसाय सञ्चालनको अनुभव हासिल गर्नुभयो। लामो समय परदेशमा बिताएपछि आफ्नै देशमा फर्किएर केही गर्नुपर्छ भन्ने सोच बनाएर उहाँ प्यूठान फर्किनुभयो।
प्युठान आएपछि बाग्दुलामा भाडाको भवन लिएर स्वीट हाउस सञ्चालन गर्नुभयो।आठ वर्षसम्म भाडाको संरचनाबाट व्यवसाय गर्दै जाँदा ग्राहकको विश्वास र माग बढ्दै गयो। व्यवसायलाई थप व्यवस्थित बनाउने उद्देश्यले उहाँले आफ्नै भवन निर्माण गर्ने निर्णय लिनुभयो।
ग्राहकको माग र आवश्यकतालाई ध्यानमा राख्दै करिब २० लाख रुपैयाँ लगानी गरेर आफ्नै भवन निर्माण गरी अहिले भौकाबाट सेवा सञ्चालनमा ल्याइएको भण्डारी बताउनुहुन्छ।

रिभर साइट सुइट हाउसका सन्चालक :धनेश्वर भण्डारी 


“परदेशमा लामो समय काम गरियो।त्यहाँ सिकेको सिप र अनुभव आफ्नै ठाउँमा प्रयोग गर्नुपर्छ भन्ने सोचले स्वदेशमै व्यवसाय सुरु गरेको हुँ,” भण्डारी भन्नुहुन्छ।
ग्रामीण समाजमा कुनै समय माइती जाने आमा हजुरामा,छोरी,दिदीबहिनी तथा आफन्तका लागि घरमै विभिन्न रोटीका परिकार बनाएर लैजाने चलन थियो। टपरीमा राखेर लैजाने ती परिकारमा स्वादसँगै पारिवारिक आत्मीयता पनि जोडिएको हुन्थ्यो। तर बदलिँदो जिवनशैली,व्यस्तता र आधुनिकतासँगै घरमै यस्ता परिकार बनाउने परम्परा विस्तारै हराउँदै गएको भण्डारीको अनुभव छ।
त्यसैले परम्परागत स्वाद र आधुनिक आवश्यकतालाई जोड्ने उद्देश्यले स्वीट हाउसलाई विस्तार गरिएको उहाँ बताउनुहुन्छ। ग्राहकले घरमै बनाउन समय नपाउने अवस्थामा विभिन्न अवसर तथा पारिवारिक कार्यक्रममा आवश्यक पर्ने मिठाई तथा परिकार सहज रूपमा उपलब्ध गराउन सकिने उहाँको भनाइ छ।
रिभर साइट स्वीट हाउसमा रसबरी,लड्डु,बर्फी लगायत विभिन्न मिठाईका परिकार उपलब्ध छन्। ग्राहकको मागअनुसार विभिन्न प्रकारका मिठाई तथा परिकार थप गर्दै लैजाने योजना पनि भण्डारीको छ।
व्यवसायसँगै भण्डारी सामाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ। होटल व्यवसायी व्यवसायी संघ प्युठानको जिल्ला सदस्य,प्रदेश सदस्य हुँदै केन्द्रीय सचिवको जिम्मेवारीसमेत सम्हालिसक्नुभएका उहाँ व्यवसायीका समस्या तथा हकहितका विषयमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ।
परदेशमा बिताएका दुई दशक, बाग्दुलामा भाडाबाट सुरु गरेको आठ वर्षको व्यवसायिक यात्रा र अहिले आफ्नै भवनबाट विस्तार गरिएको व्यवसायले भण्डारीको संघर्ष र आत्मविश्वास देखाउँछ।
आफ्नै ठाउँमा रोजगारी र व्यवसायको सम्भावना खोज्दै अघि बढेका भण्डारीको यात्रा परदेशमा कमाएको अनुभवलाई स्वदेशमा लगानी गर्ने एउटा उदाहरण बनेको छ। उहाँका लागि भौकामा उभिएको यो स्वीट हाउस मिठाई बेच्ने ठाउँ मात्र होइन,परदेशबाट फर्किएर आफ्नै माटोमा भविष्य खोज्ने अठोटको परिणाम पनि हो।