राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानको स्वर्गद्वारी क्षेत्रमा माडी र लुङ्ग्री खोलाको किनारमा एकै दिन चार बेवारिसे शव फेला परेका छन्।शवमध्ये एक जना करिब १२/१३ वर्षीय बालक, एक पुरुष र दुई महिला रहेको प्रारम्भिक विवरण प्रहरीले सार्वजनिक गरेको छ।
बिहीबार बिहान करिब ७:३० बजे स्थानीयले खोलाको किनारमा शव देखेपछि इलाका प्रहरी कार्यालय भिङ्ग्रीलाई खबर गरेका थिए। सुचनापछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान तथा शवको पहिचानको प्रयास थालेको छ।
स्वर्गद्वारी नगरपालिका-९ जुडापाटास्थित माडी खोलाको किनारमा नाम,थर र वतन नखुलेका करिब १२/१३ वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ। बालकको शव खोलाको छेउमा उत्तानो अवस्थामा रहेको थियो।
त्यस्तै, स्वर्गद्वारी नगरपालिका-३ किमिचौरस्थित माडी खोलाको किनारमा नाम,थर र वतन नखुलेका पुरुषको शव फेला परेको छ। प्रारम्भिक अवस्थामा शवको कम्मरभन्दा माथिको भाग मात्र फेला परेको प्रहरीले जनाएको छ।
स्वर्गद्वारी नगरपालिका-४ गोठीबाङस्थित माडी खोलाको किनारमा पनि नाम,थर र वतन नखुलेकी महिलाको शव फेला परेको छ।
यसैबीच,बिहान करिब ९:३० बजे स्वर्गद्वारी नगरपालिका-५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा थप एक महिलाको शव फेला परेको छ।उक्त शवको टाउकोको खप्पर तथा बायाँ खुट्टाको घुँडादेखिको भाग फेला नपरेको प्रारम्भिक विवरणमा उल्लेख छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय भिङ्ग्री,प्रहरी चौकी लामाचौर र इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी टोली खटिएको छ। बिजुवारबाट प्रहरी निरीक्षक महेश्वरी बिष्टको कमाण्डमा टोलि घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।
चारवटै शवको पहिचान खुल्न सकेको छैन।घटनाको प्रकृति,शवको पहिचान तथा घटनाबीच कुनै सम्बन्ध भए/नभएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया राख्नुहोस्