प्युठानमा २६४१ बालबालिकाको स्वर्ण प्राशन,अब दुर्गम बस्तीमा सेवा पुर्‍याउने तयारी

प्युठानमा २६४१ बालबालिकाको स्वर्ण प्राशन,अब दुर्गम बस्तीमा सेवा पुर्‍याउने तयारी

राम बहादुर बिश्वकर्मा 
प्युठान,बालबालिकाको स्वास्थ्यलाई केन्द्रमा राखेर प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्र खलंगामा आयोजित स्वर्ण प्राशन कार्यक्रम उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ।
कार्यक्रममा १ हजार ४ सय ९५ बालक र १ हजार १ सय ४६ बालिका गरी २ हजार ६ सय ४१ बालबालिका सहभागी भएका छन्। स्वर्ण प्राशनका लागि अभिभावकहरू आफ्ना बालबालिकालाई लिएर स्वास्थ्य केन्द्र पुगेका थिए। ठुलो संख्यामा बालबालिकाको सहभागिताले केन्द्रमा दिनभर चहलपहल देखिएको थियो।
बालबालिकाको स्वास्थ्यप्रति अभिभावकको बढ्दो चासो र आयुर्वेदिक स्वास्थ्य सेवाप्रतिको आकर्षण कार्यक्रमको सहभागितामा स्पष्ट देखिएको थियो। 
ठुलो संख्यामा बालबालिका तथा अभिभावकको सहभागिता रहे पनि कार्यक्रम सौहार्दपूर्ण र व्यवस्थित वातावरणमा सम्पन्न भएको प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ। सहभागीको व्यवस्थापनका लागि स्वास्थ्य केन्द्रले आवश्यक समन्वय गरेको थियो।
स्वास्थ्य केन्द्रका अध्यक्ष रमेश बिश्वकर्माका अनुसार स्वर्ण प्राशन कार्यक्रममा बालबालिकाको उल्लेख्य सहभागिता हुनु उत्साहजनक विषय हो। बाल स्वास्थ्यसँग सम्बन्धित यस्ता कार्यक्रमले समुदायमा स्वास्थ्य चेतना विस्तार गर्न सहयोग पुग्ने उहाँको भनाई छ।
उहाँका अनुसार स्वर्ण प्राशन कार्यक्रम बालबालिकालाई सहभागी गराउने एउटा अवसर मात्र नभई अभिभावकलाई आयुर्वेदिक स्वास्थ्य पद्धति,बाल स्वास्थ्य र स्वस्थ जीवनशैलीबारे जानकारी गराउने माध्यमसमेत बनेको छ।
तर खलंगास्थित स्वास्थ्य केन्द्रसम्म पुग्न नसक्ने दुर्गम क्षेत्रका बालबालिकाको पहुँच भने अझै चुनौतीका रूपमा रहेको छ।जिल्लाका दुर्गम बस्तीबाट बालबालिकालाई स्वास्थ्य केन्द्रसम्म ल्याउन दुरी,यातायात तथा भौगोलिक कठिनाइका कारण समस्या हुने गरेको गुनासो आउने गरेको अध्यक्ष बिश्वकर्माले बताउनुभयो।
दुर्गम क्षेत्रका बालबालिका स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न जिल्लाका सबै स्थानीय तहमा सेवा उपलब्ध गराउने वातावरण बनाउन पालिका प्रमुखहरूसँग समन्वय भइरहेको उहाँले बताउनुभयो।
“जिल्लाका दुर्गम बस्तीबाट बालबालिकालाई स्वास्थ्य केन्द्रसम्म ल्याउन धेरै समस्या हुने र सेवाबाट वञ्चित हुनुपर्ने गुनासो आएपछि सबै पालिकामा सेवा उपलब्ध गराउने वातावरण बनाउन पालिका प्रमुखहरूसँग समन्वय गरिरहेका छौँ,”अध्यक्ष बिश्वकर्माले भन्नुभयो।
स्थानीय तहसँगको सहकार्यमा आवश्यक सेवा गाउँ-बस्तीमै पुर्‍याउन सके दुर्गम क्षेत्रका बालबालिकाले पनि सहज रूपमा आयुर्वेदिक स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।