उर्लदो भेल’पछि ‘धर्ती आकाश’,अब ‘आफन्त र आँसु’ : युवराजको निरन्तर शब्दयात्रा
राम बहादुर बिश्वकर्मा
प्युठान,आफन्तको आत्मीयता र आँसुको संवेदनाबीच जिवनका अनगिन्ती कथा लुकेका हुन्छन्। कहिले सम्बन्धले मन भरिन्छ,कहिले त्यही सम्बन्धका सम्झनाले आँखा रसाउँछन्।खुसी र पीडा,मिलन र विछोड,सम्झना र अनुभूतिको यही जीवनचक्रलाई शब्दमा उतार्दै आएका साहित्यकार युवराज भण्डारीको नयाँ कृति ‘आफन्त र आँसु’ विशेष साहित्यिक कार्यक्रमबीच विमोचन गरिएको छ।
साहित्यप्रेमी,स्रष्टा,शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा कृति सार्वजनिक गरिएको हो। विमोचनका क्रममा कृतिको विषयवस्तु, साहित्यिक पक्ष र मानवीय सम्बन्धसँग जोडिएका प्रसंगमाथि चर्चा भयो।
भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङको संयोजनमा आयोजित कार्यक्रममा उपन्यासमाथि डा.मोना के.सि र जीवराज शर्माले समीक्षा गरेका थिए। समीक्षकहरूले ‘आफन्त र आँसु’ले मानवीय सम्बन्धभित्र लुकेका आत्मीयता,पीडा,संघर्ष र संवेदनालाई कथाका माध्यमबाट प्रस्तुत गर्न खोजेको बताएका थिए।
विमोचन कार्यक्रममा भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी निर्वतमान अध्यक्ष हिमाली न्यौपाने,साहित्यकार कपिलकिशोर घिमिरे,साहित्यकार शेषमणि घिमिरे,सहकारी संस्थाका सल्लाहकार किरण भण्डारी,संस्थाकी दया भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले साहित्यले समाजका भावना र समयलाई अभिलेख गर्ने भएकाले यस्ता सिर्जनात्मक गतिविधिले साहित्यिक वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।
कार्यक्रममा अभियन्ता बाबू रोका मगरले कविता वाचन गरेका थिए।उनको प्रस्तुतिले कार्यक्रमलाई थप सिर्जनात्मक बनाएको थियो। साहित्यकार कृष्ण गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका लेखा संयोजक सोनु भण्डारीले गरेकी थिइन्।
‘आफन्त र आँसु’ युवराज भण्डारीको साहित्यिक यात्राको नयाँ कृति मात्र होइन,लामो समयदेखि अघि बढिरहेको सिर्जनशील यात्राको अर्को महत्वपूर्ण अध्याय हो। उनले २०६५ सालमा ‘उर्लदो भेल’ कविता संग्रह प्रकाशन गरेका थिए भने २०७१ सालमा ‘धर्ती आकाश’ गजल संग्रह पाठकमाझ ल्याएका थिए। कविता र गजल हुँदै कथाको यात्रामा आइपुगेको ‘आफन्त र आँसु’ले उनको साहित्यिक परिचयलाई थप विस्तार गरेको छ।
‘उर्लदो भेल’देखि ‘धर्ती आकाश’ हुँदै ‘आफन्त र आँसु’सम्म आइपुग्दा उनको लेखन यात्रामा समय र अनुभवका अनेक तह थपिएका छन्। समाजलाई नजिकबाट नियाल्ने क्रममा भेटिएका सम्बन्ध, मानिसका भोगाइ,खुसी,पीडा र संघर्ष उनका सिर्जनाका आधार बनेका छन्।यही जिवन अनुभूतिको निरन्तरता नयाँ कृतिमा पनि देखिन्छ।
‘आफन्त र आँसु’ शीर्षक आफैंमा अर्थपुर्ण छ। ‘आफन्त’ले नजिकपन,भरोसा र आत्मीयता सम्झाउँछ भने ‘आँसु’ले पीडा,विछोड,सम्झना र मनमा दबिएका भावनाको प्रतिनिधित्व गर्छ। यी दुई शब्दको संयोजनले सम्बन्धको सुन्दरता र त्यससँग जोडिएको संवेदनशीलतालाई एकैपटक उजागर गर्छ।
मानिसको जीवनमा केही सम्बन्ध यस्ता हुन्छन्,जसलाई शब्दमा व्यक्त गर्न कठिन हुन्छ। एउटा भेट, एउटा बिछोड,एउटा सम्झना वा आफन्तको एउटा बोलीले वर्षौंसम्म मनमा प्रभाव पार्न सक्छ। साहित्यले यिनै मौन अनुभुतिलाई शब्द दिन्छ। त्यसैले पाठकले लेखकले लेखेको कथामा आफ्नै जीवनका पात्र,घटना र स्मृतिहरू भेट्न सक्छ।
युवराज भण्डारीको जिवन पनि साहित्यसँगै पारिवारिक सम्बन्ध र सामाजिक परिवेशसँग जोडिएको छ। बुवा भिउसीन भण्डारी र आमा ठइ कुमारी भण्डारीको कोखबाट
प्युठानको नौबहिनी गाउँपालिका-८ मा २०४८ साल माघ १० गते जन्मिएका भण्डारीको पारिवारिक जिवनमा उनकी जिवनसंगिनी मनिषा के.सि,छोरा मिश्रण भण्डारी र छोरी आकांक्षा भण्डारी रहेका छन्।
हाल लमही नगरपालिका-६,देउखुरी दाङमा बस्दै पारिवारिक जिम्मेवारी र सामाजिक सम्बन्धबीच उनले साहित्यलाई आफ्ना अनुभुति र विचार व्यक्त गर्ने माध्यम बनाउँदै आएका छन्।
कृति लेख्नु लेखकका लागि सिर्जनाको प्रक्रिया हो भने विमोचनपछि त्यसले पाठकसँग सम्बन्ध गाँस्छ। ‘आफन्त र आँसु’ पनि अब लेखकको व्यक्तिगत सिर्जनामा मात्र सीमित छैन। पाठकका हातमा पुगेसँगै यसले नयाँ अर्थ र नयाँ अनुभूतिको यात्रा सुरु गरेको छ।
कसैले यसमा आफ्ना आफन्तको सम्झना भेट्न सक्छन्,कसैले विगतका दिनहरू।कसैले पात्रमा आफ्नै जीवनको छायाँ देख्न सक्छन् भने कसैले आफूले कहिल्यै व्यक्त गर्न नसकेको भावनाको आवाज भेट्न सक्छन्।यही पाठकीय अनुभुतिले एउटा कृतिलाई लेखकको निजी संसारबाट साझा साहित्यिक संसारमा पुर्याउँछ।
२०६५ सालको ‘उर्लदो भेल’, २०७१ सालको ‘धर्ती आकाश’ हुँदै अहिले ‘आफन्त र आँसु’सम्म आइपुगेको यात्रा युवराज भण्डारीको साहित्यिक निरन्तरताको प्रमाण हो।विधा र विषयको विस्तारसँगै उनको सिर्जनाले पाठकसँग संवाद गर्ने नयाँ बाटो पनि खोज्दै गएको छ।
विमोचनको औपचारिक कार्यक्रम सकिएको छ,तर कृतिको वास्तविक यात्रा भने अब सुरु भएको छ। पुस्तकका पानामा रहेका कथा र अनुभूतिले पाठकका मनमा आफ्नो अर्थ खोज्नेछन्।कसैका लागि यो आफन्तको सम्झना बन्नेछ,कसैका लागि विगतको झल्को र कसैका लागि आफ्नै जिवनका अनकहा भावनाको प्रतिबिम्ब।
‘आफन्त र आँसु’ त्यसैले एउटा कृति मात्र होइन, सम्बन्ध,सम्झना र संवेदनाको संसारमा पाठकलाई डोर्याउने युवराज भण्डारीको साहित्यिक यात्राको अर्को महत्वपूर्ण पाना बनेर आएको छ।
प्रतिक्रिया राख्नुहोस्