राम बहादुर बिश्वकर्मा
प्युठान,कुनै वृद्ध नागरिकले एउटा परिचयपत्र नवीकरण गराउन वडा कार्यालयसम्म पुग्नुपर्दा त्यो केवल प्रशासनिक प्रक्रिया मात्र हुँदैन,त्यो एउटा कठिन संघर्ष पनि हुन्छ।कमजोर स्वास्थ्य, हिँडडुलको असहजता,यातायातको अभाव र आर्थिक भारका बीच सरकारी सेवा लिनु धेरै ज्येष्ठ नागरिकका लागि सहज हुँदैन।अझ अशक्त तथा अपाङ्गता भएका नागरिकका लागि त यो झन् कठिन यात्रा हो।
यही यथार्थलाई नजिकबाट महसुस गर्दै प्यूठान नगरपालिका-६ ले सेवा प्रवाहको परम्परागत शैली परिवर्तन गर्ने प्रयास थालेको छ। नप्रतिनिधि भनेपछि धेरैले कार्यालय,बैठक र योजना कार्यान्वयनको कल्पना गर्छन्।तर वडा अध्यक्ष नरेन्द्र पुन भने जनप्रतिनिधिको वास्तविक जिम्मेवारी जनताको घरदैलोमै पुगेर सेवा गर्नु पनि हो भन्ने विश्वास राख्नुहुन्छ। यही सोचलाई व्यवहारमा उतार्दै उहाँ वडा सचिव सुमन पुन सहितको टोली लिएर सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणका लागि गाउँ-गाउँ पुग्नुभयो।
खोलीगाउँ,आरुगैरा,झुलेनी र घायका ज्येष्ठ नागरिक,अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता नविकरणमाखटिका अध्यक्ष पुन
खोलीगाउँ,आरुगैरा,झुलेनी र घायका ज्येष्ठ नागरिक,अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरूले यसपटक वडा कार्यालय धाउनुपरेन।बरु स्थानीय सरकार नै उनीहरूको घरको आँगनसम्म पुग्यो।
"जनताको काम गर्नकै लागि हामीलाई जिम्मेवारी दिइएको हो।नागरिकलाई सास्ती दिएर सेवा प्रवाह गर्नु जनप्रतिनिधिको धर्म होइन।सेवा लिन नसक्ने अवस्थाका नागरिकसम्म सरकार आफैँ पुग्नुपर्छ भन्ने सोचका साथ हामी घरदैलोमा आएका हौं," वडा अध्यक्ष पुन भन्नुहुन्छ।
उहाँका अनुसार धेरै ज्येष्ठ नागरिक र अशक्त व्यक्तिका लागि वडा कार्यालयसम्म पुग्नु आफैंमा कठिन यात्रा हो। कमजोर स्वास्थ्य,हिँडडुलको समस्या,यातायातको अभाव तथा आर्थिक अवस्थाका कारण सामान्य प्रशासनिक सेवा लिनसमेत उनीहरूले ठूलो सास्ती व्यहोर्नुपरेको छ।
"कार्यालय समयमा प्राविधिक प्रणालीले अपेक्षाअनुसार काम नगर्ने समस्या पनि हुन्छ। अर्कोतर्फ अशक्त नागरिकलाई वडा कार्यालयसम्म ल्याउन परिवारलाई पनि निकै कठिन हुन्छ। त्यसैले बिदाको दिनसमेत टोली परिचालन गरेर सेवा घरदैलोमै पुर्याउने निर्णय गरेका हौं," उहाँले बताउनुभयो।
वडा अध्यक्ष पुनका अनुसार स्थानीय सरकारको सफलता कार्यालयमा कति फाइल टुंग्यायो भन्नेमा होइन,कति नागरिकको जीवन सहज बनायो भन्नेमा मापन हुनुपर्छ। "हाम्रो चाहना एउटै हो-सेवा लिन नसक्ने कुनै पनि नागरिक राज्यको सेवाबाट वञ्चित नहोस्। उहाँहरूको अनुहारमा देखिएको मुस्कान नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो,"उहाँले भन्नुभयो।
उहाँको भनाइमा स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले नागरिकले सेवा लिन होइन,सेवा पाउनुपर्छ। आवश्यक पर्दा सरकार नै नागरिकको घरसम्म पुग्न सक्नुपर्छ। त्यही सोचलाई व्यवहारमा उतार्ने प्रयासस्वरूप घरदैलो सेवा अभियान सञ्चालन गरिएको उहाँ बताउनुहुन्छ।
स्थानीयवासीका अनुसार वडा अध्यक्ष पुनको यो अभियानले विशेषगरी ज्येष्ठ नागरिक,अशक्त तथा अपाङ्गता भएका व्यक्तिमा ठूलो राहत पुगेको छ। घरमै सरकारी सेवा पाएपछि उनीहरूले स्थानीय सरकारप्रति थप विश्वास व्यक्त गरेका छन्।
वडा अध्यक्ष पुनको यो पहलले एउटा स्पष्ट सन्देश दिएको छ-जनप्रतिनिधिको भूमिका केवल नीति बनाउने वा योजना घोषणा गर्ने होइन,आवश्यक पर्दा नागरिकको ढोकासम्म पुगेर सेवा दिने पनि हो। जनताको विश्वास भाषणले होइन,व्यवहारले जितिन्छ भन्ने उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ।यदि यस्ता अभियानले निरन्तरता पायो भने प्यूठान नगरपालिका-६ नागरिकमैत्री स्थानीय शासनको नमुना वडाका रूपमा स्थापित हुने विश्वास गर्न सकिन्छ।
प्रतिक्रिया राख्नुहोस्