राम बहादुर बिश्वकर्मा
प्युठान,वर्षौंदेखि दोहोरिँदै आएको विद्युत् आपूर्ति समस्या,बारम्बार हुने लाइन अवरोध,कमजोर प्रसारण संरचना तथा बढ्दो विद्युत् मागका कारण प्यूठानका नागरिक,उद्योग-व्यवसाय र सेवा क्षेत्र प्रभावित हुँदै आएका छन्। यही समस्याको दीर्घकालीन समाधान खोज्ने उद्देश्यका साथ नेपाल पत्रकार महासंघ,प्युठानले मङ्गलबार विजुवारमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
प्यूठान नगरपालिका कार्यालय,विजुवारमा बिहान ११ बजे सुरु हुने कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि,जनप्रतिनिधि, राजनीतिक दल, उद्योग-व्यवसायी,नागरिक समाज, पत्रकार तथा सरोकारवाला निकायबीच खुला छलफल हुने जनाइएको छ।
कार्यक्रममा जिल्लाको विद्युत् पूर्वाधारको वर्तमान अवस्था,प्रसारण तथा वितरण प्रणालीका समस्या,बढ्दो विद्युत् माग,भविष्यका योजना तथा दीर्घकालीन समाधानका सम्भावित विकल्पबारे विस्तृत बहस हुने अपेक्षा गरिएको छ। स्थानीय तहदेखि संघीय निकायसम्मको समन्वयमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा सुनिश्चित गर्ने विषय पनि छलफलको केन्द्रमा रहनेछ।
नेपाल पत्रकार महासंघ,प्युठान शाखाका अध्यक्ष श्रीराम भण्डारीले जिल्लाको विकाससँग प्रत्यक्ष जोडिएको विद्युत् समस्या समाधानका लागि सरोकारवाला सबै पक्षलाई एउटै मञ्चमा ल्याई साझा धारणा निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।
नेपाल पत्रकार महासंघ,प्युठानले पत्रकारितालाई समाचार सम्प्रेषणमा मात्र सीमित नराखी सार्वजनिक सरोकारका विषयमा बहस,संवाद र नीति पैरवीलाई पनि निरन्तर प्राथमिकता दिँदै आएको छ। त्यसैको निरन्तरताका रूपमा आयोजना गरिएको यो अन्तरक्रियाले विद्युत् आपुर्तिमा देखिएका चुनौतीहरूको यथार्थ चित्र प्रस्तुत गर्दै समाधानका लागि सम्बन्धित निकायलाई जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमबाट प्राप्त सुझाव,अनुभव र निष्कर्षले प्युठानको विद्युत् प्रणाली सुधारका लागि साझा कार्ययोजना निर्माण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
प्रतिक्रिया राख्नुहोस्