विद्यार्थीको सिकाइ मूल्याङ्कन गर्दै लर्निङ हेभनले सार्वजनिक गर्‍यो नतिजा

विद्यार्थीको सिकाइ मूल्याङ्कन गर्दै लर्निङ हेभनले सार्वजनिक गर्‍यो नतिजा

राम बहादुर बिश्वकर्मा 
प्युठान,लर्निङ हेभन एण्ड रिसर्च स्कुल,प्युठान पुण्यखोलाले एक विशेष कार्यक्रमका बीच शैक्षिक सत्र २०८३ को प्रथम त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।विद्यालयमा प्ले ग्रुपदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूको परीक्षाफल अभिभावक,शिक्षक तथा विद्यार्थीहरूको उपस्थितिमा सार्वजनिक गरिएको हो।
विद्यालयका प्रिन्सिपल सिद्धिमान थापाले प्रथम त्रैमासिक परीक्षा विद्यार्थीहरूको सिकाइ उपलब्धि मापन गर्ने महत्वपूर्ण आधार भएको बताउँदै परीक्षाको उद्देश्य केवल अंक प्राप्ति नभई विद्यार्थीको क्षमता,सिकाइको अवस्था र सुधार गर्नुपर्ने पक्ष पहिचान गर्नु रहेको उल्लेख गर्नुभयो।
उहाँका अनुसार प्रत्येक विद्यार्थीमा फरक-फरक क्षमता र सम्भावना हुने भएकाले नतिजालाई प्रतिस्पर्धाको आधारभन्दा पनि सिकाइ सुधारको अवसरका रूपमा लिन आवश्यक छ।विद्यार्थीले आफ्नो कमजोरी पहिचान गरी आगामी परीक्षामा अझ उत्कृष्ट प्रदर्शन गर्न मेहनत गर्नुपर्ने र त्यसका लागि विद्यालय तथा शिक्षकहरू निरन्तर सहयोग गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।उहाँले अभिभावकलाई पनि बालबालिकाको अध्ययनमा नियमित चासो दिन,विद्यालयसँग निरन्तर समन्वय गर्न तथा घरमै सकारात्मक अध्ययन वातावरण निर्माण गर्न आग्रह गर्नुभयो। विद्यालय,शिक्षक र अभिभावकबीचको सहकार्यबाट मात्र विद्यार्थीको शैक्षिक गुणस्तरमा अपेक्षित सुधार सम्भव हुने उहाँको भनाइ थियो।
कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई दिइनुका साथै अपेक्षाअनुसार नतिजा ल्याउन नसकेका विद्यार्थीहरूलाई निराश नहुन आग्रह गर्दै आगामी दिनमा अझ मेहनतका साथ अध्ययन गर्न प्रेरित गरिएको थियो। विद्यालयले आगामी दिनमा गुणस्तरीय,व्यवहारिक तथा प्रविधिमैत्री शिक्षालाई थप प्रभावकारी बनाउँदै विद्यार्थीको सर्वाङ्गीण विकासमा केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।