प्युठान,प्युठानको दुर्गम गौमुखी गाउँपालिकामा लामो समयदेखि देखिँदै आएको विद्युत अनियमितता र विद्युत विस्तारको मागलाई लिएर नेपाली कांग्रेस गौमुखी गाउँपालिकाले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र,प्युठानमा ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमार्फत गाउँपालिकामा नियमित,भरपर्दो र गुणस्तरीय विद्युत सेवा सुनिश्चित गर्न आवश्यक पहल गर्न प्राधिकरणको ध्यानाकर्षण गराइएको छ। दुर्गम भूगोलका कारण यहाँका नागरिकले वर्षौंदेखि विद्युत आपूर्तिसम्बन्धी विभिन्न समस्या भोग्दै आएको उल्लेख गर्दै ती समस्याको दीर्घकालीन समाधान खोज्न आग्रह गरिएको छ।
नेपाली कांग्रेस गौमुखी गाउँपालिकाका सभापति मधुराम के.सि का अनुसार साँझ ६ बजेदेखि राति १० बजेसम्म अघोषित रूपमा पटक-पटक विद्युत आपूर्ति अवरुद्ध हुने समस्या यहाँका नागरिकका लागि दैनिक सास्ती बनेको छ।अधिकांश स्थानमा रूख तथा बोटबिरुवाले विद्युतका तार छोएका कारण लाइन अवरुद्ध हुने र दुर्घटनाको जोखिमसमेत बढेको उहाँले बताउनुभयो।
त्यसैगरी,बारम्बार हुने भोल्टेजको उतारचढावका कारण सरकारी तथा निजी कार्यालय,विद्यालय,स्वास्थ्य संस्था र अन्य सेवा प्रदायक निकायको दैनिक कामकाज प्रभावित भएको छ। पटक–पटक लाइन जाने-आउने समस्याले बल्ब,विद्युतीय उपकरण तथा घरभित्रको वायरिङमा समेत क्षति पुग्ने गरेको स्थानीयको गुनासो छ। प्रभावकारी अर्थिङ प्रणालीको अभावले विद्युतीय सुरक्षामा थप जोखिम सिर्जना भएको विषय पनि ज्ञापनपत्रमा समेटिएको छ।
ज्ञापनपत्रमा यी सबै समस्याको दीर्घकालीन र प्रभावकारी समाधानका लागि आवश्यक प्राविधिक तथा संरचनागत सुधार गर्न माग गरिएको छ।साथै,समस्या समाधानका लागि नेपाली कांग्रेस गौमुखी गाउँपालिका र स्थानीय समुदायबाट आवश्यक समन्वय तथा सहयोग गर्न पूर्ण रूपमा तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
पछिल्लो समय गौमुखी मात्र नभई प्युठान जिल्लाका विभिन्न क्षेत्रमा पनि विद्युत अनियमितता,कम भोल्टेज र बारम्बार लाइन अवरुद्ध हुने समस्या बढ्दै गएको गुनासो सर्वसाधारणबाट उठिरहेको छ।नागरिकको आधारभूत आवश्यकता बनेको विद्युत सेवामा सुधार ल्याउन सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवाज दिनप्रतिदिन बलियो बन्दै गएको छ।
प्रतिक्रिया राख्नुहोस्