राम बहादुर बिश्वकर्मा
प्युठान नगरपालिका-९ का वडा अध्यक्ष विकास के.सि.ले नगर प्रवक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठको कार्यशैली,नेतृत्व क्षमता र जनप्रतिबद्धताको खुलेर प्रशंसा गर्नुभएको छ।
नाम खुलाउन नचाहने एक सहयोगदाताले प्युठान नगरपालिका-१० स्थित श्री जनता नेरा प्राथमिक विद्यालय,छेपानेका विद्यार्थीहरूका लागि उपलब्ध गराएको शैक्षिक सामग्री नगर प्रवक्ता सुमनराज श्रेष्ठमार्फत हस्तान्तरण गर्ने कार्यक्रममा बोल्दै वडा अध्यक्ष के.सि.ले श्रेष्ठले जनप्रतिनिधिका रूपमा निर्वाह गर्नुभएको भूमिका अनुकरणीय रहेको बताउनुभयो।
उहाँले विगतमा आएको भिषण बाढीका कारण वडा नम्बर .९ र १० का विभिन्न क्षेत्र क्षतिग्रस्त भई आवतजावतसमेत अवरुद्ध भएको कठिन समयमा नगर प्रवक्ता श्रेष्ठले देखाएको सहकार्य र मानवीय संवेदनाको विशेष स्मरण गर्नुभयो।
उहाँले भन्नुभयो,"त्यो कठिन समयमा आफ्नो वडाको लागि छुट्याइएको बजेट समेत आवश्यक परे बाढीबाट प्रभावित वडा ९ र १० मा खर्च गर्न तयार रहेको उहाँको अभिव्यक्ति आज पनि हाम्रो स्मृतिमा ताजै छ। यस्तो सोच एउटा वडाको मात्र होइन,समग्र नगरपालिकाको हितलाई केन्द्रमा राख्ने नेतृत्वको परिचय हो।"
वडा अध्यक्ष के.सि.ले सुमनराज श्रेष्ठले आफ्नो वडामा मात्र सीमित नभई समग्र प्युठान नगरपालिकाको विकास,सुशासन,सेवा प्रवाह,पारदर्शिता र जनउत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उल्लेख गर्नुभयो। उहाँका सकारात्मक पहल,सिर्जनात्मक सोच र नागरिकमैत्री कार्यशैलीका कारण जनविश्वास थप बलियो बनेको उहाँको भनाई थियो।
उहाँले थप भन्नुभयो,"असल काम गर्ने व्यक्तिको खुलेर प्रशंसा गर्न सक्ने संस्कार नै असल नेतृत्वको पहिचान हो। जनप्रतिनिधिहरूबीच सहकार्य,आपसी सम्मान र विकासप्रतिको साझा प्रतिबद्धताले स्थानीय सरकारलाई अझ प्रभावकारी,उत्तरदायी र नागरिकमैत्री बनाउँछ। सुमनराज श्रेष्ठका कार्यहरू हामी सबै जनप्रतिनिधिका लागि प्रेरणाका विषय बनेका छन्।"
कार्यक्रममा वडा अध्यक्ष के.सि.ले आगामी दिनमा पनि नगर प्रवक्ता तथा वडा अध्यक्ष सुमनराज श्रेष्ठको नेतृत्वमा यस्तै जनमुखी,पारदर्शी र परिणाममुखी कार्यहरूले निरन्तरता पाउने विश्वास व्यक्त गर्दै सफल कार्ययात्राको शुभकामना व्यक्त गर्नुभयो।
प्रतिक्रिया राख्नुहोस्