मजुवामा ४० लिटर घरेलु मदिरा नष्ट,सामाजिक विकृतिविरुद्ध प्रहरीको सक्रियता

मजुवामा ४० लिटर घरेलु मदिरा नष्ट,सामाजिक विकृतिविरुद्ध प्रहरीको सक्रियता

राम बहादुर विश्वकर्मा
प्युठान,सामाजिक विकृति नियन्त्रणका लागि प्रहरीको सक्रियता बढ्दै गएको छ।समुदायमा शान्ति,सुरक्षा र सामाजिक अनुशासन कायम राख्ने उद्देश्यले प्युठान नगरपालिका मजुवा क्षेत्रमा घरेलु मदिरा नष्ट गरिएको छ।मरन्ठाना प्रहरी चौकीको आयोजनामा प्युठान नगरपालिका वडा नम्बर -९ मरन्ठना मजुवा क्षेत्रमा जनप्रतिनिधि तथा स्थानीयवासीको रोहवरमा ४० लिटर घरेलु मदिरा नष्ट गरिएको हो।चौकी इन्चार्ज राम बहादुर आले मगरका अनुसार स्थानीयस्तरमा उत्पादन तथा बिक्री-वितरण हुने घरेलु मदिराको प्रयोगले सामाजिक विकृति बढाउन सक्ने भएकाले यसको नियन्त्रणका लागि प्रहरी सक्रिय रहेको छ।

 मरन्ठाना प्रहरी चौकिको सक्रियता,जनप्रतिनिधि,स्थानीय र स्थानीयहरुको रोहवरमा ४० लिटर घरेलु मदिरा नष्ट गर्दै  


उनले घरेलु मदिराको उत्पादन,बिक्री-वितरण तथा सेवन नियन्त्रणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भन्दै जनप्रतिनिधि,स्थानीयवासी तथा समुदायको सहकार्य आवश्यक रहेको बताउनुभयो।स्थानीयस्तरमा सहजै उपलब्ध हुने घरेलु मदिराका कारण पारिवारिक कलह,झैझगडा,आर्थिक समस्या तथा स्वास्थ्यमा समेत असर पर्न सक्ने भएकाले यसको दुरुपयोग नियन्त्रणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने उहाँको भनाई छ।
जनप्रतिनिधि तथा स्थानीयवासीको रोहवरमा गरिएको मदिरा नष्ट गर्ने कार्यले प्रहरी र समुदायबीचको सहकार्यलाई समेत थप बलियो बनाएको छ।सामाजिक विकृति नियन्त्रणका लागि कारबाहीसँगै निरन्तर सचेतना र समुदायको सक्रिय सहभागिता आवश्यक देखिएको छ।