राम बहादुर विश्वकर्मा
प्युठान,प्युठान नगरपालिकाको सभाहलमा नागरिकका प्रश्नहरू गुञ्जिए।विकास निर्माणदेखि सेवा प्रवाहसम्मका विषयमा नागरिकले जिज्ञासा राखे। जनप्रतिनिधि र कर्मचारीहरू अगाडि बसेर ती प्रश्नको जवाफ दिइरहेका थिए।विषय सामान्य थिएनन् सडक निर्माणका क्रममा क्षति पुगेका सिँचाइ कुलो,अनुदानमा आधारित कार्यक्रमको प्रभावकारिता,निर्माण भएका योजनाको दिगोपन र नगरपालिकाबाट प्रवाह हुने सेवाको गुणस्तर।
यो दृश्य थियो प्युठान नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका विकास निर्माण,सेवा प्रवाह तथा समग्र गतिविधिबारे नागरिकलाई जानकारी गराउँदै आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमको।
वर्षभरि नगरपालिकाले गरेका काम,हासिल गरेका उपलब्धि,बजेट कार्यान्वयनको अवस्था तथा सेवा प्रवाहबारे जानकारी गराइएपछि सहभागी नागरिकहरूले आफ्ना प्रश्न,सुझाव र जिज्ञासा राखे।नागरिकका प्रश्नले नगरपालिकाको कार्यसम्पादनलाई कठघरामा उभ्याएनन्,बरु स्थानीय सरकारलाई अझ जिम्मेवार र जवाफदेही बन्ने अवसर प्रदान गरे।
कार्यक्रममा नगर प्रमुख विष्णुबहादुर योगी,उपप्रमुख देवेन्द्र वर्मा,प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल,स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेलगायत कर्मचारीहरूले नागरिकका प्रश्नहरूको जवाफ दिएका थिए।
सार्वजनिक सुनुवाइमा सडक निर्माणका क्रममा क्षति पुगेका सिँचाइ कुलोको मर्मत,अनुदानमा आधारित कार्यक्रमको प्रभावकारी अनुगमन तथा नगरपालिकामार्फत निर्माण भएका योजनाहरूको सही र दिगो उपयोगका लागि उपभोक्तालाई जिम्मेवार बनाउने विषयमा प्रतिबद्धता व्यक्त गरिएको छ।
नगर प्रमुख विष्णुबहादुर योगीले नागरिकले गर्ने प्रश्न र राख्ने जिज्ञासाले सरकारलाई जवाफदेही बनाउने बताए।उनका अनुसार प्रश्न गर्नु लोकतन्त्रको सुन्दर पक्ष हो।सरकारका कामप्रति नागरिकले प्रश्न गर्न पाउनुपर्ने र प्रश्नबाट भाग्न नहुने उनको भनाइ थियो।
“जिज्ञासा र प्रश्नहरूले सरकारलाई जवाफदेही बनाउँछन्।यस्ता स्वरूप लोकतन्त्रका सुन्दर स्वरूप हुन्,”नगर प्रमुख योगीले भने।
उनले नगरपालिकाको समग्र विकासका लागि जनप्रतिनिधि मात्र नभई कर्मचारी संयन्त्र पनि सक्षम हुनुपर्नेमा जोड दिए।स्थानीय सरकारका हरेक गतिविधिमा नागरिकको चासो,सहभागिता र निगरानी आवश्यक रहेको उनको भनाई थियो।
उपप्रमुख देवेन्द्र वर्माले वडा तहमा सञ्चालन भएका विकास निर्माण तथा अन्य गतिविधिको अनुगमन स्थानीय नागरिकले नै गर्नुपर्ने बताए।स्थानीय नागरिक नै विकासका प्रत्यक्ष लाभग्राही भएकाले योजनाको गुणस्तर र दिगोपनका लागि उनीहरूको निगरानी महत्वपूर्ण हुने उनको भनाई थियो।
सार्वजनिक सुनुवाइमा नागरिकको प्रतिनिधिका रूपमा उपस्थित भएर आफ्ना प्रश्न,सुझाव र जिज्ञासा राख्ने सहभागीहरूलाई उनले धन्यवाद समेत दिए।
सार्वजनिक सुनुवाइ केवल औपचारिक कार्यक्रम होइन। यो स्थानीय सरकार र नागरिकबीचको प्रत्यक्ष संवादको माध्यम हो।जहाँ नागरिकले आफ्ना प्रश्न राख्छन्,सरकारले जवाफ दिन्छ र आगामी कार्यदिशाबारे प्रतिबद्धता व्यक्त गर्छ।
प्युठान नगरपालिकामा सम्पन्न सार्वजनिक सुनुवाइले पनि यही सन्देश दिएको छ विकास केवल बजेट खर्च गरेर सम्पन्न हुने प्रक्रिया होइन,त्यसको गुणस्तर,उपयोगिता र दिगोपनप्रति नागरिकको निगरानी पनि उत्तिकै आवश्यक हुन्छ।
नागरिकले प्रश्न गर्ने वातावरण र सरकारले जवाफ दिने संस्कार बलियो बन्दै गएमा स्थानीय लोकतन्त्र अझ सुदृढ हुँदै जानेछ।
नेपाल पत्रकार महासंघ प्युठान शाखाले सहजीकरण गरेको उक्त कार्यक्रममा १० वटै वडा वडा अध्यक्ष,बिध्यालयका प्र.अ,कर्मचारी नगरबासी लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन पत्रकार बिजयसिंह भारतीले गरेका थिए।
प्रतिक्रिया राख्नुहोस्