राम बहादुर विश्वकर्मा
प्युठान,आर्थिक वर्षको अन्त्यसँगै प्युठान नगरपालिकाले समग्र वित्तीय प्रगतिमा ८५.५ प्रतिशत खर्च गरेको छ। चालु खर्चतर्फ ८९ प्रतिशत र पुँजीगत खर्चतर्फ ७५.५ प्रतिशत बजेट कार्यान्वयन भएको तथ्यांकले नगरपालिकाले नियमित सेवा प्रवाहलाई प्राथमिकता दिएको देखाउँछ भने विकास निर्माणका केही योजनामा अपेक्षाअनुसार प्रगति हुन नसकेको संकेत पनि गर्छ।
स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा वित्तीय प्रगति महत्वपूर्ण सूचक मानिन्छ।बजेट विनियोजन मात्रै पर्याप्त हुँदैन,त्यसको प्रभावकारी कार्यान्वयनले नै नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउँछ। यही दृष्टिले हेर्दा प्युठान नगरपालिकाको समग्र वित्तीय प्रगति सन्तोषजनक देखिन्छ।
चालु खर्च ८९ प्रतिशत पुग्नुले शिक्षा,स्वास्थ्य,कृषि,सामाजिक सुरक्षा, कर्मचारी व्यवस्थापन,विपद् व्यवस्थापन तथा दैनिक प्रशासनिक सेवा प्रभावकारी रूपमा सञ्चालन भएको बुझिन्छ। नियमित सेवा अवरुद्ध हुन नदिन नगरपालिकाले आवश्यक बजेट परिचालन गरेको देखिन्छ।
यता पुँजीगत खर्च ७५.५ प्रतिशतमा सीमित हुनु भने विकास निर्माण क्षेत्रमा अझै सुधारको आवश्यकता रहेको संकेत हो। सडक,खानेपानी,सिंचाइ, विद्यालय भवन,स्वास्थ्य चौकी,सामुदायिक भवन तथा अन्य पूर्वाधार निर्माणका केही योजना समयमै सम्पन्न हुन नसक्दा विनियोजित बजेट पूर्ण रूपमा खर्च हुन सकेन।
प्युठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले पुँजीगत खर्च अपेक्षाकृत कम हुनुका पछाडि विभिन्न व्यावहारिक कारण रहेको बताउनुभयो। उहाँका अनुसार निर्माण सामग्रीको मूल्यमा भएको निरन्तर वृद्धिले केही निर्माण व्यवसायीले सम्झौताअनुसारको काम समयमै अघि बढाउन सकेनन्। त्यसैगरी,बेलुवा-बाग्दुला सडक खण्डमा सडक विस्तारका क्रममा पर्ने घरटहरा हटाउने विषयमा स्थानीयवासीको अवरोधका कारण काम केही समय रोकिएको थियो।
यस्तै,निर्माणस्थलमा रहेका विद्युत्का पोल समयमै स्थानान्तरण हुन नसक्दा पनि सडक निर्माणले गति लिन सकेन। नेपाल विद्युत् प्राधिकरणबाट आवश्यक समन्वय र पोल सार्ने कार्य ढिलो हुँदा निर्माण व्यवसायीले धेरै स्थानमा काम अघि बढाउन कठिनाइ भोग्नुपरेको प्रमुख प्रशासकीय अधिकृत भुसालले बताउनुभयो।
उहाँका अनुसार यी कारणले केही योजनाको भुक्तानी प्रक्रिया समेत प्रभावित भई पुँजीगत खर्च ७५.५ प्रतिशतमा सीमित रह्यो। तथापि,अधिकांश योजनाको भौतिक प्रगति सन्तोषजनक रहेको र बाँकी काम आगामी आर्थिक वर्षको सुरुआतमै सम्पन्न गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो।
भुसालले आगामी आर्थिक वर्षमा योजना कार्यान्वयनअघि नै आवश्यक समन्वयलाई प्रभावकारी बनाउने,निर्माणस्थलका अवरोध समयमै समाधान गर्ने,सार्वजनिक निकायबीच सहकार्य बढाउने र निर्माण व्यवसायीलाई तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न थप जवाफदेही बनाइने बताउनुभयो। यसबाट पुँजीगत खर्चसँगै विकास आयोजनाको गुणस्तर र प्रभावकारितामा समेत सुधार आउने विश्वास नगरपालिकाले लिएको छ।
प्रतिक्रिया राख्नुहोस्