शैक्षिक उत्कृष्टताको नयाँ अध्याय लेख्ने मुक्ति माविका सूत्रधार सम्मानित

शैक्षिक उत्कृष्टताको नयाँ अध्याय लेख्ने मुक्ति माविका सूत्रधार सम्मानित

राम बहादुर विश्वकर्मा
प्युठान,हरेक उत्कृष्ट नतिजाको पछाडि अनगिन्ती दिनको मेहनत,योजनाबद्ध शिक्षण,निरन्तर अभ्यास र समर्पित शिक्षकहरूको अथक प्रयास लुकेको हुन्छ।विद्यार्थीले प्राप्त गर्ने सफलता शिक्षकको जिम्मेवारी,अभिभावकको विश्वास र विद्यालय व्यवस्थापनको सहकार्यको साझा प्रतिफल हो।यही साझा प्रयासको कदर गर्दै २०८२ सालको एसइई तथा कक्षा १२ को परीक्षामा जिल्ला प्रथम बन्न सफल विद्यालयका प्रधानाध्यापक दामोदर बिष्ट र सम्पूर्ण विषय शिक्षकहरूलाई विद्यालय व्यवस्थापन समितिले सम्मान तथा बधाई ज्ञापन गरेको छ।
विद्यालय सभा हलमा आयोजित कार्यक्रममा सफलतालाई केवल नतिजाको अंकसँग होइन,विद्यालयले निर्माण गरेको शैक्षिक संस्कृतिसँग जोडेर हेरिएको थियो।वक्ताहरूले गुणस्तरीय शिक्षा दिन शिक्षकहरूले देखाएको समर्पण,विद्यार्थीहरूसँगको निरन्तर संवाद,नियमित मूल्याङ्कन र अनुशासित शैक्षिक वातावरणले विद्यालयलाई जिल्लाकै उत्कृष्ट स्थानमा पुर्‍याएको बताए।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले सम्मान कुनै औपचारिकता मात्र नभई उत्कृष्ट कार्यको कदर र आगामी यात्राका लागि थप उर्जा प्रदान गर्ने प्रयास भएको उल्लेख गरे।उनीहरूका अनुसार विद्यालयले हासिल गरेको यो सफलता सम्पूर्ण समुदायका लागि गर्वको विषय बनेको छ।


सम्मान ग्रहण गर्दै प्रधानाध्यापक दामोदर बिष्टले यो उपलब्धि एक्लो नेतृत्वको परिणाम नभई सम्पूर्ण शिक्षक,विद्यार्थी,अभिभावक र विद्यालय व्यवस्थापन समितिको संयुक्त प्रयासको प्रतिफल भएको बताए।

उनले आगामी दिनमा पनि सिकाइको गुणस्तरलाई अझ प्रभावकारी बनाउँदै विद्यालयलाई उत्कृष्टताको नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा सहभागी शिक्षकहरूले सम्मानले जिम्मेवारी अझ बढाएको महसुस भएको भन्दै आगामी वर्षहरूमा पनि विद्यार्थीको सिकाई उपलब्धि अझ सुदृढ बनाउन नवीन शिक्षण पद्धति,नियमित परामर्श र अतिरिक्त शैक्षिक गतिविधिलाई निरन्तरता दिने बताएका थिए।
उत्कृष्ट नतिजा कुनै अन्तिम गन्तव्य होइन,अझ राम्रो भविष्यतर्फको नयाँ सुरुआत हो।विद्यालय व्यवस्थापन समितिले गरेको यो सम्मानले उत्कृष्ट कार्यको मूल्यांकन गर्ने संस्कृतिलाई बलियो बनाएको छ। यसले शिक्षकहरूलाई थप उत्साहित गर्ने मात्र होइन,विद्यार्थीहरूमा पनि मेहनत,अनुशासन र उत्कृष्टताको भावना विकास गर्न प्रेरणा दिने विश्वास गरिएको छ।
बिहिवार सम्पन्न उक्त कार्यक्रममा बिध्यालय ब्यबस्थापन समिति,शिक्षक अभिभावक संघका अध्यक्ष अध्यक्ष लेख बहादुर बिष्ट,शिक्षक शिक्षिका लगायतको उपस्थिति रहेको थियो।