राम बहादुर विश्वकर्मा
प्युठान"मानिस ठूलो जातले होइन,उसको सोच,कर्म र चरित्रले हुन्छ।" यो भनाइलाई व्यवहारमा उतार्ने प्रयासस्वरूप प्युठानको नौबहिनी गाउँपालिकाले जातीय भेदभाव तथा छुवाछूत विरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेको छ।कानुनले छुवाछूतलाई अपराध घोषणा गरेको एक दशकभन्दा बढी समय बितिसक्दा पनि समाजका कतिपय क्षेत्रमा विभेदका घटना दोहोरिरहेकाले यस्ता कार्यक्रमको आवश्यकता अझ बढेको देखिन्छ।
नेपालको संविधानले सबै नागरिकलाई समान अधिकारको प्रत्याभूति गरेको छ। जात,धर्म,लिङ्ग,भाषा वा समुदायका आधारमा कुनै पनि प्रकारको विभेद गर्न नपाइने स्पष्ट व्यवस्था छ। तर व्यवहारमा अझै पनि दलित समुदायमाथि सार्वजनिक स्थल,धार्मिक गतिविधि,सामाजिक सम्बन्ध,विवाह तथा दैनिक जीवनका विभिन्न क्षेत्रमा विभेद हुने गरेको यथार्थ लुकाउन सकिँदैन।यस्ता घटनाले व्यक्तिको आत्मसम्मानमा गहिरो चोट पुर्याउनुका साथै सामाजिक एकता र विकास प्रक्रियामा समेत नकारात्मक असर पारिरहेको छ।
यसै सन्दर्भमा नौबहिनी गाउँपालिकाको आयोजनामा,जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय तथा राष्ट्रिय दलित पत्रकार संघ,प्युठानको समन्वयमा आयोजित कार्यक्रममा कानुनी व्यवस्था,मानव अधिकार,सामाजिक उत्तरदायित्व तथा विभेदविरुद्ध नागरिकको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा सहभागी जनप्रतिनिधि,कर्मचारी,सुरक्षा निकाय,पत्रकार,शिक्षक,विद्यार्थी तथा स्थानीय नागरिकले विभेदमुक्त समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रम पस्चात स्थानीयहरु र सम्पुर्ण सरोकारवाला पक्षहरु बिचको सामुहिक तस्बिर
कार्यक्रमका वक्ताहरूले छुवाछूत केवल कानुनी विषय नभई सामाजिक चेतना र संस्कारसँग जोडिएको समस्या भएको बताए। उनीहरूले विद्यालय,परिवार र समुदायबाटै समानता,सम्मान र सहअस्तित्वको शिक्षा दिनुपर्नेमा जोड दिए। विभेद सहनु र विभेद गर्नु दुवै गलत भएकाले अन्याय देख्दा आवाज उठाउने संस्कार विकास गर्नुपर्ने उनीहरूको भनाई थियो।
दलित समुदायलाई अवसर,सम्मान र नेतृत्वमा समान पहुँच दिलाउन राज्यका निकाय,स्थानीय सरकार,सञ्चार माध्यम तथा नागरिक समाजबीच प्रभावकारी सहकार्य आवश्यक रहेको कार्यक्रममा औँल्याइएको थियो।विशेषगरी युवा पुस्तालाई जातीय विभेदविरुद्ध सकारात्मक अभियानमा जोड्न सके समाजमा दीर्घकालीन परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नौबहिनी गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले भन्नुभयो,"यस कार्यक्रमको उद्देश्य केवल एउटा औपचारिक कार्यक्रम सम्पन्न गर्नु होइन,नागरिकको सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु हो।संविधानले सुनिश्चित गरेको समानता,सामाजिक न्याय र मानव अधिकारलाई व्यवहारमा स्थापित गर्दै जातीय विभेद तथा छुवाछूतमुक्त समाज निर्माण गर्नु आजको आवश्यकता हो।जबसम्म प्रत्येक नागरिकले अर्को नागरिकलाई समान सम्मानका साथ व्यवहार गर्न सिक्दैन,तबसम्म विभेदको अन्त्य सम्भव हुँदैन। त्यसैले सचेतना,शिक्षा र सामूहिक प्रतिबद्धतामार्फत समानता र मानवताको संस्कार स्थापित गर्न सबैले हातेमालो गर्नुपर्छ।नौबहिनी गाउँपालिका यस अभियानमा सदैव अग्रसर रहनेछ।"
राष्ट्रिय दलित पत्रकार संघ,प्युठानका अध्यक्ष कमल बि.क.ले नौबहिनी गाउँपालिकाले जातीय भेदभाव तथा छुवाछूतविरुद्ध सञ्चालन गरेको सचेतनामूलक अभियान अत्यन्तै प्रशंसनीय र समयसापेक्ष रहेको बताउनुभयो। उहाँले यस्ता अभियानले समाजमा समानता, सामाजिक न्याय र मानव अधिकारप्रति सकारात्मक चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले जातीय विभेद तथा छुवाछूतविरुद्धको अभियान कुनै एक दिनको कार्यक्रमले मात्र सफल नहुने उल्लेख गर्दै निरन्तर जनचेतना,शिक्षा र सामाजिक प्रतिबद्धताको आवश्यकता औँल्याउनुभयो।उहाँले भन्नुभयो,"नेपालको संविधानले सबै नागरिकलाई समान अधिकार दिएको छ,तर व्यवहारमा त्यसको पूर्ण अनुभूति अझै हुन सकेको छैन।जातीय विभेद अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै समाजको सोच र व्यवहारमा परिवर्तन आउनुपर्छ। सञ्चार माध्यम,स्थानीय सरकार, विद्यालय,नागरिक समाज र आम नागरिक सबैले साझा जिम्मेवारीका साथ समानताको अभियानलाई अघि बढाउनुपर्छ। मानवताको मूल्यभन्दा माथि कुनै जात वा समुदाय हुन सक्दैन।"उहाँले थप भन्नुभयो।
प्रतिक्रिया राख्नुहोस्