गणतान्त्रिक खेलमैदान विस्तारका लागि सरकारी मूल्यमै जग्गा उपलब्ध गराईन सरस्वती शाह  

गणतान्त्रिक खेलमैदान विस्तारका लागि सरकारी मूल्यमै जग्गा उपलब्ध गराईन सरस्वती शाह  

राम बहादुर विश्वकर्मा
प्युठान,समाजमा धेरैले जग्गालाई भविष्यको सम्पत्ति मान्छन्। त्यसैले आवश्यक परे पनि बजार मूल्यभन्दा कममा जग्गा दिन धेरैले रुचाउँदैनन्। तर प्यूठान नगरपालिका-४ कार्किडाँडाकी ६७ वर्षीया सरस्वती शाहले व्यक्तिगत लाभभन्दा सार्वजनिक हितलाई प्राथमिकता दिँदै एउटा उदाहरणीय निर्णय गरेकी छन्।
बिजुवारस्थित जिल्लाकै सबैभन्दा ठूलो गणतान्त्रिक खेलमैदानको बीच भागमा रहेको आफ्नो ७०९.४५ वर्गमिटर (१ रोपनी ६ आना १ पैसा ०.५६ दाम) जग्गा उनले सरकारी दररेटमै प्यूठान नगरपालिकालाई उपलब्ध गराएकी छन्।यो निर्णयले खेलमैदानलाई थप व्यवस्थित र दीर्घकालीन रूपमा संरक्षण गर्न महत्वपूर्ण आधार तयार गरेको छ।
मालपोत कार्यालय प्यूठानले निर्धारण गरेको न्यूनतम सरकारी मूल्यअनुसार नगरपालिकाले उक्त जग्गाबापत ३ लाख ४८ हजार ६ सय ४३ रुपैयाँ भुक्तानी गरेको छ। शाहले सोही दिन मालपोत कार्यालयमार्फत जग्गा विधिवत रूपमा प्यूठान नगरपालिकाको नाममा पास गरिदिएकी हुन्।
उनको योगदानको सम्मानस्वरूप आयोजित कार्यक्रममा नगर प्रमुख विष्णु योगी,नगर प्रवक्ता सुमनराज श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल तथा लेखा अधिकृत बसन्त गिरीले संयुक्त रूपमा सम्मान गर्दै ३ लाख ४८ हजार ६ सय ४३ रुपैयाँको चेक हस्तान्तरण गरेका थिए। कार्यक्रममा शाहप्रति कृतज्ञता व्यक्त गर्दै नगर प्रमुख विष्णु योगीले सरस्वती शाहले देखाएको सहयोग विकासप्रतिको नागरिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण भएको बताउनुभयो।
उहाँले भन्नुभयो, "गणतान्त्रिक खेलमैदान प्यूठानको मात्र होइन,समग्र जिल्लाको गौरव हो। सार्वजनिक हितलाई प्राथमिकतामा राखेर सरकारी दररेटमै आफ्नो बहुमूल्य जग्गा उपलब्ध गराउनु भएकी सरस्वती शाहप्रति प्यूठान नगरपालिका हार्दिक आभार व्यक्त गर्दछ।उहाँको यो योगदानले खेलमैदानको दीर्घकालीन संरक्षण,विस्तार र स्तरोन्नतिमा ठूलो टेवा पुग्नेछ। यस्ता उदाहरणीय कार्यले समाजमा विकासप्रतिको सकारात्मक सोच र नागरिक सहभागितालाई अझ बलियो बनाउने विश्वास लिएको छु।"उहाँले आगामी दिनमा गणतान्त्रिक खेलमैदानलाई थप व्यवस्थित, सुविधासम्पन्न र जिल्लाको गौरवका रूपमा विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको समेत बताउनुभयो।
खेलकुद पूर्वाधार विकासमा स्थानीय नागरिकको यस्तो सहयोगले समुदाय र स्थानीय सरकारबीचको सहकार्यलाई अझ बलियो बनाउने विश्वास गरिएको छ। एउटा नागरिकको सकारात्मक निर्णयले भविष्यमा हजारौँ खेलाडीका सपना र सम्भावनालाई थप फराकिलो बनाउने अपेक्षा गरिएको छ।
सरस्वती शाहको यो योगदान केवल जग्गा हस्तान्तरणमा सीमित छैन यो सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी,सामाजिक उत्तरदायित्व र भावी पुस्ताप्रतिको समर्पणको प्रेरणादायी उदाहरण बनेको छ।