वीरेन्द्रकालीन खानेपानी योजनाको संरक्षण गर्दै प्यूठान नगरपालिका

वीरेन्द्रकालीन खानेपानी योजनाको संरक्षण गर्दै प्यूठान नगरपालिका


प्यार अलि खान 
प्यूठान, तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहदेवबाट वि.सं. २०५१ सालमा उद्घाटन गरिएको कोचेरे खानेपानी योजनाको ऐतिहासिक शिलालेखलाई संरक्षण गर्दै प्यूठान नगरपालिकाले जीर्ण बनेको योजनाको पुनर्निर्माण तथा स्तरोन्नति गरेको छ। बस्ती विस्तार र उपभोक्ताको संख्या बढ्दै गएपछि योजनाको सेवा क्षेत्र विस्तार गर्दै आधुनिक प्रविधिसहित पूर्वाधार सुधार गरिएको हो।
प्यूठान नगरपालिका–६ स्थित उक्त आयोजनाको पुनर्निर्माणमा करिब ८५ लाख रुपैयाँ खर्च गरिएको छ। आयोजनाबाट साविक माझकोट गाविसका वडा नं. ७, ४, ३, २ र १ तथा साविक विजुवार गाविसको ताकिचौर क्षेत्रका २६५ घरधुरी लाभान्वित भएका छन्।
करिब तीन दशकअघि निर्माण भएको उक्त योजना निरन्तर सञ्चालनमै रहे पनि समयसँगै संरचना जीर्ण बन्दै गएको थियो। बस्ती विस्तार र जनसंख्या वृद्धि भएसँगै खानेपानीको माग बढेपछि नगरपालिकाले योजनाको पुनर्निर्माण, सेवा क्षेत्र विस्तार तथा प्राविधिक स्तरोन्नति गरेको हो।
नगर प्रमुख विष्णु योगीका अनुसार, कोचेरे खानेपानी योजना प्यूठानको खानेपानी विकाससँग जोडिएको ऐतिहासिक आयोजना भएकाले यसको शिलालेखलाई संरक्षण गर्दै पुनर्निर्माण गरिएको हो। विकाससँगै ऐतिहासिक धरोहरको संरक्षणलाई पनि उत्तिकै महत्व दिँदै नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु नगरपालिकाको प्राथमिकता रहेको उनले बताए।
उप-प्रमुख देवेन्द्र बर्माका अनुसार, योजना सञ्चालनमै रहे पनि संरचना जीर्ण बन्दै गएको र बस्ती विस्तारसँगै खानेपानीको माग बढेकाले यसको सेवा क्षेत्र विस्तार तथा प्राविधिक स्तरोन्नति गरिएको हो। आयोजनाअन्तर्गत ४ वटा नयाँ पानी ट्यांकी निर्माण, ३ किलोमिटर नयाँ पाइपलाइन विस्तार तथा विकट ३५ घरधुरीमा लिफ्ट प्रविधिमार्फत खानेपानी सेवा उपलब्ध गराइएको उनले जानकारी दिए।
पुनर्निर्माणका क्रममा तत्कालीन उद्घाटनको ऐतिहासिक शिलालेखलाई यथावत् संरक्षण गरिएको छ। पुरानो योजनाको ऐतिहासिक पहिचान जोगाउँदै समयअनुकूल पूर्वाधार विस्तार र प्रविधि सुधार गरिएको यो पहलले विकाससँगै ऐतिहासिक धरोहर संरक्षणलाई पनि सँगसँगै अघि बढाउन सकिने सन्देश दिएको छ।