राम बहादुर विश्वकर्मा
प्युठान,सफलता कहिल्यै संयोगले प्राप्त हुँदैन त्यसका लागि सपना देख्ने आँट,निरन्तर मेहनत गर्ने बानी र चुनौतीलाई अवसरमा बदल्ने साहस आवश्यक पर्छ। यिनै गुणलाई जीवनको आधार बनाउँदै बिजुवार स्थित राप्ती इलेक्ट्रिकल्स एण्ड मेसिनरी हाउसका सञ्चालक रामप्रसाद पोख्रेल आज प्युठानका सफल युवा व्यवसायीका रूपमा परिचित बनेका छन्।
इलेक्ट्रिकल व्यवसायमा विश्वासको ब्रान्ड बनेका पोख्रेल
मल्लरानी गाउँपालिका-३,चौरपानीमा जन्मिएका पोख्रेलको जीवन यात्रा संघर्ष,सिकाइ र आत्मविश्वासको प्रेरणादायी कथा हो।सामान्य पारिवारिक परिवेशमा हुर्किएका उनले सानैदेखि आत्मनिर्भर बन्ने सपना बोकेका थिए।
गाउँमा सीमित अवसर देखेपछि २०६२ सालमा एसएलसी उत्तीर्ण गरी उच्च शिक्षा र उज्ज्वल भविष्यको खोजीमा दाङ पुगे।दाङ स्थित एसियन टेक्निकल कलेजबाट इलेक्ट्रिकल इन्जिनियरिङमा डिप्लोमा अध्ययन पूरा गरेपछि उनले तीन वर्ष सोही कलेजमा अध्यापन गरे। शिक्षकका रूपमा धेरै विद्यार्थीलाई प्राविधिक सीप सिकाए पनि उनको मन आफ्नै व्यवसाय स्थापना गर्ने लक्ष्यतर्फ केन्द्रित थियो।
त्यसपछि उनले विभिन्न सरकारी तथा गैरसरकारी संस्थामार्फत सञ्चालन भएका सीप विकास तथा उद्यमशीलता कार्यक्रमहरूमा समन्वयकर्ताका रूपमा लामो समय काम गरे। देशका विभिन्न स्थानमा पुगेर काम गर्ने क्रममा उनले बजारको अवस्था,उद्यमका सम्भावना र व्यवसाय सञ्चालनका व्यावहारिक पक्ष नजिकबाट बुझ्ने अवसर पाए।यही अनुभवले उनलाई जागिरभन्दा आफ्नै व्यवसाय नै भविष्यको सही बाटो भएको विश्वास दिलायो।
"मैले अध्ययन गरेको कलेज नजिकै एउटा सानो इलेक्ट्रिकल पसल थियो। त्यहाँ ग्राहकप्रतिको विश्वास र व्यवसाय सञ्चालनको शैली देख्दा मलाई पनि आफ्नै व्यवसाय सुरु गर्ने प्रेरणा मिल्यो," पोख्रेल सम्झिन्छन्।
त्यही प्रेरणालाई व्यवहारमा उतार्दै उनले २०६९ सालमा न्यून लगानीबाट बिजुवारमा राप्ती इलेक्ट्रिकल्स एन्ड मेसिनरी हाउस स्थापना गरे। सुरुवाती दिनहरू सहज थिएनन्। सीमित पूँजी,नयाँ बजार र ग्राहकको विश्वास जित्ने चुनौती उनका अगाडि थिए। तर गुणस्तरीय सामग्री,इमानदार सेवा र निरन्तर मेहनतका कारण उनले विस्तारै बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भए।आज राप्ती इलेक्ट्रिकल्स प्युठानमा मात्र सीमित छैन। रोल्पा,गुल्मी,अर्घाखाँची,दाङलगायत छिमेकी जिल्लाका सेवाग्राहीका लागि पनि यो विश्वासिलो गन्तव्य बनेको छ। घर निर्माण,उद्योग,कार्यालय तथा विभिन्न विकास आयोजनाका लागि आवश्यक विद्युतीय सामग्री र प्राविधिक सेवा उपलब्ध गराउँदै व्यवसायलाई निरन्तर विस्तार गरिरहेको छ।
व्यवसायिक सफलतासँगै पोख्रेल नीतिगत सुधारको आवश्यकता पनि औँल्याउँछन्।उनका अनुसार व्यवसायीमैत्री वातावरण अभाव हुँदा इमानदार व्यवसायीहरू अनावश्यक समस्यामा पर्ने गरेका छन्।
"एउटै सामान बजारमा फरक-फरक मूल्यमा बिक्री भइरहेको छ। सरकारले निश्चित नाफा सीमाको व्यवस्था गरी स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुपर्छ।अहिले बजार धेरै हदसम्म अव्यवस्थित छ,"उनी भन्छन्।
उनले आफ्नो व्यवसायबाट राज्यलाई वार्षिक करिब ६ लाख रुपैयाँ कर बुझाउँदै आएका छन्। कर तिर्नु व्यवसायीको दायित्व भए पनि कर प्रणालीलाई सरल, पारदर्शी र व्यवहारिक बनाउनुपर्ने उनको धारणा छ।
"राज्यलाई कर तिर्नु हाम्रो जिम्मेवारी हो।तर एउटै व्यवसायमा दोहोरो-तेहोरो करको भारले व्यवसायीलाई निरुत्साहित बनाएको छ। सरकारले करको दायरा मात्र बढाउने होइन,कर प्रणालीलाई पनि न्यायपूर्ण र सहज बनाउनुपर्छ," उनी भन्छन्।पोख्रेलका अनुसार व्यवसायमा सफलता प्राप्त गर्न ठूलो लगानीभन्दा ठूलो सोच,सीप,इमानदारी र धैर्य आवश्यक हुन्छ। उनी युवालाई विदेशतर्फ मात्र आकर्षित नहुन आग्रह गर्दै आफ्नै गाउँ र जिल्लामा रहेका सम्भावनालाई उपयोग गर्न प्रेरित गर्छन्।"सीप सिक्ने,मेहनत गर्ने र हार नमान्ने हो भने नेपालमै पनि सफल हुन सकिन्छ। सुरुआत कठिन हुन्छ,तर निरन्तर प्रयासले सफलता अवश्य प्राप्त हुन्छ,"उनको विश्वास छ।
रामप्रसाद पोख्रेलको जीवन यात्रा एउटा सफल व्यवसायीको कथा मात्र होइन,संघर्षलाई अवसरमा बदल्ने दृढ इच्छाशक्ति,मेहनत र आत्मविश्वासको प्रेरणादायी उदाहरण पनि हो। उनले प्रमाणित गरेका छन्-सही सोच,सीप,इमानदार सेवा र निरन्तर प्रयास भए सानो लगानीबाट पनि ठूलो सफलता हासिल गर्न सकिन्छ।
प्रतिक्रिया राख्नुहोस्