व्यवहारले जितेको मन,गुणस्तरले कमाएको विश्वास : पुन बाख्रा फार्मको सफलताको कथा

व्यवहारले जितेको मन,गुणस्तरले कमाएको विश्वास : पुन बाख्रा फार्मको सफलताको कथा

राम बहादुर विश्वकर्मा
प्युठान,"दाइ,अलिकति करङ पनि मिसाइदिनुस्...", "मलाई त पछाडिको मासु चाहिएको छ...", "बच्चाका लागि नरम मासु दिनुस्..."।
बिहानैदेखि यस्ता आग्रहहरू सुनिँदै गर्दा यान्क पुन मुस्कुराउँदै प्रत्येक ग्राहकको चाहना पूरा गर्न व्यस्त हुन्छन्। कसैलाई हतार छ,कसैले पालो कुरिरहेको छ,तर कसैप्रति पनि उनको व्यवहार फरक हुँदैन।

 


कसैलाई हड्डीसहितको मासु चाहिन्छ,कसैलाई सफा बोनलेस,कसैलाई करङ,फिला वा कलेजी।ग्राहकले जे चाहन्छन्,सकेसम्म त्यही उपलब्ध गराउने प्रयास गरिन्छ। यही कारण धेरै ग्राहकले,"एकपटक यहाँबाट मासु लगेपछि फेरि अर्को पसल जान मन लाग्दैन,"भन्ने प्रतिक्रिया दिने गरेका छन्।

 

 

प्युठान नगरपालिका-४ स्थित पुन बाख्रा फार्मद्वारा सञ्चालित खसिमासु पसलमा दैनिक देखिने यो दृश्यले एउटा कुरा स्पष्ट पार्छ-व्यवसायमा सफलता केवल सामान बेचेर होइन,विश्वास जितेर प्राप्त हुन्छ।विगत केही वर्षदेखि सञ्चालनमा रहेको यो पसलले गुणस्तरीय खसिमासु,उचित मूल्य र आत्मीय सेवाका कारण छुट्टै पहिचान बनाएको छ।बिहानदेखि साँझसम्म ग्राहकको निरन्तर आवतजावत भइरहन्छ।कतिपय ग्राहक त पालो कुर्दै पनि यही पसलबाट मासु लैजान रुचाउँछन्।उनीहरूका अनुसार यहाँ तौलमा पारदर्शिता छ,मासु सधैं ताजा हुन्छ र आफूले रोजेको भाग छानेर लैजान सकिने सुविधाले उनीहरूलाई सन्तुष्टि दिएको छ।यस व्यवसायका सञ्चालक यान्क पुन र उनका सहोदर भाइका लागि ग्राहक भगवान् सरह हुन्। उनीहरू ग्राहकसँग गर्ने सम्मानजनक व्यवहारलाई व्यवसायको सबैभन्दा ठूलो लगानी मान्छन्। उनीहरू भन्छन्,"हामीले राम्रो व्यवहार गर्‍यौँ भने ग्राहक फेरि आउँछन्, अरूलाई पनि यही पसलको सिफारिस गर्छन्।"

पसलमा बिक्री हुने अधिकांश खसीबोका आफ्नै फार्ममा हुर्काइएका हुन्छन्।त्यसबाहेक आसपासका गाउँका किसानले पालेका अर्गानिक खसीबोका पनि खरिद गरिन्छ। यसले स्थानीय किसानलाई नियमित बजार उपलब्ध गराएको छ। किसानले उत्पादनको उचित मूल्य पाएका छन् भने उपभोक्ताले ताजा,स्थानीय र गुणस्तरीय मासु उपभोग गर्न पाएका छन्। यसबाट स्थानीय अर्थतन्त्रको चक्र पनि चलायमान बनेको छ।
यान्क पुनका अनुसार धेरै किसानले बजार नपाएर समस्या भोग्ने गरेका थिए।त्यसैले आवश्यक पर्दा गाउँमै पुगेर खसीबोका खरिद गर्ने र न्यूनतम शुल्कमा काटिदिने सेवा पनि सञ्चालन गरिएको छ। यसबाट किसानको समय, खर्च र श्रम तीनैको बचत भएको छ।दैनिक दुईदेखि चारवटा खसी काटिने भए पनि माग भने त्यसभन्दा धेरै हुने गरेको उनी बताउँछन्। विशेषगरी दसैं-तिहार,तीज,विवाह तथा अन्य सामाजिक कार्यक्रमका बेला ग्राहकको चाप निकै बढ्छ।"मागअनुसार सधैं मासु उपलब्ध गराउन चुनौती हुन्छ," उनी भन्छन्,"तर गुणस्तरमा सम्झौता गरेर धेरै बेच्नुभन्दा राम्रो र भरपर्दो मासु उपलब्ध गराउनु नै हाम्रो प्राथमिकता हो।"
उनीहरूको अर्को विशेषता भनेको सरसफाइप्रतिको विशेष ध्यान हो। मासु काट्ने स्थानदेखि बिक्री कक्षसम्म सफाइलाई प्राथमिकता दिइन्छ।तौल,मूल्य र गुणस्तरमा पारदर्शिता कायम राख्ने प्रयासले पनि ग्राहकको विश्वास अझ बलियो बनाएको छ।
आज व्यवसायमा प्रतिस्पर्धा तीव्र छ। तर पुन बाख्रा फार्मले महँगा विज्ञापनभन्दा ग्राहकको सन्तुष्टिलाई नै आफ्नो प्रचारको माध्यम बनाएको छ।एक जना सन्तुष्ट ग्राहकले अर्को ग्राहक आफैं लिएर आउने विश्वासका साथ उनीहरू निरन्तर सेवा विस्तारमा लागेका छन्।स्थानीय स्रोत,स्थानीय उत्पादन र स्थानीय श्रमलाई जोडेर अघि बढेको यो व्यवसायले ग्रामीण उद्यमशीलताको सफल नमुना प्रस्तुत गरेको छ। यसले युवालाई आफ्नै ठाउँमा बसेर पनि इमानदार मेहनत, गुणस्तरीय सेवा र ग्राहकप्रतिको सम्मानका आधारमा सफल व्यवसाय गर्न सकिन्छ भन्ने प्रेरणा दिएको छ।
आज पुन बाख्रा फार्म एउटा मासु पसल मात्र होइन,ग्राहकको विश्वास,किसानको भरपर्दो बजार र स्थानीय उद्यमशीलताको सशक्त उदाहरण बनेको छ। पसल बाहिर देखिने दैनिक भीड केवल मासु किन्न आएका मानिसहरूको भीड होइन,त्यो गुणस्तर,विश्वास र आत्मीय व्यवहारप्रतिको सम्मानको प्रतिबिम्ब हो।