आर्थिक अभावबीच जटिल प्रसूति: दुई शिशु गुमाइन् विष्णु वि.क ले

आर्थिक अभावबीच जटिल प्रसूति: दुई शिशु गुमाइन् विष्णु वि.क ले

प्युठान,गुल्मीको मदाने गाउँपालिका-५ की २४ वर्षीया विष्णु विकले शनिबार एकैपटक चार शिशुलाई जन्म दिएकी छन्। घर,बाटो र अस्पताल गरी फरक-फरक स्थानमा भएको यो प्रसूति घटनाले उनको जीवनलाई एकैछिनमा खुशी र शोक दुवै अनुभव दिलाएको छ।
बिहान घरमै पहिलो शिशुको जन्म भएको थियो। अवस्था जटिल बन्दै गएपछि अस्पताल लैजाने क्रममा बाटोमै दोस्रो शिशुको जन्म भयो। त्यसपछि प्युठान अस्पताल विजुवारमा उपचारका क्रममा थप दुई शिशुको जन्म भएको हो।
तर चारमध्ये घर र बाटोमा जन्मिएका दुई छोरीलाई बचाउन सकिएन।अस्पतालमा जन्मिएका दुई छोरी भने चिकित्सकको निगरानीमा सामान्य अवस्थामा छन्।
प्युठान अस्पताल विकास समितिका अध्यक्ष रोयल कृष्ण (कृष्ण बसेल)का अनुसार समयमै स्वास्थ्य संस्थामा पुग्न सकिएको भए जोखिम केही कम हुन सक्थ्यो। तर आर्थिक अवस्था र निरन्तर उपचारको अभावले अवस्था जटिल बनेको हो।
तीन दिनअघि बुटवलमा गरिएको जाँचमा गर्भमा चार शिशु रहेको पुष्टि भएको थियो। तर लामो समय अस्पतालमा बस्ने आर्थिक क्षमता नभएकाले परिवार घर फर्कन बाध्य भएको पीडितकी दिदी सिर्जना विकले बताइन्।
विष्णुका श्रीमान् रोजगारीका लागि भारतको सिम्लामा मजदुरी गर्छन्। घरमा पहिले नै ८ र ६ वर्षका दुई छोरी रहेका छन्। सीमित आम्दानी र स्वास्थ्य सेवामा पहुँचको कमीले यो प्रसूति अझ चुनौतीपूर्ण बनेको परिवारको भनाई छ।
पीडितकी आमा पार्वती विकले छोरीको अवस्था अहिले स्थिर रहेको बताउँदै भनिन्,“छोरीको ज्यान ठीक छ,त्यही ठूलो कुरा भयो।”
स्थानीय तह मदाने गाउँपालिका र जिल्ला अस्पताल प्युठानले आवश्यक उपचार र सहयोग उपलब्ध गराउने बताएका छन्। यो घटना केवल एक प्रसूति मात्र होइन,ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच,आर्थिक असमानता र आपतकालीन सेवाको कमजोर पहुँचलाई उजागर गर्ने संवेदनशील उदाहरण बनेको छ।