प्युठान नगरपालिका : सीपसँगै प्रविधि पाए महिला उद्यमी,स्वरोजगारतर्फ थप हौसला

प्युठान नगरपालिका : सीपसँगै प्रविधि पाए महिला उद्यमी,स्वरोजगारतर्फ थप हौसला

राम बहादुर विश्वकर्मा
प्युठान,गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत प्युठान नगरपालिकाको वडा नम्बर ६ मा सहभागी महिला उद्यमीलाई प्रविधि तथा उपकरण हस्तान्तरण गरिएको छ। उद्यमशीलता प्रवर्द्धन गर्दै महिलाको आयआर्जन वृद्धि र आर्थिक सशक्तीकरण गर्ने उद्देश्यले ६ वटा सिलाई मेसिन र ३ वटा माहुरीका घार वितरण गरिएको हो।
आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठको अध्यक्षता र नगर प्रमुख विष्णु बहादुर योगीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख योगीले प्राप्त सीप र उपकरणलाई उत्पादनसँग जोड्दै व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो। उहाँले सरकारी सहयोगलाई अवसरका रूपमा उपयोग गरी आफ्नै गाउँघरमा रोजगारी सिर्जना गर्न सके आर्थिक समृद्धिको आधार बलियो हुने बताउनुभयो। उद्यमशील नागरिक निर्माण नै स्थानीय सरकारको प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै उहाँले सफल उद्यमी बन्न निरन्तर मेहनत,अनुशासन र बजारको मागअनुसार उत्पादनमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो।
नगर प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजक सुमनराज श्रेष्ठले महिलाको काँधमा घरपरिवारको जिम्मेवारी बढी भए पनि समय व्यवस्थापन गर्दै सीप सिकेर उद्यममा जोडिनु प्रेरणादायी विषय भएको बताउनुभयो।उहाँले पालिकाले उद्यमीलाई आवश्यक परामर्श,सहजीकरण तथा सम्भव भएसम्म सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै व्यवसायलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
आर्थिक विकास शाखा प्रमुख चन्द्र बहादुर जी.सि.को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता शारदा विश्वकर्माले गर्नुभएको थियो।
उद्यम विकास सहजकर्ता शारदा विश्वकर्माका अनुसार चालु आर्थिक वर्षमा मेड्पा अन्तर्गत उद्यमशीलता विकास,सीपमूलक तालिम,प्रविधि हस्तान्तरण,बजारीकरण तथा वित्तीय पहुँचसँग सम्बन्धित सबै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएका छन्। ती कार्यक्रमबाट स्थानीय महिलाले सीप,प्रविधि र व्यवसाय सञ्चालनसम्बन्धी ज्ञान प्राप्त गरी स्वरोजगारतर्फ अग्रसर हुने वातावरण बनेको उहाँले बताउनुभयो।
नगरपालिकाले मेड्पा कार्यक्रममार्फत विपन्न तथा बेरोजगार महिलालाई सीप,प्रविधि र आवश्यक उपकरण उपलब्ध गराई आयआर्जनका अवसर सिर्जना गर्दै आएको छ।यस्ता कार्यक्रमले स्थानीय स्रोत-साधनको उपयोग,घरेलु तथा साना उद्योगको विस्तार,रोजगारी सिर्जना र महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।