मध्यराति प्युठानमा प्रहरी अपरेसन,जुवातास खेल्दै ११ जना रंगेहात पक्राउ

मध्यराति प्युठानमा प्रहरी अपरेसन,जुवातास खेल्दै ११ जना रंगेहात पक्राउ

राम बहादुर विश्वकर्मा
प्युठान,जिल्ला प्रहरी कार्यालय प्युठानले अवैध जुवा नियन्त्रण अभियानलाई तीव्रता दिँदै स्वर्गद्वारी नगरपालिका-४ बाझीपुरस्थित मुनलाईट होटलमा छापा मारेर जुवातास खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ। कारबाहीका क्रममा नगदसहित जुवा खेल्न प्रयोग गरिएका ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २०८३ असार १९ गते राति करिब ११ बजे होटलको दोस्रो तलाको एक कोठामा पैसाको हारजित हुने गरी जुवातास खेलिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक गणेश ज्ञवालीको नेतृत्वमा टोली परिचालन गरिएको थियो।प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी होटलमा छापा मार्दा ११ जना जुवातास खेलिरहेको अवस्थामा फेला परेका थिए।
छापामार कारबाहीका क्रममा १ लाख ८५ हजार १ सय १२ नगद,२३ थान नखोलिएका तासका गड्डी र १ थान प्रयोगमा रहेको तासको गड्डी बरामद गरिएको छ। बरामद गरिएका नगद तथा सामग्रीलाई प्रमाणका रूपमा सुरक्षित राखी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई असार २० गते जिल्ला प्रहरी कार्यालय प्युठानको हिरासतमा राखिएको छ।उनीहरूमाथि जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको र अनुसन्धान सम्पन्न भएपछि प्रचलित कानुनअनुसार मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
जिल्लामा पछिल्लो समय होटल,लज तथा अन्य सार्वजनिक स्थलहरूमा हुने अवैध गतिविधिमाथि प्रहरीले निगरानी बढाएको छ। समाजमा शान्ति-सुरक्षा कायम राख्न तथा कानुनको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न यस्ता गतिविधिविरुद्ध विशेष अभियान सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले जुवा जस्ता अवैध गतिविधिले आर्थिक, सामाजिक तथा पारिवारिक समस्या निम्त्याउने भएकाले त्यस्ता कार्यमा संलग्न नहुन तथा यस्ता गतिविधिबारे विश्वसनीय सूचना उपलब्ध गराएर कानुन कार्यान्वयनमा सहयोग गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।