सुशासनको सन्देश : अपाङ्गता परिचयपत्र लिएर घरमै पुगे अध्यक्ष

राम बहादुर विश्वकर्मा
प्युठान,राज्यको उपस्थिति केवल सिंहदरबार,मन्त्रालय वा सरकारी कार्यालयमा मात्र होइन,नागरिकको दुःख-सुखमा पनि महसुस हुनुपर्छ। विशेषगरी आफ्नो शरीरले साथ नदिएका,बोल्न नसक्ने,हिँडडुल गर्न नसक्ने र दैनिक जीवनका सामान्य कामका लागि समेत अरूको सहारामा निर्भर नागरिकका लागि सरकारी सेवा प्राप्त गर्नु आफैंमा एउटा कठिन यात्रा हुन्छ। यस्तै अवस्थामा स्थानीय सरकारले देखाएको संवेदनशीलताले राज्यप्रतिको विश्वासलाई अझ बलियो बनाउँछ।
सरूमारानी गाउँपालिका-३,हंशपुरका कुल बहादुर गुरुङ अहिले जीवनको अत्यन्त कठिन मोडमा छन्।उच्च रक्तचापका कारण उनको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।उनी स्पष्ट रूपमा बोल्न सक्दैनन्,बोलाएको राम्ररी सुन्न सक्दैनन्,शरीर उठाएर हिँड्नसमेत असमर्थ छन्। घरबाहिर निस्कन सक्ने अवस्था नभएकाले सामान्य प्रशासनिक सेवा लिन पनि उनी परिवारकै भर पर्नुपर्ने अवस्था छ।
यही वास्तविकतालाई बुझ्दै सरूमारानी गाउँपालिकाले सेवाग्राहीलाई कार्यालयसम्म बोलाउने परम्पराभन्दा फरक अभ्यास गर्‍यो। गाउँपालिका अध्यक्ष बिहिवार स्वयं गुरुङको घरमा पुगे र उनलाई 'क' वर्गको अपाङ्गता परिचयपत्र हस्तान्तरण गरे।यो दृश्य एउटा औपचारिक कार्यक्रम मात्र थिएन,बरु स्थानीय सरकार नागरिकको पीडासँगै उभिएको मानवीय क्षण थियो।
अपाङ्गता परिचयपत्र केवल एउटा कागज होइन। यसले अपाङ्गता भएका व्यक्तिलाई कानुनी पहिचान दिलाउँछ,सामाजिक सुरक्षा,उपचार, सहुलियत र राज्यबाट प्रदान गरिने विभिन्न सेवामा पहुँच सुनिश्चित गर्ने आधार तयार गर्छ।त्यसैले यस्तो परिचयपत्र समयमै उपलब्ध गराउनु उनीहरूको अधिकारसँग प्रत्यक्ष जोडिएको विषय हो।
अझ महत्त्वपूर्ण कुरा,कार्यालय पुग्न नसक्ने अवस्थाका नागरिकलाई सेवा लिन बाध्य पार्नु न्यायसंगत हुँदैन। यस्ता नागरिकसम्म सेवा नै पुग्नु नै सुशासनको मर्म हो। सरूमारानी गाउँपालिकाले अपनाएको यही अभ्यासले स्थानीय सरकारको संवेदनशीलता,उत्तरदायित्व र नागरिकप्रतिको सम्मानलाई उजागर गरेको छ।गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले स्थानीय सरकारको उद्देश्य नागरिकलाई कार्यालय धाउन बाध्य पार्नु नभई सेवा नागरिकको घरदैलोमै पुर्‍याउनु रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, "स्वास्थ्य अवस्था जटिल भएका,अशक्त तथा अपाङ्गता भएका नागरिकका लागि कार्यालयसम्म पुग्नु नै ठूलो चुनौती हुन्छ। त्यस्ता नागरिकलाई राज्यले दिने सेवा उनीहरूको पहुँचसम्म पुर्‍याउनु हाम्रो जिम्मेवारी हो। कुलबहादुर गुरुङ ज्यू को घरमै पुगेर अपाङ्गता परिचयपत्र हस्तान्तरण गर्नु पनि यही जिम्मेवारीको एउटा उदाहरण हो।"
उहाँले अपाङ्गता भएका व्यक्तिको अधिकारको संरक्षण, सामाजिक सुरक्षामा सहज पहुँच तथा सम्मानपूर्वक जीवनयापनका लागि गाउँपालिका निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै भविष्यमा पनि घरमै पुगेर सेवा प्रवाह गर्ने कार्यलाई थप प्रभावकारी बनाइने बताउनुभयो। उहाँका अनुसार स्थानीय सरकारको सफलता कार्यालयमा आउने सेवाग्राहीको सङ्ख्याले होइन, सेवा आवश्यक पर्ने नागरिकसम्म सहज रूपमा पुग्न सक्ने क्षमताले मापन हुनुपर्छ।
उक्त अबसरमा प्रशासन शाखा प्रमुख लक्ष्मण आचार्य,कार्यपालिका सदस्य आशा खड्काथोकी महिला तथा बालबालिका शाखाकी सहायक निरीक्षक अन्जु भाट लगायत कर्मचारीहरूको सहभागिता रहेको थियो।