राम बहादुर विश्वकर्मा
प्युठान,प्युठान नगरपालिकाको वडा नम्बर ९ ले वडाको ऐतिहासिक,धार्मिक,प्राकृतिक तथा सांस्कृतिक पहिचानलाई दृश्यात्मक रूपमा प्रस्तुत गर्ने उद्देश्यले वडा कार्यालयको बाहिरी पर्खालमा आकर्षक सूचना भित्तेचित्र निर्माण गरेको छ। भित्तेचित्रले स्थानीय सम्पदा,विकासका पूर्वाधार तथा पर्यटनका सम्भावनालाई एकै स्थानबाट चिनाउने काम गरेको छ।
करिब पूरै पर्खाल ओगट्ने गरी निर्माण गरिएको भित्तेचित्रमा वडा कार्यालय भवन,वडाको नक्सा, प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल,हरियालीले भरिएको प्राकृतिक वातावरण,कृषि उत्पादन क्षेत्र, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका स्थानहरू समेटिएका छन्। चित्रहरूलाई व्यवस्थित ढंगले राखिएकाले वडा क्षेत्रमा आउने जो-कोहीले वडाको समग्र परिचय सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले विकाससँगै स्थानीय पहिचानको संरक्षण र प्रवर्द्धन पनि उत्तिकै आवश्यक रहेको भन्दै वडा कार्यालयले यो अभियान अघि बढाएको जनाएको छ। पछिल्लो समय सार्वजनिक संरचनालाई कलात्मक र सूचनामूलक बनाउने अभ्यास बढ्दै गएको अवस्थामा वडा नम्बर ९ को यो प्रयासलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्।
वडा अध्यक्ष विकास के.सि. ले भित्तेचित्र केवल पर्खाल सजाउने काम नभई वडाको इतिहास, पहिचान र सम्भावनालाई भावी पुस्तासम्म पुर्याउने माध्यम भएको बताउनुभयो।
उहाँले भन्नुभयो, "वडा नम्बर ९ प्राकृतिक,धार्मिक र सांस्कृतिक दृष्टिले निकै सम्भावना बोकेको क्षेत्र हो। तर ती सम्पदाबारे सबैलाई जानकारी नहुन सक्छ। त्यसैले वडाको पहिचान झल्किने महत्वपूर्ण स्थल,विकासका उपलब्धि र प्राकृतिक सम्पदालाई चित्रमार्फत प्रस्तुत गरेका छौं।यसले स्थानीयलाई आफ्नै ठाउँप्रति गर्व गर्ने वातावरण बनाउनुका साथै बाहिरबाट आउने आगन्तुकलाई पनि हाम्रो वडाको परिचय गराउने विश्वास लिएका छौं।"
उहाँले आगामी दिनमा वडाभित्रका पर्यटकीय स्थलहरूको थप प्रवर्द्धन,सार्वजनिक स्थलहरूको सौन्दर्यीकरण,हरियाली संरक्षण तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी पनि दिनुभयो।
"पर्यटन विकास केवल पूर्वाधार निर्माणले मात्र सम्भव हुँदैन,त्यसका लागि आफ्नो ठाउँको पहिचानलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न पनि आवश्यक हुन्छ। यही सोचका साथ हामीले सूचना भित्तेचित्र निर्माण गरेका हौं।यसले वडाको सकारात्मक छवि निर्माण गर्नुका साथै पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छौं," अध्यक्ष के.सि.ले थप्नुभयो।
स्थानीय बासिन्दाले पनि वडा कार्यालयको यस पहलको प्रशंसा गर्दै यस्ता रचनात्मक कामले सार्वजनिक सम्पत्तिको संरक्षण,स्थानीय कला-संस्कृतिको प्रवर्द्धन र नयाँ पुस्तामा आफ्नो गाउँ - ठाउँप्रतिको अपनत्व बढाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै यस्ता आकर्षक संरचनाले वडाको प्रचारप्रसारमा समेत महत्वपूर्ण योगदान पुर्याउनेछ।
स्थानीय तहको विकास केवल सडक,भवन र पूर्वाधार निर्माणमा सीमित नरही स्थानीय पहिचान,संस्कृति र सम्पदाको संरक्षणसँग जोडिनुपर्ने सन्देश वडा नम्बर ९ को यस भित्तेचित्रले दिएको छ। यसलाई वडाको पहिचान झल्काउने एउटा दीर्घकालीन र सिर्जनात्मक अभियानका रूपमा हेरिएको छ।
प्रतिक्रिया राख्नुहोस्