मेड्पा कार्यक्रम : उत्पादनदेखि बजारसम्म उद्यमीको साथमा प्युठान नगरपालिका

मेड्पा कार्यक्रम : उत्पादनदेखि बजारसम्म उद्यमीको साथमा प्युठान नगरपालिका

राम बहादुर विश्वकर्मा
प्युठान,प्युठान नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत उद्यमीहरूको उत्पादनलाई बजारसँग जोड्ने र वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले बजारीकरण तथा लघु कर्जा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। चालु आर्थिक वर्ष अन्तर्गत मेड मोडेलको अन्तिम चरणको कार्यक्रम बिजुवारमा आयोजना गरिएको हो।
स्थानीय स्तरमा सीप सिकेर उद्यम सञ्चालन गरिरहेका तथा नयाँ उद्यम सुरु गर्न इच्छुक सहभागीहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा उत्पादनको गुणस्तर अभिवृद्धि, ब्रान्डिङ,प्याकेजिङ,बजार व्यवस्थापन,ग्राहकको मागअनुसार उत्पादन तथा लघु कर्जाको प्रभावकारी उपयोगका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रम आर्थिक विकास समितिका सदस्य तथा वडा नम्बर २ का वडा अध्यक्ष मोहन सिंह बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो भने नगर उपप्रमुख देवेन्द्र वर्मा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख वर्माले नगरपालिकाले सञ्चालन गर्दै आएको उद्यमशीलता विकास कार्यक्रमले स्थानीय स्तरमा स्वरोजगार सिर्जना गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो। चार वर्षको अवधिमा पालिकाबाट सञ्चालन भएका विभिन्न सीप विकास तालिममार्फत सयौं नागरिक उद्यमशीलतामा आबद्ध भई आत्मनिर्भर बन्न सफल भएको उहाँको भनाई थियो।
उहाँले सीप सिकेर मात्र हुँदैन उद्यमलाई व्यवसायमा रूपान्तरण गर्न आवश्यक रहेको उल्लेख गर्दै वडा नम्बर ७ मा टपरी उत्पादन तालिम प्राप्त उद्यमीहरूलाई नमुना व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो। उनीहरूले उत्पादन गरेका सामग्रीको बजारीकरणमा नगरपालिकाले आवश्यक सहजीकरण गर्ने र स्थानीय उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले उद्यमीले उत्पादन गरेको वस्तुले उचित मूल्य र बजार पाएमा मात्रै उद्यम दिगो बन्ने बताउनुभयो। त्यसका लागि स्थानीय सरकार, सहकारी संस्था र वित्तीय संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाइने उहाँले जानकारी दिनुभयो।त्यस्तै वडा नं. ९ का वडा अध्यक्ष विकास के.सि.ले देशको अर्थतन्त्र सुधारका लागि लघु उद्यम क्षेत्रको विकास अत्यावश्यक रहेको बताउनुभयो।उहाँका अनुसार स्थानीय स्रोत,सीप र सम्भावनाको उपयोग गर्दै लघु उद्यमलाई विस्तार गर्न सके रोजगारी सिर्जना हुनुका साथै आयआर्जन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्नेछ। 
कार्यक्रममा विजय फूलवारी सहकारी संस्थाका म्यानेजर प्रकाश बैद्यले लघु कर्जाको प्रक्रिया,कर्जा प्राप्तिका आधार,लगानी व्यवस्थापन,बचतको महत्त्व तथा व्यवसाय विस्तारमा वित्तीय संस्थाको भूमिकाबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले सही योजनासहित कर्जाको सदुपयोग गर्न सके साना उद्यमलाई दिगो व्यवसायमा रूपान्तरण गर्न सकिने धारणा राख्नुभयो।
त्यसैगरी उद्यम विकास विज्ञ इश्वरा आचार्यले स्थानीय उत्पादनको बजारीकरण,ब्रान्ड विकास,प्याकेजिङ,मूल्य निर्धारण,डिजिटल माध्यमबाट व्यापार प्रवर्द्धन तथा ग्राहकको विश्वास कायम गर्ने उपायका विषयमा सहजीकरण गर्नुभयो। उहाँले गुणस्तरीय उत्पादनसँगै प्रभावकारी प्रचारप्रसार र बजार अध्ययन आवश्यक रहेको बताउनुभयो।
अन्तरक्रियामा सहभागी उद्यमीहरूले उत्पादन बिक्रीमा देखिएका चुनौती,बजार विस्तार,कर्जामा पहुँच तथा व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका अनुभवहरू प्रस्तुत गरेका थिए। सहभागीहरूको जिज्ञासाको प्रशिक्षक तथा अतिथिहरूले समाधानमुखी सुझाव दिनुभएको थियो।
नगरपालिकाले उद्यमशीलतालाई दिगो रोजगारी र आयआर्जनसँग जोड्ने लक्ष्यसहित आगामी दिनमा पनि सीप विकास,वित्तीय पहुँच,बजारीकरण तथा व्यवसाय प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। कार्यक्रमबाट स्थानीय उद्यमीहरूको क्षमता अभिवृद्धि हुनुका साथै उत्पादनलाई प्रतिस्पर्धी बजारसँग जोड्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ।उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सन्चालन आर्थिक बिकास शाखा प्रमुख चन्द्र जि.सि ले गर्नुभएको कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य,कार्यपालिका सदस्य तथा उद्यमिहरुको उपस्थिति रहेको थियो।