राम बहादुर बिष्ट
प्युठान,शिक्षा क्षेत्रलाई गुणस्तरीय र प्रभावकारी बनाउने यात्रामा समर्पित नेतृत्वको पहिचान गर्दै प्युठान नगरपालिकाले २०८२ सालको “उत्कृष्ट प्रधानाध्यापक”को सम्मान मुक्ति माध्यमिक विद्यालय,रातामाटाका प्रधानाध्यापक दामोदर बिष्टलाई प्रदान गरेको छ।
विद्यालयलाई शैक्षिक उपलब्धि,अनुशासन र गुणस्तर सुधारको दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका बिष्टलाई आईतबार प्युठान नगरपालिकाको आयोजनामा सम्पन्न विद्यालय,विद्यार्थी तथा शिक्षक सम्मान कार्यक्रममा विशेष रूपमा सम्मान गरिएको हो।
कार्यक्रममा उहाँलाई दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।शिक्षण व्यवस्थापन,विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा विद्यालयको समग्र शैक्षिक वातावरण सुधारमा देखाएको सक्रियता र नेतृत्व क्षमताका कारण उहाँलाई यो सम्मान प्रदान गरिएको बताइएको छ।
विद्यालय तहमा नेतृत्वको भूमिका अत्यन्तै महत्वपूर्ण मानिन्छ। प्रधानाध्यापकको दूरदृष्टि, व्यवस्थापकीय क्षमता र शिक्षक-विद्यार्थीबीचको समन्वयले नै विद्यालयको समग्र उन्नति सम्भव हुन्छ भन्ने उदाहरण दामोदर बिष्टको नेतृत्वमा मुक्ति माध्यमिक विद्यालयले प्रस्तुत गरेको छ।
सम्मान प्राप्त गरेपछि प्रतिक्रिया दिँदै प्रधानाध्यापक दामोदर बिष्टले यो उपलब्धिलाई व्यक्तिगत सफलता नभई सम्पूर्ण विद्यालय परिवारको सामूहिक प्रयासको परिणाम भएको बताउनुभयो। उहाँले भन्नुभयो,“यो सम्मान मेरो एक्लो मेहनतको होइन,सम्पूर्ण शिक्षक,विद्यार्थी,अभिभावक र विद्यालय व्यवस्थापन समितिको साझा प्रयासको परिणाम हो।अझ राम्रो शिक्षा दिन र विद्यालयलाई नमुना बनाउन यो सम्मानले थप जिम्मेवारी थपिएको महसुस भएको छ।”विद्यालयको शैक्षिक उन्नति, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा विषयगत शिक्षणलाई प्रभावकारी बनाउन पुर्याउनुभएको निरन्तर प्रयास र समर्पणको उच्च मूल्यांकन गर्दै नगरपालिकाले ३ सय ४४ जना शिक्षक शिक्षिकालाई सम्मान गरिएको हो।
नगरपालिकाले यस्ता उत्कृष्ट शैक्षिक नेतृत्वलाई प्रोत्साहन गर्दै आगामी दिनमा समेत शिक्षाको गुणस्तर सुधारका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यस प्रकारका सम्मानले शिक्षक र विद्यालय नेतृत्वलाई अझ जिम्मेवार र प्रेरित बनाउने विश्वास लिइएको छ।
शिक्षा केवल ज्ञान हस्तान्तरणको माध्यम मात्र नभई समृद्ध भविष्य निर्माणको आधार हो भन्ने सन्देशसहित सम्पन्न उक्त कार्यक्रमले स्थानीय तहमा शैक्षिक उत्कृष्टतालाई संस्थागत गर्ने प्रयासलाई थप बल पुर्याएको छ।
प्रतिक्रिया राख्नुहोस्