राम बहादुर बिश्वकर्मा
प्युठान,पत्रकारहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रभावकारी तथा जिम्मेवार प्रयोगबारे जानकारी गराउने उद्देश्यले आयोजित पत्रकार क्षमता विकास कार्यक्रम शनिबार जुम्रीमा सम्पन्न भएको छ।
लुम्बिनी प्रदेश सरकार,आन्तरिक मामिला तथा कानुन मन्त्रालय,राप्ती उपत्यका (देउखुरी) को आयोजना तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानको समन्वयमा आयोजित कार्यक्रममा जिल्लाभरका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो।
मन्त्रालयका वरिष्ठ उपसचिव सुरेशचन्द्र आचार्यको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकारितामा एआई प्रविधिको प्रयोग,अवसर,तथ्य परीक्षण तथा डिजिटल सामग्री उत्पादनसम्म एआईले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षक प्रवास बरालले एआईलाई पत्रकारको विकल्प नभई सहयोगी उपकरणका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अहिरले सूचना तथा सञ्चार क्षेत्र तीव्र गतिमा प्रविधिमैत्री बन्दै गइरहेको उल्लेख गर्दै पत्रकारहरूले समयअनुकूल नयाँ प्रविधिको ज्ञान हासिल गर्नुपर्ने बताउनुभयो। उहाँले एआईलाई पत्रकारिताको गुणस्तर वृद्धि गर्ने महत्वपूर्ण उपकरणका रूपमा उपयोग गर्न सकिने भए पनि यसको प्रयोग गर्दा सत्यता,विश्वसनीयता र पत्रकारिताको आचारसंहितालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
उहाँले संघीय सरकारले सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने विषयमा पर्याप्त ध्यान नदिएकोप्रति दुःख व्यक्त गर्दै यस सम्बन्धमा लुम्बिनी प्रदेश सरकारमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, प्रदेशको सञ्चारसम्बन्धी कार्यविधिमा देखिएका केही त्रुटिहरू सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक संशोधन गरिने आश्वासन पनि दिनुभयो।प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले भ्युज र डलर कमाउने उद्देश्यले प्रसारण तथा प्रकाशन गरिने गैरजिम्मेवार सामग्रीले समाजमा नकारात्मक प्रभाव पारिरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। सञ्चार क्षेत्र समाज रूपान्तरणको प्रभावकारी माध्यम भएकाले पत्रकारहरूले व्यावसायिक नैतिकता,सत्यतथ्य र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उहाँको भनाइ थियो। उहाँले योग्य,क्षमतावान र जिम्मेवार पत्रकार नै समाजका मार्गदर्शक बन्न सक्ने उल्लेख गर्दै प्रविधिको विकाससँगै आफूलाई पनि निरन्तर अद्यावधिक गर्न आवश्यक रहेको धारणा राख्नुभयो।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष श्रीराम भण्डारीले सञ्चार क्षेत्रमा तीव्र गतिमा भइरहेको प्रविधिगत विकाससँगै पत्रकारहरूलाई समयानुकूल अद्यावधिक गराउन यस्ता क्षमता विकास कार्यक्रम अत्यन्त प्रभावकारी हुने बताउनुभयो। उहाँले पत्रकारको क्षमता विकास,लोककल्याणकारी विज्ञापनको सुनिश्चितता तथा सञ्चार क्षेत्रको सुदृढीकरणका लागि स्थानीय तहहरूले पनि आवश्यक पहल गर्नुपर्ने भन्दै प्रदेश सरकारमार्फत त्यसतर्फ विशेष ध्यान दिन आग्रह गर्नुभयो।
सहभागी पत्रकारहरूले यस्ता तालिमले आफ्नो व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका सम्पादक,संवाददाता तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले आगामी दिनमा पनि यस्ता प्रविधिमैत्री तथा व्यवहारिक क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।
प्रतिक्रिया राख्नुहोस्