सेवामुखी नेतृत्वको उदाहरण बने विकास सुनार,सेमराका १७२ विद्यार्थिले पाए निःशुल्क दन्त सेवा

सेवामुखी नेतृत्वको उदाहरण बने विकास सुनार,सेमराका १७२ विद्यार्थिले पाए निःशुल्क दन्त सेवा

राम बहादुर विश्वकर्मा
रुपन्देही,विद्यालय तहबाटै मुख तथा दन्त स्वास्थ्यप्रति सचेतना जगाउने उद्देश्यले लियो क्लब अफ रुपन्देही भलवारीले सञ्चालन गरेको निःशुल्क दन्त परीक्षण शिविरबाट १७२ जना विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। ग्रामीण क्षेत्रका विद्यार्थीलाई विद्यालयमै विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध गराउँदै स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्ने लक्ष्यका साथ आयोजित शिविरले विद्यार्थी,शिक्षक तथा अभिभावकमाझ उत्साह थपेको छ।
लियो क्लब अफ रुपन्देही भलवारीको आयोजनामा,लायन्स क्लब अफ रुपन्देहीको सह-आयोजनामा तथा दि डेन्टल एरा,भलवारीको प्राविधिक सहयोगमा शुक्रबार श्री सेमरा बजार माध्यमिक विद्यालय,सेमरामा सम्पन्न शिविरमा विद्यार्थीहरूको दाँत तथा मुखको स्वास्थ्य परीक्षण गरिएको थियो।
शिविरमा दि डेन्टल एराका चिकित्सक तथा प्राविधिक टोलीले विद्यार्थीहरूको दन्त परीक्षण गर्नुका साथै दाँत कसरी सफा गर्ने,दन्त रोगबाट कसरी बच्ने, नियमित दन्त परीक्षण किन आवश्यक हुन्छ र मुखको सरसफाइलाई दैनिक जीवनशैलीसँग कसरी जोड्ने भन्ने विषयमा व्यवहारिक स्वास्थ्य शिक्षा प्रदान गरेका थिए। परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका विद्यार्थीलाई समयमै उपचारका लागि आवश्यक परामर्शसमेत दिइएको थियो।
विशेषज्ञहरूका अनुसार बाल्यकालमै दाँतको उचित हेरचाह गर्ने बानी बसाल्न सके भविष्यमा हुने अधिकांश दन्त समस्याबाट बच्न सकिन्छ। त्यसैले विद्यालय केन्द्रित यस्ता स्वास्थ्य शिविरले उपचारभन्दा पनि रोकथाम र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
कार्यक्रमका अध्यक्ष तथा लियो क्लब अफ रुपन्देही भलवारीका अध्यक्ष लियो विकास सुनारले सामाजिक सेवाको सुरुआत सचेतनाबाट हुने बताउँदै विद्यालय केन्द्रित स्वास्थ्य कार्यक्रमलाई क्लबले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो,"बालबालिकाको स्वास्थ्य सुरक्षित भए मात्र उनीहरूको अध्ययन,आत्मविश्वास र भविष्य उज्ज्वल बन्न सक्छ।दाँत र मुखको स्वास्थ्यलाई धेरैले सामान्य रूपमा लिने गरे पनि यसले समग्र स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। त्यसैले विद्यालयमै पुगेर निःशुल्क परीक्षण र सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका हौं।"
उहाँले लियो क्लबले केवल औपचारिक कार्यक्रम मात्र नभई समुदायको वास्तविक आवश्यकता पहिचान गरेर शिक्षा,स्वास्थ्य,वातावरण,रक्तदान तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर काम गरिरहेको बताउनुभयो।
"हाम्रो उद्देश्य सेवा गर्नु मात्र होइन,समाजमा सकारात्मक परिवर्तनको अभियानलाई निरन्तर अघि बढाउनु पनि हो।आगामी दिनमा अझ बढी विद्यालय र समुदायसम्म पुगेर यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं,"उहाँले भन्नुभयो।
सुनारले कार्यक्रम सफल बनाउन सहयोग गर्ने लायन्स क्लब अफ रुपन्देही,दि डेन्टल एरा,विद्यालय परिवार, चिकित्सक टोली,सम्पूर्ण लियो सदस्य तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै सामाजिक सेवामा सबैको सहकार्य अपरिहार्य रहेको धारणा राख्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिका-७ का वडा अध्यक्ष देवीप्रसाद पंगेनीले विद्यालयमै सञ्चालन गरिएका स्वास्थ्य शिविरले विद्यार्थीमा स्वास्थ्य सचेतना बढाउने बताउनुभयो।उहाँले दन्त स्वास्थ्यलाई बेवास्ता नगर्न आग्रह गर्दै सानैदेखि दाँतको उचित हेरचाह गर्ने बानी बसाल्नुपर्नेमा जोड दिनुभयो।
उहाँले लियो क्लब अफ रुपन्देही भलवारीको सामाजिक अभियानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता जनहितका कार्यक्रमलाई वडा कार्यालयबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा क्लबका सल्लाहकार लियो लाइन्स रबिन जोशी,विद्यालयका प्रधानाध्यापक पाण्डे, शिक्षक,अभिभावक तथा लियो क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन क्लबकी सहसचिव लियो इभान्जेलिना श्रीले गर्नुभएको थियो। शिविरमा सहभागी विद्यार्थीहरूले विद्यालयमै विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरेका थिए भने शिक्षकहरूले यस्ता कार्यक्रमले विद्यार्थीको सिकाइसँगै स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताएका थिए।