रेगम खड्का : चान्जा गाउँका +2 पास गर्ने पहिलो विद्यार्थी

राम बहादुर बिश्वकर्मा 
प्युठान,प्युठान नगरपालिका-५ को दुर्गम चान्जा गाउँमा शिक्षा र सम्भावनाको एउटा नयाँ कथा लेखिएको छ। भौगोलिक कठिनाइ,आधारभूत विकासको कमी र अवसरको सीमितताबीच पनि यहाँका रेगम खड्काले आफ्नो मेहनत र दृढताबाट गाउँकै शैक्षिक इतिहासमा छुट्टै पहिचान बनाउन सफल भएका छन्।
खड्का गाउँबाट प्लस टु उत्तीर्ण गर्ने पहिलो विद्यार्थी मात्र होइनन्,उनी यसअघि सोही गाउँबाट एसईई उत्तीर्ण गर्ने पनि पहिलो युवा हुन्।निरन्तरको यो उपलब्धिले उनीप्रति मात्र होइन, सिंगो गाउँप्रति नै नयाँ आशा,आत्मविश्वास र प्रेरणा थपेको छ।
दाङको घोराहीस्थित पद्मोदय सेकेन्डरी स्कुल बाट ३.०० जिपिए सहित प्लस टु उत्तीर्ण गरेका खड्काको सफलतालाई स्थानीयहरूले ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन्। शिक्षा पहुँच र निरन्तरताको चुनौतीबीच पनि उनले देखाएको समर्पणले “दुर्गममा पनि उज्यालो सम्भव छ” भन्ने स्पष्ट सन्देश दिएको छ।
भौगोलिक रूपमा विकट मानिने प्युठान नगरपालिका अन्तर्गत पर्ने चान्जा गाउँमा अझै पनि सडक,शिक्षा,स्वास्थ्य र आधारभूत सेवाका धेरै पक्षहरू कमजोर अवस्थामै छन्। दैनिक जीवनयापनदेखि लिएर उच्च शिक्षासम्म पुग्ने यात्रामा यहाँका विद्यार्थीहरूले अनेक कठिनाइ सामना गर्नुपर्छ। तर यिनै चुनौतीका बीच रेगमको सफलता गाउँका बालबालिकाका लागि प्रेरणाको दीप बनेको छ।
स्थानीय अभिभावकहरूका अनुसार,पहिले धेरैजसो विद्यार्थी बीचमै पढाइ छोड्ने,वा अवसरको खोजीमा शहर तथा विदेश जाने प्रवृत्ति बढी थियो। तर रेगमको उपलब्धिपछि “हामी पनि पढ्न सक्छौं, हामी पनि अघि बढ्न सक्छौं” भन्ने सोच फैलिन थालेको छ।
यसैबीच प्युठान नगरपालिका वडा नम्बर ५ का वडाका वडा अध्यक्ष नन्दे पुनले रेगमको उपलब्धिलाई प्रशंसा गर्दै यसलाई सम्पूर्ण गाउँको गौरवका रूपमा व्याख्या गरेका छन्। उहाँको भनाइमा,“रेगम खड्काको सफलता केवल एउटा विद्यार्थीको सफलता होइन,यो हाम्रो वडाको शैक्षिक चेतनाको सुरुवात हो। यस्ता प्रतिभालाई हामीले निरन्तर प्रोत्साहन गर्न सके मात्र हाम्रो गाउँको भविष्य उज्यालो बन्न सक्छ।”
उनले थप भने,स्थानीय तहले अब शिक्षा क्षेत्रमा अझ ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै आधारभूत पूर्वाधार सुधार,छात्रवृत्ति व्यवस्था र विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यक्रमहरूलाई प्राथमिकतामा राखिने बताएका छन्।
शिक्षक र स्थानीय अगुवाहरूले पनि रेगमको उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा माथि उठाएर सामुदायिक प्रेरणाको रूपमा लिनुपर्ने बताएका छन्। उनीहरूको बुझाइमा, एउटा सफल विद्यार्थीले सिंगो गाउँको सोच परिवर्तन गर्न सक्छ भन्ने यसको स्पष्ट उदाहरण हो।
रेगम खड्काको यो यात्रा अझै प्रारम्भिक चरणमै छ। तर उनले बनाएको बाटोले चान्जा गाउँका अन्य विद्यार्थीहरूलाई उच्च शिक्षातर्फ अग्रसर हुन ठूलो हौसला दिएको छ। अब यो गाउँ केवल “दुर्गम” भनेर चिनिने होइन, सम्भावना र परिवर्तनको संकेत बोकेको गाउँका रूपमा परिचित हुन थालेको छ।