राम बहादुर बिश्वकर्मा
प्यूठान,समाजमा बढ्दो लागू पदार्थ दुरुपयोग नियन्त्रण तथा सडक सुरक्षालाई प्रभावकारी बनाउन लायन्स क्लब अफ प्यूठानले जिल्ला प्रहरी कार्यालय प्यूठानलाई “लापासे” (लागू पदार्थ सेवन मापन गर्ने मेसिन)एक औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ।
लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय प्यूठानको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा क्लबका पदाधिकारीहरूले उक्त उपकरण जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी नरहरी अधिकारीलाई हस्तान्तरण गरेका हुन्।
समाजसेवा र जनहितका क्षेत्रमा सक्रिय लायन्स क्लब अफ प्यूठानले प्रहरीलाई आवश्यक प्रविधि सहयोग उपलब्ध गराउँदै कानुन कार्यान्वयन र सुरक्षित यातायात व्यवस्थापनमा थप सहजता पुर्याउने उद्देश्य लिएको जनाएको छ।
कार्यक्रममा वक्ताहरूले लागू पदार्थ सेवन गरी सवारी साधन चलाउने प्रवृत्ति गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै यस्ता उपकरणको प्रयोगले दुर्घटना न्यूनीकरण र नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी नरहरी अधिकारीले प्राप्त उपकरणले सडक अनुगमन तथा चेकजाँचलाई अझ प्रभावकारी बनाउने उल्लेख गर्दै सहयोगप्रति आभार प्रकट गर्नुभयो।
कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम जिसी,प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईं, सुरक्षा निकाय तथा सरकारी कार्यालयका प्रमुख, सामाजिक संघसंस्था तथा यातायात समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
लायन्स क्लब अफ प्यूठानले आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा, सुरक्षा र सामाजिक उत्तरदायित्वका क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
यस हस्तान्तरणले लागू पदार्थ दुरुपयोग नियन्त्रण अभियानलाई थप सशक्त बनाउँदै सुरक्षित र जिम्मेवार समाज निर्माणतर्फ महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्