मुक्ति मावि रातामाटा : निरन्तर उत्कृष्टता सहित जिल्लाको शैक्षिक नेतृत्वमा अग्रस्थान

मुक्ति मावि रातामाटा : निरन्तर उत्कृष्टता सहित जिल्लाको शैक्षिक नेतृत्वमा अग्रस्थान

राम बहादुर बिश्वकर्मा 
प्युठान,प्युठान जिल्लाको शैक्षिक क्षेत्रमा मुक्ति माध्यमिक विद्यालय, रातामाटा फेरि एक पटक अग्रस्थानमा उभिएको छ। कक्षा १२ को हालै सार्वजनिक परीक्षाफलमा विद्यालयले जिल्लाभरमै प्रथम स्थान हासिल गर्दै शैक्षिक उत्कृष्टताको निरन्तर यात्रा कायम राखेको छ।
विद्यालयले शैक्षिक सत्र २०८२ को कक्षा १२ अन्तिम परीक्षामा २८४ जना विद्यार्थीहरू सहभागी गराएकोमा २६९ जना विद्यार्थी उत्तीर्ण भएका छन्। विज्ञान समूहमा अध्ययनरत समिर खड्काले ३.९४ जीपीए सहित उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको शैक्षिक सफलतामा थप गौरव थपेका छन्। समग्रमा विद्यालयले ९४.७२ प्रतिशत उत्तीर्ण दर हासिल गरेको छ।
यसअघि केही समयअघि प्रकाशित एसईई परीक्षाको नतिजामा पनि सोही विद्यालयले जिल्लामा प्रथम स्थान हासिल गरेको थियो। लगातार दुई महत्वपूर्ण परीक्षामा प्राप्त यो उपलब्धिले विद्यालयको शैक्षिक गुणस्तर, सिकाइ वातावरण तथा व्यवस्थापन क्षमतालाई स्पष्ट रूपमा उजागर गरेको छ।
यस उत्कृष्ट उपलब्धिको मुख्य श्रेय विद्यालयका प्रधानाध्यापक दामोदर विष्टको दूरदर्शी नेतृत्व, स्पष्ट शैक्षिक भिजन र सशक्त व्यवस्थापन क्षमतामा जान्छ। उहाँकै नेतृत्वमा विद्यालयमा अनुशासित शैक्षिक वातावरण निर्माण, प्रविधिमैत्री शिक्षण विधि, नियमित विषयगत अभ्यास, अतिरिक्त कक्षा तथा निरन्तर शैक्षिक अनुगमनलाई प्रभावकारी रूपमा लागू गरिएको छ, जसले विद्यार्थीहरूको सिकाइ उपलब्धिमा उल्लेखनीय सुधार ल्याएको छ।
प्रधानाध्यापक विष्टका अनुसार यो सफलता केवल परीक्षाफल मात्र नभई दीर्घकालीन रणनीति, निरन्तर मेहनत र सामूहिक प्रयासको परिणाम हो। उहाँ भन्नुहुन्छ, “हामीले विद्यार्थीलाई परीक्षा केन्द्रित मात्र होइन, बुझाइमा आधारित सिकाइतर्फ निरन्तर प्रेरित गर्दै आएका छौँ। शिक्षक, विद्यार्थी र अभिभावकबीचको समन्वय र विश्वासले नै आजको यो उपलब्धि सम्भव भएको हो।”
उहाँ थप भन्नुहुन्छ, विद्यालयको उद्देश्य केवल उत्कृष्ट नतिजा हासिल गर्नु मात्र नभई विद्यार्थीलाई जीवनोपयोगी सीप, नैतिक मूल्य र आत्मनिर्भर क्षमतासहित सक्षम नागरिक बनाउनु रहेको छ। “हामी शिक्षालाई परिणाम मात्र होइन, चरित्र निर्माणसँग जोडेर अघि बढाइरहेका छौँ,” उहाँको भनाइ छ।
विद्यालयका प्रधानाध्यापकको स्पष्ट शैक्षिक भिजन, नेतृत्व क्षमता र सशक्त टिमवर्ककै कारण मुक्ति मावि रातामाटाले निरन्तर उत्कृष्ट नतिजा हासिल गर्दै जिल्लामै शैक्षिक नेतृत्व स्थापित गर्न सफल भएको हो।
लगातारको उत्कृष्टताले मुक्ति मावि रातामाटालाई केवल शैक्षिक संस्थाका रूपमा मात्र नभई जिल्लाको शैक्षिक नेतृत्व गर्ने एक उदाहरणीय केन्द्रका रूपमा स्थापित गरेको छ। यस उपलब्धिले अन्य विद्यालयहरूलाई पनि गुणस्तरीय शिक्षातर्फ अघि बढ्न थप प्रेरणा प्रदान गरेको छ।
विद्यालय परिवारले आगामी दिनमा अझ सुदृढ,व्यावहारिक र परिणाममुखी शिक्षामा केन्द्रित हुँदै निरन्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै शिक्षक, अभिभावक तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरिएको छ।