सिकाइको नयाँ उर्जा :“गणित कठिन होइन,बुझ्ने तरिका फरक हो”- मेन्टर बस्नेत

सिकाइको नयाँ उर्जा :“गणित कठिन होइन,बुझ्ने तरिका फरक हो”- मेन्टर बस्नेत

 

कक्षाकोठामा जब नयाँ अनुहार प्रवेश गर्छ,विद्यार्थीहरूमा स्वाभाविक रूपमा जिज्ञासा जाग्छ। बाल विद्या माध्यमिक विद्यालय,मरन्ठानामा पनि यस्तै दृश्य देखियो।तर त्यो केवल नयाँ शिक्षकको आगमन मात्र थिएन,सिकाइलाई अझ प्रभावकारी बनाउने उद्देश्यसहित सुरु गरिएको मेन्टरिङ अभियानको एउटा महत्वपूर्ण अभ्यास थियो।

राम बहादुर बिश्वकर्मा 
प्युठान,कक्षाकोठामा शिक्षकले प्रश्न सोध्दा धेरै विद्यार्थीहरू चुप लाग्ने गर्छन्।विशेषगरी गणित विषयको नाम सुन्नासाथ कतिपय विद्यार्थीमा डर र अन्योल देखिन्छ।तर बाल विद्या माध्यमिक विद्यालय,मरन्ठानामा हालै सञ्चालन गरिएको मेन्टरद्वारा कक्षा सहजीकरण कार्यक्रममा भने फरक दृश्य देखियो।विद्यार्थीहरू खुलस्त रूपमा प्रश्न सोधिरहेका थिए,समूहमा छलफल गरिरहेका थिए र गणितका जटिल लाग्ने अवधारणाहरूलाई सहज रूपमा बुझ्ने प्रयास गरिरहेका थिए।प्युठान नगरपालिकाको शिक्षा शाखाले सञ्चालन गरेको मेन्टरिङ कार्यक्रम अन्तर्गत कक्षा ८ र १० का विद्यार्थीहरूलाई लक्षित गरी सहजीकरण गरिएको हो। नगरपालिकाले खटाएअनुसार जानकी माध्यमिक विद्यालय,चितिखोलाका गणित शिक्षक बसन्त कुमार बस्नेत ले कक्षा सहजीकरण गर्नुभएको थियो।
कक्षाकोठामा प्रवेश गर्दा विद्यार्थीहरूको अनुहारमा देखिएको संकोच केही समयमै जिज्ञासा र उत्साहमा बदलिएको थियो। बस्नेतले पाठ्यपुस्तकका सूत्रहरू मात्र पढाउनुभएन,बरु दैनिक जीवनका उदाहरणसँग गणितलाई जोडेर सिकाउनुभयो।प्रश्नोत्तर,समूहगत अभ्यास र सहभागितामूलक गतिविधिमार्फत विद्यार्थीहरूलाई विषयवस्तुमा सक्रिय बनाउने प्रयास गर्नुभयो।
सहजीकरणपछि आफ्नो अनुभव सुनाउँदै मेन्टर बसन्त कुमार बस्नेत भन्नुहुन्छ, “धेरै विद्यार्थीहरू गणित कठिन छ भन्ने मानसिकताका कारण पछाडि परिरहेका हुन्छन्।वास्तवमा गणित कठिन विषय होइन,बुझ्ने र सिकाउने तरिका प्रभावकारी हुनुपर्छ। विद्यार्थीहरूलाई डरमुक्त वातावरण दिएर सिकाउँदा उनीहरू आफैं सक्रिय भएर सिक्न खोज्छन्।”
उहाँका अनुसार सिकाइको केन्द्रमा विद्यार्थीलाई राख्न सके मात्र वास्तविक उपलब्धि हासिल गर्न सकिन्छ। “विद्यार्थीले प्रश्न सोध्न पाउनुपर्छ,गल्ती गर्न पाउनुपर्छ र आफ्ना विचार व्यक्त गर्न पाउनुपर्छ।त्यस्तो वातावरण बनेपछि सिकाइ स्वाभाविक रूपमा सुधार हुन्छ,”उहाँले बताउनुभयो।

बाल बिध्या माध्यमिक बिध्यालय मरन्ठानाका कक्षा ८ मा अध्यनरत बिध्यार्थिहरुलाई सिकाई सहजीकरण गर्दै जानकि माध्याबिध्यालयका गणित शिक्षक तथा मेन्टर वसन्त कुमार बस्नेत 


कार्यक्रमका क्रममा विद्यार्थीहरूले पनि आफूहरूलाई गणित विषय पहिलेभन्दा सहज लागेको प्रतिक्रिया दिएका थिए।कठिन लाग्ने अध्यायहरूलाई उदाहरणसहित बुझाइएकाले आत्मविश्वास बढेको उनीहरूको भनाइ थियो।प्युठान नगरपालिकाले पछिल्ला वर्षहरूमा सिकाइ उपलब्धि सुधारलाई प्राथमिकतामा राख्दै विद्यालयहरूमा मेन्टरिङ कार्यक्रम सञ्चालन गर्दै आएको छ। विषयगत दक्ष शिक्षकलाई विभिन्न विद्यालयमा परिचालन गरी अनुभव आदानप्रदान गर्ने अभ्यासले विद्यार्थी र शिक्षक दुवैलाई लाभ पुगेको शिक्षा क्षेत्रका सरोकारवालाहरू बताउँछन्।प्युठान नगरपालिकाका शिक्षा शाखा प्रमुख बासुदेव पन्डितका अनुसार मेन्टरिङ कार्यक्रमलाई साधारण शैक्षिक गतिविधिका रूपमा होइन,विद्यालय शिक्षाको सोच, दृष्टिकोण र अभ्यास बदल्ने दीर्घकालीन अभियानका रूपमा बुझ्नुपर्ने हुन्छ। उहाँले भन्नुभयो, “हामीले अहिले कक्षामा के पढाइयो भन्ने मात्र होइन, विद्यार्थीले कसरी सिक्यो भन्ने पक्षलाई केन्द्रमा राख्न थालेका छौँ। मेन्टरिङले पाठ्यपुस्तकको सीमाभन्दा बाहिर गएर सिकाइलाई जीवनसँग जोड्ने बाटो खोलिदिएको छ।”
उहाँका अनुसार यो कार्यक्रमले शिक्षकको भूमिकामा पनि नयाँ परिभाषा थपेको छ।“अब शिक्षक केवल पाठ पढाउने व्यक्ति होइन,सिकाइलाई सहज बनाउने सहयात्री बन्नुपर्छ भन्ने सोच विकसित हुँदै गएको छ। यही परिवर्तनले दीर्घकालीन रूपमा शिक्षाको गुणस्तर निर्धारण गर्छ,”उहाँले स्पष्ट पार्नुभयो।
शिक्षा शाखा प्रमुखले थप भन्नुभयो,“मेरो दृष्टिमा यो कार्यक्रम एउटा अभ्यास मात्र होइन,विद्यालय शिक्षामा सुरु भएको सांस्कृतिक रूपान्तरण हो। यदि यसलाई निरन्तरता दिन सकियो भने विद्यार्थीमा आत्मनिर्भर सिकाइ क्षमता विकास हुन्छ,जुन हाम्रो शिक्षाको वास्तविक लक्ष्य हो।”
विद्यालय शिक्षाको गुणस्तर सुधार केवल भौतिक पूर्वाधारले मात्र सम्भव हुँदैन।विद्यार्थीको जिज्ञासालाई सम्मान गर्ने,सिकाइलाई व्यवहारसँग जोड्ने र प्रेरणादायी वातावरण निर्माण गर्ने प्रयास आवश्यक हुन्छ। बाल विद्या माध्यमिक विद्यालय, मरन्ठानामा सम्पन्न मेन्टरद्वारा कक्षा सहजीकरण कार्यक्रमले यही सन्देश दिएको छ।
विद्यार्थीहरूको सक्रिय सहभागिता,शिक्षकको समर्पण र नगरपालिकाको शैक्षिक सुधार अभियानको संयोजनले कक्षाकोठामा नयाँ उर्जा थपेको छ।