राम बहादुर बिश्वकर्मा
प्युठान,स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको मूल्याङ्कन उनीहरूले बोलेका भाषणले भन्दा गरेका- कामले बढी हुन्छ। प्युठान नगरपालिका३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमनराज श्रेष्ठ यतिबेला त्यही कामको राजनीतिलाई व्यवहारमा उतारिरहेका छन्।आर्थिक वर्ष २०८३/०८४ को योजना तर्जुमा गर्ने समय सुरु भएसँगै उनी कार्यालयको औपचारिकताभन्दा गाउँबस्तीका चौतारी र नागरिकका आँगनमा बढी भेटिन थालेका छन्।
जनताको आँगनमै पुगेर यसरी विकासका योजना संकलन गर्न ब्यस्त छ प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठ
डाँडागाउँ,बतासेडाँडा,सापडाँडा,कुवापानी,मान्द्रेचौर ,घुर्चौनीलगायतका बस्तीमा पुगेर अध्यक्ष श्रेष्ठले स्थानीयसँग प्रत्यक्ष संवाद गरिरहेका छन्। उनीसँग कुनै ठूलो भाषण छैन,बरु एउटा प्रश्न छ-“तपाईंहरूको आवश्यकता के हो ?”
यही प्रश्नबाट सुरु भएको संवादले विकासका प्राथमिकता निर्धारण गरिरहेको छ।स्थानीयले खानेपानी,सडक,सिँचाइ,विद्यालय,स्वास्थ्य सेवा,प्रतिक्षालय,कृषि तथा धार्मिक सम्पदाको संरक्षणका विषय उठाइरहेका छन् भने अध्यक्ष श्रेष्ठ ती मागलाई टिपोट गर्दै योजनाको आधार बनाइरहेका छन्।
श्रेष्ठको विश्वास छ कि विकासका योजना माथिबाट थोपरिनु हुँदैन।नागरिकको आवश्यकता नै विकासको आधार बन्नुपर्छ।“हामी जनताको प्रतिनिधि हौं,मालिक होइनौं,”उनी भन्छन्,“त्यसैले योजना बनाउँदा जनताको आवाज पहिलो शर्त हुनुपर्छ। जनताले चाहेको विकास र सरकारको योजनाबीच दूरी हुनुहुँदैन।”
उनका अनुसार वडामा उपलब्ध स्रोत सीमित भए पनि योजना छनोटको आधार स्पष्ट छ सबैभन्दा बढी नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने कामलाई प्राथमिकता।यही कारण उनी योजना संकलनको क्रममा प्रत्येक बस्तीमा पुगेर आवश्यकता र प्राथमिकताको तुलना गरिरहेका छन्।
“कुनै टोलमा खानेपानी मुख्य समस्या छ भने कतै सडक।कतै सिँचाइ आवश्यक छ भने कतै सीप विकास कार्यक्रम। त्यसैले कार्यालयमा बसेर सबै कुरा थाहा हुँदैन,”श्रेष्ठ भन्छन्,“वास्तविक अवस्था बुझ्न जनताको बीचमै पुग्नुपर्छ।”
स्थानीय सरकारप्रति नागरिकको विश्वास बढाउने एउटा महत्वपूर्ण माध्यम पनि यही सहभागितामूलक अभ्यास बनेको छ। विगतमा विकासका योजना कसरी छनोट भए भन्ने जानकारी नपाउने नागरिक अहिले आफ्नै सुझाव योजनाको सूचीमा समावेश हुन थालेपछि उत्साहित देखिन्छन्।
अध्यक्ष श्रेष्ठले विकासलाई केवल संरचना निर्माणको रूपमा मात्र हेर्दैनन्।उनका अनुसार विकास भनेको नागरिकको जीवन सहज बनाउने प्रक्रिया हो।खानेपानीको धारा,खेतसम्म पुग्ने सिँचाइ,सहज सडक पहुँच,आयआर्जनका अवसर र गुणस्तरीय सेवा यी सबै विकासका आधारस्तम्भ हुन्।
“हामीले बनाउने प्रत्येक योजना नागरिकको जीवनसँग जोडिएको हुनुपर्छ,”उनी भन्छन्,“योजना खर्चका लागि होइन,परिणामका लागि हुनुपर्छ।”
अध्यक्ष श्रेष्ठले विकासलाई केवल भौतिक पूर्वाधार निर्माणमा सीमित राखेका छैनन्।सीप विकास,स्वरोजगार,महिला तथा लक्षित वर्गको आयआर्जन वृद्धि, सामाजिक सशक्तीकरण र सामुदायिक विकासका कार्यक्रमलाई पनि समान प्राथमिकतामा राख्नुपर्ने उनको धारणा छ।
उनले भने,“सडक र भवन मात्र विकास होइन। नागरिक आर्थिक रूपमा सक्षम भएनन् भने विकासले पूर्णता पाउँदैन।त्यसैले आयआर्जन र सीप विकासका कार्यक्रमलाई पनि सँगसँगै अघि बढाउनुपर्छ।”
स्थानीयवासीहरूका अनुसार अध्यक्ष श्रेष्ठको यो शैलीले वडा कार्यालय र नागरिकबीचको दूरी घटाएको छ। समस्या सुनाउन नागरिक कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै जनप्रतिनिधि स्वयं गाउँमा पुग्न थालेपछि विकासप्रतिको विश्वास बढेको उनीहरू बताउँछन्।
स्थानीय सरकारको सफलताको मापन बजेट खर्चले मात्र हुँदैन,जनताको सन्तुष्टिले हुन्छ। वडा नम्बर ३ मा अध्यक्ष श्रेष्ठले अपनाएको सहभागितामूलक योजना तर्जुमा प्रक्रिया यही मान्यताको व्यवहारिक उदाहरण बनेको छ। नागरिकका घरआँगनमै पुगेर विकासका प्राथमिकता तय गर्ने उनको अभ्यासले स्थानीय लोकतन्त्रलाई थप जीवन्त बनाएको छ।
सायद यही कारण आज वडा नम्बर ३ का धेरै नागरिकले एउटै कुरा दोहोर्याउन थालेका छन्-“सरकार अब टाढा छैन,हाम्रो बस्तीमै आइपुगेको छ।”
प्रतिक्रिया राख्नुहोस्