राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिकाका उप–प्रमुख देवेन्द्र वर्मा पछिल्लो समय स्थानीय सरकारको भूमिकालाई कक्षाकोठासम्म विस्तार गर्दै कानुनी शिक्षाको अभियानमा सक्रिय देखिनुभएको छ।उहाँले नगरपालिका अन्तर्गतका माध्यमिक विद्यालयहरूमा पुगेर कक्षा ९ र १० का विद्यार्थीहरूलाई कानुन सम्बन्धी आधारभूत ज्ञान प्रदान गर्दै आउनुभएको छ।कानुनको पुस्तक र अदालतको दायरामा मात्र सीमित रहने धारणा बदल्दै उहाँले विद्यार्थी जीवनमै कानुनी चेतना विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।यस क्रममा उहाँले सरकार,नेपालको संविधान,न्यायीक समिती,नागरिक अधिकार,कर्तव्य,बालअधिकार संरक्षण,लैङ्गिक समानता,साइबर अपराध, लागूऔषध दुव्र्यसन तथा सामाजिक अनुशासनसँग सम्बन्धित कानुनी प्रावधानहरूबारे सरल भाषामा जानकारी दिँदै आउनुभएको छ।उप–प्रमुख वर्माका अनुसार,“कानुन बुझ्नु भनेको केवल सजाय र दण्डको डर होइन,बरु आफ्नो अधिकार र जिम्मेवारीबारे सचेत हुनु हो।”यही सोचका साथ विद्यालयमै पुगेर कानुनी साक्षरताको अभियान अघि बढाइएको उहाँले बताउनुभयो।
यस अभियानले विद्यार्थीहरूमा नयाँ उत्साह थपेको छ।उनीहरूले दैनिक जीवनमा देखिने समस्या,सामाजिक सञ्जालको प्रयोग,हिंसा तथा दुर्व्यवहार जस्ता विषयमा कानुनी दृष्टिकोण बुझ्ने अवसर पाएको प्रतिक्रिया दिएका छन्। शिक्षकहरूले पनि यस्तो कार्यक्रमले पाठ्यपुस्तकको सीमाभन्दा बाहिर गएर व्यवहारिक ज्ञान दिने भएकाले विद्यार्थीको सोच विकासमा सकारात्मक प्रभाव पारेको बताएका छन्।
विद्यालयका शिक्षक तथा अभिभावकहरूका अनुसार यस्तो कार्यक्रमले पाठ्यपुस्तकको सीमाभन्दा बाहिर गई व्यवहारिक ज्ञान प्रदान गरेको छ,जसले विद्यार्थीको सोच, आत्मविश्वास र निर्णय क्षमतामा सकारात्मक प्रभाव पारेको छ।
स्थानीय सरकारका प्रतिनिधि स्वयं विद्यालयमा उपस्थित भई शिक्षण गतिविधिमा सहभागी हुनु समुदाय र विद्यालयबीचको सम्बन्धलाई अझ मजबुत बनाउने अभ्यासका रूपमा हेरिएको छ।प्युठान नगरपालिकाको यो प्रयासले अन्य स्थानीय तहका लागि पनि अनुकरणीय मोडेल प्रस्तुत गरेको छ।
उप–प्रमुख वर्माका अनुसार हालसम्म पालिका अन्तर्गत ७ वटा माध्यमिक विद्यालयहरूमा यस प्रकारका कानुनी कक्षा सञ्चालन गरिसकिएको छ।यसैबीच मंगलबार बाल विद्या माध्यमिक विद्यालय का विद्यार्थीहरूलाई लक्षित गरी कक्षा सञ्चालन गरिएको हो।
न्यायिक समितिका सदस्य तथा वडा नं. ९ का वडा अध्यक्ष विकास के.सि.ले विकास केवल भौतिक संरचना निर्माणमा सीमित नभई समाजमा चेतना,सोच र व्यवहार परिवर्तन गराउने समग्र प्रक्रिया भएको बताउनुभयो।उहाँका अनुसार साँचो विकास त्यतिबेला मात्र सम्भव हुन्छ जब नागरिकहरू शिक्षित,सचेत र जिम्मेवार बन्छन्।
उहाँले बालबालिकाको शिक्षा र उनीहरूको चेतना विकासमा सबै पक्षको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो।“बालबालिकामा आजैदेखि सही शिक्षा,मूल्य-मान्यता र कानुनी चेतना विकास गर्न सकियो भने भविष्यमा सक्षम र जिम्मेवार नागरिक निर्माण गर्न सकिन्छ,”उहाँको भनाई थियो।
वडा अध्यक्ष के.सि.ले विद्यालय तहलाई चेतना निर्माणको आधारशिला मान्दै शिक्षालाई केवल किताबी ज्ञानमा सीमित नराखी व्यवहारिक र जीवनोपयोगी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो। शिक्षा,स्वास्थ्य र सामाजिक सचेतना सँगसँगै अघि बढे मात्र समग्र विकास सम्भव हुने उहाँको धारणा थियो।
यसैबीच विद्यालयका सहायक प्रधानाध्यापक विमला घिमिरेले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा व्यवहारिक ज्ञान,जिम्मेवारीबोध र सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
प्रतिक्रिया राख्नुहोस्