ओखरबोटबासीको दशकौँदेखिको सपना पूरा हुँदै : घरघरमा पुग्नेछ शुद्ध खानेपानी

ओखरबोटबासीको दशकौँदेखिको सपना पूरा हुँदै : घरघरमा पुग्नेछ शुद्ध खानेपानी

राम बहादुर बिश्वकर्मा 
प्युठान,खानेपानीको अभावका कारण वर्षौँदेखि कष्टकर जीवन बिताउन बाध्य ओखरबोट क्षेत्रका बासिन्दाका लागि अब राहतको सन्देश आएको छ। प्युठान नगरपालिकाको वडा नम्बर ३ अन्तर्गतका झाक्रीगाउँ र बास्वोट तथा वडा नम्बर  ५ को ठुलोगाउँमा बसोबास गर्ने ३४६ घरधुरीले अब आफ्नै घरमा धारा मार्फत शुद्ध खानेपानीको सुविधा प्राप्त गर्ने भएका छन्।
नेपाल स्वास्थ्यका लागि पानी (नेवा),प्युठान नगरपालिका र स्थानीय समुदायको साझेदारीमा "एक घर,एक धारा" अवधारणाअनुसार सञ्चालन हुन लागेको खानेपानी आयोजना आगामी श्रावण महिनादेखि कार्यान्वयनमा जाने नगरप्रमुख विष्णु बहादुर योगीले जानकारी दिनुभएको छ।
खानेपानीको जोहो गर्न बिहानैदेखि टाढाटाढा पुग्नुपर्ने बाध्यता,पानीका मुहानमा लाम लाग्नुपर्ने अवस्था र दैनिक कामकाजलाई प्रभावित बनाउने समस्या अब क्रमशः अन्त्य हुने विश्वास गरिएको छ। विशेषगरी महिलाहरू,बालबालिका तथा ज्येष्ठ नागरिकहरूले वर्षौँदेखि भोग्दै आएको सास्ती कम हुने अपेक्षा गरिएको छ। घरघरमा धारा पुगेपछि समयको बचत हुने, सरसफाइको अवस्था सुधारिने,पानीजन्य रोगको जोखिम घट्ने तथा समग्र जनस्वास्थ्यमा सकारात्मक परिवर्तन आउनेछ।
नगरप्रमुख योगीले नागरिकलाई आधारभूत सेवाको सहज पहुँच सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै यस महत्वपूर्ण योजनालाई मूर्तरूप दिन सहयोग गर्ने नेपाल स्वास्थ्यका लागि पानी (नेवा), स्थानीय उपभोक्ता समिति,जनप्रतिनिधि,प्राविधिक टोली र सम्पूर्ण स्थानीय समुदायप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। उहाँले विकास निर्माणका योजनामा स्थानीयको अपनत्व र सहभागिता नै सफलताको मुख्य आधार हुने बताउनुभयो।
स्थानीयवासीका लागि यो आयोजना केवल खानेपानीको सुविधा विस्तार गर्ने कार्यक्रम मात्र होइन,वर्षौँदेखिको अभाव,संघर्ष र प्रतीक्षाको अन्त्यको प्रतीक पनि हो। घरघरमा पुग्ने धारासँगै सहज जीवनयापन,स्वस्थ समाज र समृद्ध भविष्यको आधार निर्माण हुने अपेक्षा गरिएको छ।
पानी जीवन हो,र यही जीवनलाई सहज,सुरक्षित र सम्मानित बनाउने दिशामा अघि बढेको यो पहल ओखरबोट क्षेत्रका लागि ऐतिहासिक उपलब्धिका रूपमा स्थापित हुनेछ।अब ओखरबोटबासीको आँगनमा केवल पानी मात्र होइन,खुसी, स्वास्थ्य र विकासको धारा पनि निरन्तर बग्नेछ।