जन्मथलोप्रतिको माया : डा. रमेश गिरीद्वारा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

जन्मथलोप्रतिको माया : डा. रमेश गिरीद्वारा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार

राम बहादुर विश्वकर्मा
प्युठान,मानिस जहाँ पुगे पनि आफ्नो जन्मभूमि र बाल्यकालसँग जोडिएका स्मृतिहरू कहिल्यै टाढा हुँदैनन्।अझ शिक्षा प्राप्त गरेको विद्यालयप्रति रहने अपनत्व र जिम्मेवारीले समाजमा सकारात्मक परिवर्तनका थुप्रै उदाहरणहरू सिर्जना गर्ने गरेको छ। यस्तै प्रेरणादायी उदाहरण प्रस्तुत गर्नुभएको छ। प्युठान नगरपालिका–१० मरन्ठानामा जन्मिएका डा.रमेश गिरीले।
बाल विद्या माध्यमिक विद्यालय मरन्ठाना मजुवामा आयोजित एक कार्यक्रमबीच विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई स्टेशनरी सामग्री प्रदान गरिएको छ।उक्त सामग्री विद्यालयका पूर्व प्रधानाध्यापक तथा शैक्षिक व्यक्तित्व गणेशमान के.सि.मार्फत हस्तान्तरण गरिएको हो।
हाल रुपन्देहीको तिलोत्तमा नगरपालिका–१,ड्राइभर टोलमा स्थायी रूपमा बसोबास गर्दै आएका डा.गिरी लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान अन्तर्गत श्री रण अम्बिका आँखा अस्पताल,भैरहवामा कार्यरत छन्। स्वास्थ्य सेवाको व्यस्त जिम्मेवारीमा रहे पनि उनले आफ्नो जन्मथलोको शैक्षिक विकास र विद्यार्थीहरूको प्रोत्साहनलाई प्राथमिकतामा राख्दै निरन्तर सहयोग गर्दै आउनुभएको छ।
विद्यालयका प्रधानाध्यापक केशु गिरीका अनुसार डा.गिरी जिल्ला बाहिर रहेकाले स्थानीय बुद्धिजीवी तथा शैक्षिक व्यक्तित्वमार्फत सामग्री हस्तान्तरण गर्न आग्रह गर्नुभएको थियो। सोही अनुरूप बिध्यालयका पूर्व प्रधानाध्यापक गणेशमान के.सि.ले विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्नुभएको हो। पुरस्कार वितरण समारोहमा बोल्दै पूर्व प्रधानाध्यापक के.सि.ले विद्यार्थीलाई सम्मान र प्रोत्साहन गर्ने संस्कारले बिध्यार्थिको अध्ययनप्रति थप उत्साह जगाउने बताउनुभयो।उहाँले मेहनत र अनुशासनका साथ अध्ययन गर्ने विद्यार्थीहरूलाई समाजले सम्मान र प्रोत्साहन गर्नुपर्ने भन्दै उनले मेहनती विद्यार्थीलाई हौसला प्रदान गर्न समाजका सक्षम व्यक्तिहरूले पनि हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो।
त्यस्तै प्र.अ केशु गिरीका अनुसार उत्कृष्ट विद्यार्थीलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले गरिएको यस्तो सहयोगले विद्यार्थीहरूमा मेहनत गर्ने बानीको विकास हुनुका साथै सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना हुन्छ।डा. रमेश गिरी ले जन्मथलोको विद्यालयप्रति देखाउनुभएको आत्मीयता र जिम्मेवारीबोधले हामी सबैलाई उत्साहित बनाएको छ।
उहाँ व्यस्त पेशागत जिम्मेवारीमा रहेर पनि विद्यालय र विद्यार्थीहरूको आवश्यकता बुझ्दै सहयोगका लागि सदैव तत्पर रहनुभएको छ।
उहाँका अनुसार डा.रमेश गिरीले विद्यालय र विद्यार्थीहरूको आवश्यकता अनुसार आगामी दिनमा पनि विभिन्न क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए। "जन्मथलोबाट टाढा रहेर पनि विद्यालयप्रति देखाउनुभएको माया र सद्भाव अत्यन्त प्रशंसनीय छ,"उहाँले भन्नुभयो,"यस्ता सहयोगले विद्यार्थीहरूमा सकारात्मक प्रतिस्पर्धाको भावना विकास हुनुका साथै विद्यालयको शैक्षिक वातावरणलाई समेत बलियो बनाउँछ।"
विद्यालयप्रतिको अपनत्व,विद्यार्थीप्रतिको संवेदनशीलता र समाजप्रति उत्तरदायी सोचले डा.गिरीलाई केवल एक चिकित्सक मात्र होइन,शिक्षाप्रति प्रतिबद्ध सामाजिक व्यक्तित्वका रूपमा समेत स्थापित गरेको छ।सानो सहयोगले पनि विद्यार्थीहरूको मनोबल उच्च बनाउन सकिने सन्देश यस कार्यले दिएको विद्यालय परिवारको विश्वास छ।
शिक्षा क्षेत्रमा व्यक्तिगत पहल र सामाजिक सहकार्यको संस्कृति विस्तार हुँदै गएमा सामुदायिक विद्यालयहरूको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।