प्यार अलि खान
प्युठान,लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् निर्णयमार्फत प्यूठान जिल्लाका बहुवर्षीय विकास योजनाहरू स्वीकृत भई कार्यान्वयन प्रक्रियामा अगाडि बढ्ने भएका छन्।प्यूठान प्रदेशसभा (क) बाट प्रत्यक्ष निर्वाचित सांसद तुल्सीराम शर्माको विशेष पहल तथा निरन्तर समन्वयका कारण जिल्लाका महत्वपूर्ण पूर्वाधार तथा सेवा प्रवाहसँग सम्बन्धित योजनाहरू अघि बढेका हुन्।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत योजनाहरूले प्यूठानको सडक सञ्जाल विस्तार, स्वास्थ्य तथा कृषि सेवा सुदृढीकरण तथा पुल एवं पहुँचमार्ग निर्माणलाई प्राथमिकतामा राखेको छ।
स्वीकृत योजनामध्ये रामपुर–कपुरकोट सडक (जिवराज आश्रित–कृष्णसेन इच्छुक मार्ग) अन्तर्गत प्यूठान जिल्लाको बाँकी खण्ड दाखाक्वाडी–सोत्रे ५ किलोमिटर कालोपत्रे तथा स्तरोन्नति, एकीकृत पशुपन्छी तथा कृषि विकास कार्यालयको भवन निर्माण, जिल्ला स्वास्थ्य कार्यालयको भवन निर्माण लगायतका कार्यक्रम समावेश छन्।
त्यसैगरी बाटुले–कोलम्पा (पौवापाटा–बार्हबिसे) पक्की पुल, चेर्नेनेटा–पुरनठाटी (बरौला) पालिका पहुँचमार्ग, छमखुट्टा–आपचौर पक्की पुल (अरङखोला, माण्डवी गाउँपालिका–२ र ४) जस्ता लामो समयदेखि अधुरा रहेका तथा नयाँ दुवै खालका पूर्वाधार योजना पनि अघि बढाईएका छन्।
नौघाट–माडीखोला पक्की पुल (ऐरावती र सरुमारानी गाउँपालिका जोड्ने) तथा सोत्रे–ढड्यान झोलुङ्गे पुल (स्वर्गद्वारी नगरपालिका–४ र ७) को निर्माण प्रक्रिया समेत अघि बढाईएको जनाइएको छ।
प्रदेशसभा सदस्य तुल्सीराम शर्माको पहलमा अघि बढाईएका यी योजनाहरूले प्यूठान जिल्लाको समग्र विकास, यातायात पहुँच विस्तार र सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको एमाले प्यूठानका सचिव इन्द्रमणि पोख्रेलले बताए।
प्रतिक्रिया राख्नुहोस्