सामाजिक विकास डिभिजन कार्यालय, प्युठानको आयोजनामा रोल्पा र प्युठान जिल्लाका सामुदायिक विद्यालयका शिक्षकहरूबीच सम्पन्न समस्या समाधान गर्ने सिप सम्बन्धी प्रस्तावना लेखन तथा प्रस्तुतिकरण प्रतियोगितामा जनता माध्यमिक विद्यालय,बाग्दुलाका शिक्षक इन्द्रमणि पोखरेलले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्नुभएको हो।
राम बहादुर विश्वकर्मा
प्युठान,एउटा असल शिक्षक केवल पाठ्यपुस्तकको ज्ञान बाँड्ने व्यक्ति मात्र होइन,बदलिँदो परिस्थितिमा उत्पन्न चुनौतीहरूको समाधान खोज्न सक्ने मार्गदर्शक पनि हो। यही विशेषतालाई व्यवहारमा प्रमाणित गर्दै जनता माध्यमिक विद्यालय,बाग्दुला प्युठानका शिक्षक इन्द्रमणि पोखरेल उत्कृष्ट शिक्षक प्रतिभाका रूपमा सम्मानित हुनुभएको छ।
सामाजिक विकास डिभिजन कार्यालय,प्युठानको आयोजनामा जनता माध्यमिक विद्यालय,बाग्दुलामा सम्पन्न प्रतियोगितामा रोल्पा र प्युठान जिल्लाका सामुदायिक विद्यालयका शिक्षकहरूले शिक्षण क्षेत्रमा देखापर्ने चुनौती,सिकाई र उपलब्धि सुधारका उपाय तथा विद्यालय व्यवस्थापनसँग सम्बन्धित विषयमा आफ्ना सिर्जनशील अवधारणा प्रस्तुत गर्नुभएको थियो।
समस्या समाधान गर्ने सीपसम्बन्धी प्रस्तावना लेखन तथा प्रस्तुतिकरण प्रतियोगितामा उहाँले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्नुभएको हो।
शिक्षण क्षेत्रमा देखापर्ने चुनौती,सिकाई उपलब्धि सुधारका उपाय तथा विद्यालय व्यवस्थापनसँग सम्बन्धित विषयमा सहभागी शिक्षकहरूले आफ्ना अवधारणा प्रस्तुत गरेका थिए।तीमध्ये इन्द्रमणि पोखरेलले प्रस्तुत गर्नुभएको प्रस्तावना व्यावहारिक,सिर्जनशील र समाधानमुखी भएकाले निर्णायक मण्डलबाट उत्कृष्ट ठहरिएको बताइएको छ।
वर्षौंदेखि शिक्षण पेशामा सक्रिय पोखरेल विद्यार्थीमैत्री वातावरण निर्माण,नवीन शिक्षण विधिको प्रयोग र सिकाइलाई व्यवहारसँग जोड्ने प्रयासका कारण परिचित मानिनुहुन्छ।उहाँको उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा पनि विद्यालय र समग्र जिल्लाको शैक्षिक क्षेत्रको गौरवका रूपमा हेरिएको छ।
प्रतियोगितामा सोही विद्यालयका शिक्षक माधव पोखरेल द्वितीय स्थानमा रहनुभयो भने गौमुखी माध्यमिक विद्यालयका शिक्षक जायश्वर जैसी तृतीय हुनुभयो।त्यसैगरी,महेन्द्र माध्यमिक विद्यालय खलङ्गाका ध्रुव गिरी र लुप्लुङ माध्यमिक विद्यालयका गणेश पोखरेलले सान्त्वना स्थान प्राप्त गर्दै नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभएको छ।
शिक्षकहरूको विश्लेषणात्मक क्षमता,सिर्जनशील सोच र समस्या समाधान गर्ने दक्षतालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले जिल्लाभरका शिक्षकहरूमा नयाँ उत्साह थपेको सहभागीहरूको भनाई छ। उनीहरूका अनुसार यस्ता कार्यक्रमले अनुभव आदानप्रदान,नवीन अभ्यासको प्रवर्द्धन तथा शिक्षण पद्धतिमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने गर्दछ।
पछिल्ला वर्षहरूमा गुणस्तरीय शिक्षाको बहससँगै शिक्षकको व्यावसायिक क्षमता अभिवृद्धिलाई विशेष महत्व दिन थालिएको छ। यस सन्दर्भमा सामाजिक विकास डिभिजन कार्यालयले सञ्चालन गरेका यस्ता गतिविधि शिक्षकहरूलाई थप सिर्जनशील र जिम्मेवार बनाउन सहयोगी बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रमका माध्यमबाट जिल्लाका विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरूबीच सकारात्मक प्रतिस्पर्धा,सहकार्य र सिकाइ संस्कृतिको विकास भएको सरोकारवालाहरूको विश्वास छ।आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यापक र निरन्तर रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।
कार्यक्रमको सफल आयोजना गर्ने सामाजिक विकास डिभिजन कार्यालय, प्युठान तथा मूल्याङ्कन प्रक्रियामा संलग्न विज्ञहरूलाई सहभागीहरूले धन्यवाद व्यक्त गरेका छन्।पुरस्कृत सबै शिक्षकहरूलाई शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्व तथा शुभेच्छुकहरूले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्।

प्रतिक्रिया राख्नुहोस्