प्युठान प्रहरीको एक वर्ष : २४६ मुद्दा दर्ता,अधिकांश प्रतिवादी प्रहरी नियन्त्रणमा

प्युठान प्रहरीको एक वर्ष : २४६ मुद्दा दर्ता,अधिकांश प्रतिवादी प्रहरी नियन्त्रणमा

राम बहादुर विश्वकर्मा
प्युठान,जिल्ला प्रहरी कार्यालय,प्युठानले चालु आर्थिक वर्षमा अपराध नियन्त्रण,अनुसन्धान, फैसला कार्यान्वयन तथा नागरिक सेवाका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।बदलिँदो अपराधका चुनौतीबीच प्रहरीले परम्परागत सुरक्षा जिम्मेवारीसँगै साइबर अपराध नियन्त्रण, अनलाइन ठगी न्यूनीकरण र सामुदायिक सचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकतामा राख्दै काम गरेको देखिएको छ।
बुधबार कार्यालमा पत्रकार भेटघाट कार्यक्रम गर्दै प्रहरी नायव उपरीक्षक नरहरी अधिकारी ले चालू आर्थिक बर्षका कार्यसम्पादनका गतिविधि सार्बजनिक गरेको हो।प्रस्तुत प्रहरीको वार्षिक प्रगति विवरणअनुसार आर्थिक वर्षभर २४६ वटा जिल्ला मुद्दा दर्ता भएका छन्। पुराना ८१ वटा मुद्दा फर्छ्योट गरिनुका साथै विभिन्न प्रकृतिका १४२ जना प्रतिवादीमध्ये १३३ जनालाई पक्राउ गरिएको छ। हाल १५ वटा मुद्दा विचाराधीन अवस्थामा रहेका छन्।
पुराना मुद्दा फर्छ्योटमा प्राथमिकता
जिल्ला प्रहरी कार्यालयले विगतदेखि पेण्डिङ रहेका जघन्य, गम्भीर तथा सामान्य प्रकृतिका मुद्दाहरूको टुङ्गो लगाउन विशेष प्राथमिकता दिएको जनाएको छ। चालु वर्षमा एक जघन्य, तीन गम्भीर र एक सामान्य मुद्दा फर्छ्योट गरिएको छ।
पेण्डिङ मुद्दामध्ये २०७९ सालमा भएको धनीकुमारी सुनार हत्या प्रकरणमा आरोपित चेती सुनारलाई पक्राउ गरी कारागार पठाइएको छ। त्यसैगरी विभिन्न सवारी दुर्घटनाबाट मृत्यु भएका घटनामा अनुसन्धान प्रक्रिया पूरा गरी अदालतको आदेशअनुसार सम्बन्धित पक्षहरू धरौटीमा छुटेका छन्।

फरार प्रतिवादी पक्राउमा सफलता

अदालतबाट फैसला भइसकेपछि फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानअन्तर्गत १११ जनामध्ये ५१ जनालाई नियन्त्रणमा लिन प्रहरी सफल भएको छ। यसबाट २० वर्ष ७ महिना २६ दिन बराबरको कैद सजाय कार्यान्वयन हुनुका साथै ६ लाख १९ हजार ३४५ रुपैयाँभन्दा बढी जरिवाना असुल भएको छ।
सामाजिक सञ्जालको प्रयोग बढेसँगै साइबर अपराधका घटनामा पनि वृद्धि भइरहेका बेला प्रहरीले फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम, इमो, टिकटक तथा फेक स्टोरीसम्बन्धी १६ वटा निवेदनमा आवश्यक कारबाही गरी सबै फर्छ्योट गरेको जनाएको छ।
त्यस्तै अनलाइन ठगीका ४४ वटा घटनामा अनुसन्धान गरी ९ लाख २७ हजार ४३५ रुपैयाँ सम्बन्धित पीडितलाई फिर्ता गराइएको छ। प्रहरीले नागरिकलाई अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न र डिजिटल कारोबार गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ।

हराएका व्यक्ति र मोबाइल फेला

प्रहरीले प्राविधिक माध्यमको प्रयोग गरी हराएका ३९ जनालाई सुरक्षित रूपमा फेला पारेको छ। त्यस्तै हराएका तथा चोरी भएका १२ वटा मोबाइल फोन फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाइएको छ।

सामुदायिक कार्यक्रमबाट १० हजारभन्दा बढी लाभान्वित

जिल्लाभर सञ्चालन गरिएका ३९१ वटा सामुदायिक कार्यक्रमबाट १० हजार ५२० जना प्रत्यक्ष लाभान्वित भएका छन्। लागू औषध दुव्र्यसन नियन्त्रण, लैङ्गिक हिंसा न्यूनीकरण, साइबर सुरक्षा, ट्राफिक सचेतना र सामाजिक विकृतिविरुद्ध केन्द्रित कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले २४८.५ लिटर अवैध मदिरा बरामद गरेको छ। त्यस्तै अवैध नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका १८ ट्र्याक्टर, चार टिप्पर र चार जेसीबी नियन्त्रणमा लिइएको छ।
सीमावर्ती क्षेत्रमा गरिएको निगरानीका क्रममा ४० वटा भैंसी, ७७ वटा बाख्रा र दुई हजार ९५० वटा कुखुरा बरामद गरिएको छ। वन पैदावार चोरी निकासी नियन्त्रणका क्रममा ६१३.८६ क्यु फिट काठ बरामद गरी ६९ हजार ९३५ रुपैयाँ राजस्व संकलन भएको छ।
लागू औषध र गम्भीर घटनामा अनुसन्धान जारी
ब्राउन सुगरसहितका लागू औषध मुद्दा,जबरजस्ती करणी,ज्यानसम्बन्धी कसूर,सामूहिक कुटपिट तथा अपराधिक उपद्रवका केही घटनामा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार कानुनी शासनको प्रभावकारी कार्यान्वयन,नागरिकमैत्री सेवा र समुदायसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै आगामी दिनमा पनि अपराध नियन्त्रण अभियानलाई निरन्तरता दिइनेछ।