राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानकी साहित्यकार तथा लुम्बिनी वागमय प्रतिष्ठान नेपाल प्युठानको अध्यक्ष राजकुमारी कुवर(सानू गुल्मेली)शनिबार दाङको घोराहीमा आयोजित विशेष साहित्यिक समारोहमा सम्मानित हुनुभएको छ। राप्ती साहित्य परिषद् दाङ घोराहीको ४९ औँ वार्षिकोत्सव तथा २६ औँ साधारणसभाको अवसरमा उहाँलाई पण्डित कपिलमुनि स्मृति श्रष्टा सम्मान २०८३ प्रदान गरिएको हो।
यो सम्मान उहाँको दीर्घ साहित्यिक साधना,निरन्तर लेखन यात्रा र समाजप्रति उत्तरदायी सिर्जनात्मक योगदानको कदरस्वरूप प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।लामो समयदेखि साहित्यिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएकी गुल्मेलीले कविता,गजल,कथा तथा विभिन्न विधामा निरन्तर कलम चलाउँदै आउनुभएको छ।
उहाँका रचनाहरूमा समाजका यथार्थ चित्रण,मानवीय संवेदना,महिला चेतना,सम्बन्धका उतारचढाव र जीवनका विविध अनुभवहरू गहिरो रूपमा अभिव्यक्त हुने गर्छन्।उहाँको लेखन शैली सरल भए पनि भावनात्मक रूपमा अत्यन्त प्रभावकारी मानिन्छ,जसले पाठकलाई आफ्नै जीवनका अनुभूति सम्झाउन सक्षम बनाउँछ।साहित्यलाई केवल मनोरञ्जनको माध्यम नभई समाज परिवर्तनको सशक्त औजारका रूपमा हेर्ने गुल्मेलीको दृष्टिकोणले उहाँलाई स्थानीय साहित्यिक वृत्तमा विशिष्ट स्थान दिलाएको छ।उहाँ विभिन्न साहित्यिक संस्थासँग आबद्ध रहँदै नयाँ तथा उदाउँदा सर्जकहरूलाई प्रोत्साहन गर्ने,साहित्यिक गतिविधि सशक्त बनाउने र सिर्जनात्मक वातावरण विस्तार गर्ने कार्यमा निरन्तर सक्रिय रहनुभएको छ।
साहित्य परिषद प्युठानको सचिब समेत रहेकी कुवरको साहित्यिक सक्रियता केवल लेखनमा मात्र सीमित छैन उहाँ साहित्यिक नेतृत्व,सहकार्य र मार्गदर्शनमार्फत नयाँ पुस्तालाई पनि सिर्जनात्मक यात्रातर्फ प्रेरित गर्दै आउनुभएको छ।यसले प्युठानको साहित्यिक पहिचानलाई अझ मजबुत बनाउन सहयोग पुगेको साहित्यिक विश्लेषकहरूको भनाई छ।
सम्मान ग्रहणपछि उहाँले यस उपलब्धिले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै साहित्यिक यात्रालाई अझ अध्ययनशील,सचेत र सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।उहाँका अनुसार यो सम्मान व्यक्तिगत मात्र नभई सम्पूर्ण प्युठानको साहित्यिक योगदानको सम्मान पनि हो।
कार्यक्रममा सहभागी साहित्यकार तथा सर्जकहरूले गुल्मेलीको निरन्तर साधना,अनुशासन र सिर्जनशील योगदानको खुलेर प्रशंसा गरेका थिए।उहाँको लेखनले स्थानीय साहित्यलाई राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको उनीहरूको भनाई थियो।
आज प्राप्त यो सम्मानले सानू गुल्मेलीको साहित्यिक यात्रालाई नयाँ ऊर्जा,आत्मविश्वास र प्रेरणा दिएको छ।उहाँको कलम अझ परिष्कृत,संवेदनशील र समाजमुखी बन्दै जाने विश्वास साहित्यिक क्षेत्रमा व्यक्त गरिएको छ। साहित्यिक साधनाको यो यात्रा अझै लामो,गहिरो र अर्थपूर्ण हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्