प्युठानमा शंकास्पद वस्तु भेटिए,डिस्पोजका लागि सेना खटियो

राम बहादुर बिश्वकर्मा 
प्युठान,जिल्ला प्युठानको नौबहिनी गाउँपालिका-६ लुङमा पाँच वटा शंकास्पद वस्तु फेला परेपछि सुरक्षा निकाय परिचालित भएको छ।
शनिबार दिउँसो करिब १:३० बजे स्थानीय नरेन्द्र के.सि.को घरसँग जोडिएको गाई बाँध्ने गोठ पछाडि एक्कासी पड्किएको जस्तो आवाज सुनिएको थियो।आवाज आएपछि घटनास्थलतर्फ पुगेका के.सी.ले तार जडान गरिएको जस्तो देखिने चार वटा शंकास्पद वस्तु फेला पारेका थिए।उनले ती वस्तुहरू बाँसको घाराको सहायताले उठाई आँगन नजिकै ल्याएर राखेका थिए।सो स्थानमा यसअघि रहेको एक वस्तुसहित जम्मा पाँच वटा शंकास्पद वस्तु रहेको देखिएको बताइएको छ।फेला परेका वस्तुमध्ये दुई वटा सिल्भर रंगका र तीन वटा कालो प्लास्टिकले बेरिएका अवस्थामा रहेका छन्। घटनाबारे स्थानीय युवा युवराज के.सी.ले अपराह्न ४:२० बजे इलाका प्रहरी कार्यालय लुङबहानेलाई जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लुङबहानेबाट प्रहरी निरीक्षक दीपेश चौधरीको कमाण्डमा चार सदस्यीय टोली घटनास्थलमा खटिएको छ। साथै,शंकास्पद वस्तुको सुरक्षित व्यवस्थापन (डिस्पोज) का लागि नेपाली सेनाको बर्द बहादुर गण,प्युठानबाट सेनानी अमृत बाबु बस्नेतको नेतृत्वमा २० सदस्यीय टोली पनि परिचालन गरिएको छ।सुरक्षा निकायले स्थानीय बासिन्दालाई घटनास्थल नजिक नजान तथा सतर्कता अपनाउन अनुरोध गरेको छ।शंकास्पद वस्तुको प्रकृति र स्रोतबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।