व्यक्तिगत खुसीलाई समाजसँग बाँड्ने डाक्टर सुबास जि.सि : सेवाबाट कमाउँदै जनविश्वास

व्यक्तिगत खुसीलाई समाजसँग बाँड्ने डाक्टर सुबास जि.सि : सेवाबाट कमाउँदै जनविश्वास

लामो समयदेखि मानसिक रोगबाट पीडित प्यूठान नगरपालिका–५ बासकोटका मनबिर घर्तिको उपचारमा सहजता ल्याउने उद्देश्यले डा.सुबास जि.सि.ले २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।यस सहयोगले बिरामीको उपचार प्रक्रियामा केही राहत पुग्नुका साथै चिकित्सकको मानवीय सोच,सामाजिक उत्तरदायित्व र सेवाभावलाई समेत उजागर गरेको छ।

राम बहादुर बिश्वकर्मा
प्यूठान,जन्मदिनलाई व्यक्तिगत उत्सवभन्दा माथि उठाउँदै समाजसेवाको माध्यम बनाउने उदाहरण प्रस्तुत गर्दै निमतारा पोलिक्लिनिक,बिजुवार प्यूठानका सञ्चालक डा.सुबास जि.सि.ले एक अर्थपूर्ण मानवीय पहल गरेका छन्।“सेवा नै धर्म हो”भन्ने भावनालाई व्यवहारमै उतार्दै उनले स्वास्थ्य सेवामा करुणा र जिम्मेवारीको सशक्त सन्देश दिएका छन्।लामो समयदेखि मानसिक रोगको समस्याबाट पीडित प्युठान नगरपालिका-५ बासकोटका मनबिर घर्तिको उपचार सहज बनाउन उनले २५ हजार आर्थिक सहयोग गरेका छन्।उपचार प्रक्रियामा केही राहत पुर्‍याउने उद्देश्यले गरिएको यो सहयोगले उनको गहिरो मानवीय संवेदनशीलता,चिकित्सकीय दायित्व र समाजप्रतिको उत्तरदायित्वलाई उजागर गरेको छ।
सम्बन्धित घटनाबारे केही समय अगाडी पैरवी अनलाइनमा प्रकाशित समाचार अनुसार मनबिर पुनलाई १७ महिनासम्म ठेडुकोमा राखेर नियन्त्रणमा राखिएको विषयले समाजमा गम्भीर बहस र चिन्ता उत्पन्न गरेको थियो।उक्त अवस्थाप्रति डा.जि.सि.ले गहिरो असन्तोष व्यक्त गर्दै यसलाई अमानवीय अभ्यासको चित्रण गरेका छन्। साथै उनले बिरामीको सम्मान,सुरक्षा र उपचार सुनिश्चित गर्न आफ्नो क्लिनिकमार्फत सम्पूर्ण उपचार जिम्मा लिने प्रतिबद्धता समेत जनाएका थिए।

तस्बिर :यी हुन व्यक्तिगत खुसीलाई समाजसँग बाँड्ने डाक्टर सुबास जि.सि 


डा.सुबास जि.सि.का अनुसार “मानसिक रोग कुनै कमजोरी होइन,न त सजायको विषय हो।यो उपचारयोग्य स्वास्थ्य अवस्था हो।बिरामीलाई नियन्त्रण होइन,सम्मान,सहानुभूति र उपचार आवश्यक हुन्छ।मैले समाचारमा देखेको अवस्था अत्यन्त पीडादायी थियो,त्यसैले सकेसम्म सहयोग गर्ने निर्णय गरेको हुँ।”उनका अनुसार जन्मदिनमा हुने अनावश्यक खर्चलाई घटाएर मानवसेवामा लगाउनु नै वास्तविक अर्थपूर्ण उत्सव हो,जसले समाजमा सकारात्मक सोच र जिम्मेवारीको संस्कार विकास गर्छ।
हाल मनबिर पुनको उपचार मानसिक रोग उपचार केन्द्र,पाटनमा विशेषज्ञ चिकित्सकीय निगरानीमा भइरहेको छ,जहाँ उनको स्वास्थ्य सुधारका लागि निरन्तर प्रयास भइरहेको छ।
यसैबीच,प्युठान नगरपालिका–५ का पूर्व वडा अध्यक्ष लछुमन भण्डारीले डा.जि.सि.को यो पहललाई समाजमा मानसिक स्वास्थ्यप्रतिको दृष्टिकोण परिवर्तन गर्ने महत्वपूर्ण सामाजिक कदमको रूपमा प्रशंसा गरेका छन्।उनका अनुसार यस्तो मानवीय संवेदनशीलता र जिम्मेवारीले स्वास्थ्य सेवालाई अझ विश्वासिलो,मानवमुखी र सेवामूलक बनाउनेछ।
जन्मदिनको अवसरमा गरिएको यो योगदान केवल आर्थिक सहायता मात्र नभई मानवता,करुणा र सेवाभावको जीवन्त उदाहरण बनेको छ,जसले “सेवा नै जीवनको वास्तविक अर्थ हो”भन्ने सन्देशलाई अझ गहिरो रूपमा स्थापित गरेको छ।